सहकारीको पैसा सहकारीकै ‘इकोसिस्टम’बाट परिचालन हुनुपर्छ
–डा. शिवजी सापकोटा
सिईओ
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)
राष्ट्रिय सहकारी दिवस
राष्ट्रिय सहकारी महासंघले हरेक वर्ष राष्ट्रिय सहकारी दिवसको अवसरमा अभियानको समसामयिक विषय र आवश्यकतालाई विश्लेषण गरेर वर्ष भरिका लागि सहकारीका सिद्धान्त, मूल्य र मान्यताका आधारमा सहकारी वर्ष थिम तय गर्ने गरेको छ । मुलुकका सहकारीहरु यही थिममा केन्द्रित रही समुदायमा योगदान गर्ने गर्दछन । महासंघले यस वर्षका लागि ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको आवश्यकता’ शीर्षकको थिम तय गरेको छ । नेफ्स्कूनले आफ्ना बार्षिक कार्यक्रमहरुलाई सोही मर्म अनुसार तय गर्ने जमर्को गरेके छ ।
यसैगरी जिल्ला स्तरमा ऐक्यवद्धता र सहकार्य गर्ने उद्यशीलता र पारदर्शिताका विषयमा प्रदेश स्तरीय गोष्ठीहरु सञ्चालन गर्ने कार्यक्रम रहेको छ । नेफ्स्कूनले नेतृत्व लिएको ३८ वर्षको उपलब्धिलाई संस्थागत गर्न र साकोस अभियानमा स्थापित रहन बानेश्वरको मीनभवनमा आफ्नै भवन निर्माण सम्पन्न गरेको छ । यसलाई विधिवत रुपमा समुद्घाटन गरेर ६९ औं राष्ट्रिय सहकारी दिवस मनाउने कार्यक्रम छ ।
उद्यमशीलतामा योगदान
नेफ्स्कूनले सन् २००९ देखि एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा व्यवसाय विकास कार्यक्रमको अनुशिक्षण, प्रशिक्षकहरु तयार र नमुना व्यवसाय विकास साथै विक्री केन्द्रको समेत स्थापना गरी शुरुवात गरिएको यस उद्यमशीलता विकास कार्यक्रम हाल आएर बृहत रुपमा लैजान जर्मन सरकार अन्तर्गतको परियोजनाले समेत प्रशिक्षकहरु तयार गर्ने, व्यवसाय छनौट गर्ने र व्यवशाय शुरुवात एवम् निरन्तरताको प्रणाली विकासको क्षेत्रमा सहयोग पु¥याएको छ ।
हाल १०० वटा बचत तथा ऋण सहकारीहरुबाट १०० जनाको दरले तीन वर्षमा १०,००० उद्यमी निर्माण गर्ने कार्यमा हामी क्रियाशिल रहेका छौं । निरन्तर रुपमा उद्यमीबाट उद्योगी तर्फ लैजाने यो कार्यक्रमले निश्चय नै ६९ औं राष्ट्रिय सहकारी दिवसको यो नारालाई सार्थक बनाउन सदस्य संघ संस्थाहरुले आफ्ना सदस्यहरुलाई उद्यमी बनाउने र यस क्षेत्रमा लगानी प्रवर्धन र परिचालन गरी आयआर्जन र रोजगारी सृजना गरी राष्ट्र निर्माणमा योगदान पु¥याउनेछन् ।
साकोसमा सुशासन
सहकारी ऐन २०७४ को दफा ९९ ले संघहरुले आफ्ना सदस्यहरुको अनुगमन गरी नियामकलाई प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था राखेको छ, सोही बमोजिम नेफ्स्कूनले जोखिम सुपरिवेक्षण र प्रमाणिकरणको कार्यक्रमलाई व्यापक बनाई सुशासन प्रवद्र्धन गर्ने र वित्तीय सन्तुलन कायम गरी संस्थामा जोखिम न्यूनिकरण गर्ने भूमिका निर्वाह गर्दै आईरहेको छ ।
संघमा आवद्ध ४३०० मध्ये हाल सम्म १००० वटा संस्थाहरुको नियमित जोखिम सुपरिवेक्षण भईरहेको छ भने यस आर्थिक बर्षमा आवद्ध र अद्यावधिक रहेका सबै साकोसहरुको जोखिम स्तर र उपचारात्मक उपायहरुका बारेमा सहजिकरण गर्दै आईरहेको छ । परिवर्तित कानूनी वातावरणमा भने नेफ्स्कूनले स्क्यान कार्यक्रम मार्फत नियमकीय प्रावधानहरुमा समायोजन हुने र संस्थालाई सुरक्षित बनाउने उपाय तर्फ केन्द्रीत रहेको छ ।
२०६९ साल देखि सञ्चालित यस कार्यक्रमले संस्थामा सुशासनमा सुदृढिकरण हुनु र संस्थागत क्षमता विकास, नेतृत्व विकास, जोखिम न्यूनिकरण साथै संस्थागत पूँजि बलियो हुँदै गएको छ ।
तरलता गणना सम्बन्धी व्यवस्था
बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुले आफु सँग भएको अधिक तरलतालाई केन्द्रीय संघमा राख्ने र तरलताको अभाव वा कमी भएका बेला संघबाट फिर्ता वा ऋण स्वरुप लिई स्तर कायम राख्ने विश्वव्यापी अवधारणा अनुरुप १९९७ मा शुरुवात गरिएको केन्द्रीय वित्त प्रणाली विगतका दिनहरु निर्वाध रुपमा तरलतामा गणना गर्न पाउने व्यवस्था थियो ।
