विन्धवासिनी साकोसको स्थापना दिवसमा स्वास्थ्य शिविर देखि शैक्षिक सामग्री वितरण सम्म

विन्धवासिनी साकोसको स्थापना दिवसमा स्वास्थ्य शिविर देखि शैक्षिक सामग्री वितरण सम्म
समाचार | 2021-02-22 Share

बनेपा । काभ्रेपलाञ्चोक र काठमाडौं जिल्लाभरि कार्यक्षेत्र रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २८ औं स्थापना दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न गरेको छ ।

कोरोना भाईरस  (कोभिड–१९)को जोखिमलाई मध्यनजर गरेर संस्थाले सम्पूर्ण सेवा कार्यालयहरुमा दिप प्रज्वलन गर्नुका साथै विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रम गरेर स्थापना दिवस मनाएको व्यवस्थापन प्रमुख के.बी. लामा स्याङ्तानले बताउनुभयो ।

२८ औं स्थापना दिवसको पूर्वसन्ध्यामा संस्थाले भकुण्डे सेवा कार्यालयको व्यवस्थापनमा धुलिखेल अस्पताल, रोटरी क्लब अफ पनौती र रोटरी क्लव अफ कुम्सको प्राविधिक सहयोग तथा रोशी गाउँपालिका र स्माइल केयर फार्मेसीको सहकार्यमा रोशी गाउँपालिका फलामेसाँघुमा महिलाहरुको स्वास्थ्य परीक्षणका साथै पाठेघरको मुखको क्यान्सर परीक्षण र निःशुल्क औषधी वितरण गरेको छ ।

संस्थाले सेवा कार्यालय ढुंखर्क, रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा र  बेथानचोक गाउँपालिकाको संयुक्त आयोजनामा १ दिने निःशुल्क आँखा परीक्षण शिविर र सेवा कार्यालय भकुण्डेको व्यवस्थापन र प्रिमियर डेन्टलको प्रावधिक सहयोगमा १ दिने दन्त शिविरको आयोजना गरेको थियो । सवै सेवा कार्यालयहरुको सदस्य विस्तारित भेला एवं सदस्य शिक्षा कार्यक्रम संचालन गरेको छ ।

 

त्यसैगरि स्थापना दिवसको दिन फाल्गुण ६ गते सवै सेवा कार्यालयहरुमा पूजाअर्चना, दिपावली गर्नुका साथै ग्रिन कार्ड छनौटमा पर्न सफल २४ जना सदस्यलाई ऋण सहुलियत परिचयपत्र वितरण, कार्यालयगत जेष्ठ सदस्य सम्मान, अपाङ्गता भत्ता,  रोशी गाउँपालिका १० तारेमा रहेको जागेश्वर आधारभुत विद्यालयका ५० जना विद्यार्थीलाई स्टेशनरी वितरणका साथै विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरी स्थापना दिवस सम्पन्न गरेको छ । 

समूहगत र क्षेत्रगत अवधारणामा संचालित विन्धवासिनी साकोसले सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरि काभ्रे तथा काठमाडौ जिल्लाभित्र १ हजार ८ सय २६ वटा समूह मार्फत ३९ हजार ५ सय  ९१ शेयर सदस्य र ७ हजार ९ सय ८२ जना शैक्षिक बाल बचतकर्ता गरी कुल ४७ हजार ५ सय ७३ सेवाग्राहीलाई विभिन्न सेवा दिईरहेको छ ।

शेयर पुँजी ३५ करोड ४३ लाख ७८ हजार रुपैयाँ, ऋण लगानीमा वाँकी २ अर्व ६२ करोड ४७ लाख ५३ हजार रुपैयाँ र बचत तथा निक्षेप २ अर्व ५४ करोड ५ लाख ४ हजार रुपैयाँ रहेको संस्थाले कुल सम्पत्ति ३ अर्ब ४४ करोड ४८ लाख ५१ हजार पु¥याएको छ ।