हालको नियामकीय मापदण्डमा त्यसलाई गणना गर्न नमिल्ने वा दुई वर्ष भित्र सो विषय व्यवस्थापन गर्नुपर्ने भन्ने आएको छ । यो गलत छ । नियामकको सघन अनुगमन, परिचालन पद्धतिको परीक्षण र नियामकीय सुरक्षणको व्यवस्था मार्फत यसलाई स्वचालित बनाउनु पर्छ । सहकारीको पैसा सहकारीकै ‘इकोसिस्टम’बाट परिचालन हुने बनाउनुपर्छ । यो व्यवस्था संशोधन भएर सहकारी संस्थाहरुले छाता संघमा राखेको बचत तरलता गणना गर्न पाउने व्यवस्था लागू हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।
स्थिरीकरण कोष
स्थिरीकरण कोष वित्तीय सहकारी (बचत तथा ऋण)मा हुन सक्ने सम्भावित जोखिम र चुनौतीलाई सामना गरी अभियानको सुरक्षा दिने कोष हो । अन्यत्र यसलाई अनिवार्य गरिएको हुन्छ भने नेपालमा यो ऐच्छिक जस्तो र नाफाबाट कोषहरुमा छुट्टिने प्रकृतिको बनाईएको छ । जोखिम तहको सुपरिवेक्षण गरी तोकिएको मापदण्ड भन्दा कम तरलता कायम भएको अवस्थामा तुरुन्तै तरलता सापटीको सुविधा मार्फत अल्पकालिन सम्बोधन गर्ने विश्वव्यापी अभ्यास अनुरुप यो परिचालन हुने भएकोले यसलाई अनिवार्य गर्नुपर्छ । संस्थामा जोखिम तहको निर्धारण र सोको आधारमा शुल्क तोकिनु पर्छ । सहकारी ऐनमा यसको व्यवस्था पूर्ण छैन, यसलाई संशोधन गर्न नेफ्स्कूनले सुझाव दिईसकेको छ ।
हाल यस कोषमा २५ करोड रकम जम्मा भएको विभिन्न ३०० योगदान कर्ता बचत तथा ऋण सहकारी संघसंस्थाहरुबाट, यसको हाल परिचालन सदस्यहरुको जोखिम सुपरिवेक्षण र प्रणाली मार्फत तरलता प्रोफाईलिङ्गमा सिमित रहेको छ ।
सहकारीको विषय र उद्देश्य
विश्वका अधिकांश मुलुकहरुमा सबै प्रकारका सहकारीहरुले बचत संकलन गर्न पाउँदैनन् । उनीहरुको प्रकृति हुन्छ विषय हुन्छ, विषय अनुसारका क्रियाकलापहरु गर्छन । बचत र ऋणको कारोबार बचत तथा ऋण सहकारीहरुले गर्छन । राष्ट्रिय सहकारी नियमन प्राधिकरण नितान्त बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको नियमन गर्न स्थापित निकाय हो ।
विश्वका जति मुलुकहरुमा यस्ता प्राधिकरणहरुको व्यवस्था गरिएका छन् त्यहाँ प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुको लागि मापदण्ड जारी गर्ने, वित्तीय सन्तुलन कायम गराउने, जोखिम न्यूनिकरणका लागि विभिन्न मानकहरु निर्धारण गर्ने, केन्द्रीकृत सुपरिवेक्षण संयन्त्र/प्रणाली विकास गर्ने, आवश्यक कार्यविधिहरु वा एकिकृत निर्देशनहरु जारी गर्ने जस्ता कार्य गर्दछ । नेपालमा पनि यसै परिकल्पना अनुरुप २०८१ को सहकारी ऐन संशोधन मार्फत यसलाई कार्यान्वयनमा ल्याईएको छ हेरौं यसले कसरी आफ्ना क्रियाकलापहरुलाई अगाडि बढाउँछ । यद्यपि ऐनमा भएको मुख्य कारोबारको व्याख्या वा कार्यान्वयन अझै अन्योलमा देख्छु म ।
वित्तीय सहकारी ऐनको आवश्यकता
नेफ्स्कूनले सन् २००८ देखि नै पैसाको कारोबार वा सहकारीमा नियमित बचत गर्ने भन्दा बाहेक निक्षेप (आवधिक, कारोबार वा ऐच्छिक) संकलन गर्ने संस्थाहरु फरक ऐनबाट निर्देशित हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता अनुरुप फरक ऐनको वकालत र वहस गर्दै आईरहेको छ ।
यस्ता सहकारीहरुको संख्या, कार्यक्षेत्र, पूँजि पर्याप्तता, संस्थागत सम्पत्ति, जोखिम बहन गर्न सक्ने क्षमता, तिर्न सक्ने क्षमता, खर्च गर्न सक्ने क्षमता, प्रविधिमा लगानी प्रतिफलको प्रक्षेपण र कार्यान्वयन, जोखिम व्यवस्थापन, जनशक्ति, नेतृत्वको सुशासन वित्तीय संस्थाहरु सँगको सामञ्जस्यता जस्ता विविध पक्षहरु खुलाईएको फरक ऐन आवश्यक पर्छ । एकै ऐनले नेपालमा भएका २० थरी भन्दा धेरै सहकारीहरुको नियमन र व्यवस्थापन गर्न सक्दैन भन्ने नेफ्स्कूनको ठम्याई हो ।
(कुराकानीमा आधारित)


