‘...त्यो चित्रको पछाडि मेरो नाम लेखिएको रहेछ’

नागार्जुन नगरपालिका–४, सीतापाईला, चक्रपथ चोकमा रहेको सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदार मानन्धर राजधानी उपत्यकाको न्यूरोडमा हुर्कनुभएको हो । उहाँले सहकारी अभियानमा प्रवेश गर्नुअघि १३ वर्ष नेपाल क्षयरोग निवारण संस्थामा प्रशासकीय अधिकृत भएर काम गर्नुभएको थियो । सहकारीका अलावा राजनीतिक क्षेत्रमा समेत सक्रिय मानन्धर विद्यार्थी जीवनमा आफूलाई चित्रकलामा एकदमै रुची रहेको बताउनुहुन्छ । प्रस्तुत छ अध्यक्ष मानन्धरसंग यस स्तम्भका लागि गरिएको अन्तरङ्ग कुराकानीको सारः
बाल्यकाल
हामी न्यूरोड, काठमाडौंमा बसोबास गर्छौं । तर पुख्र्योली घर चाहिँ ठहिटी हो । म सानो छँदा हाम्रो परिवारमा बुबा, आमा, दिदी र दुईजना भाईहरु थियौं । मेरो वाल्यकाल अध्ययन र खेलकुदमा व्यतीत भयो ।
यादगार घटना
विद्यालयमा अध्ययन गर्दा म पेन्टिङ्ग गर्ने गर्दथेँ । विदाको समयमा क्यानभास, रंगहरु झोलामा बोकेर गाउँका ल्याडस्केप कोर्ने गर्दथेँ । मलाई साथीहरुले पनि चित्र कोर्न लिएर जान्थे । पछि कलेजमा एउटा एक्जिविसन भएको थियो । त्यस प्रदर्शनमा एउटा आर्ट सवैले प्रशंसा गरिरहेका थिए । पछि मैले पनि धेरै रुचिसाथ त्यो चित्रकला नियालेँ । सबैले त्यो पेन्टिङ्ग कोर्ने चित्रकारको खोजी गरिरहेका थिए । संयोगवश त्यो चित्र त मैले नै बनाएको रहेछु । चित्रको पछाडि हेरेपछि पो थाहा भयो । त्यसमा त मरै नाम लेखेको रहेछ ।
शिक्षा
मैले सीताराम माध्यमिक विद्यालय, रामकोट डाँडापौवा, काठमाण्डौंबाट औपचारिक शिक्षा प्रारम्भ गरेको हुँ । विद्यालयमा हुँदाताकाको दिनचर्या अध्ययन र खेलकुद मै वित्यो । मैले त्रिभुवन विश्वविद्यालय, किर्तिपुरबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेको छु ।
घरपरिवार
अहिले हाम्रो परिवारमा आमा, श्रीमती, एक छोरा र एक छोरी छौं ।
रुची
मलाई समयमा खानेकुरा चाहिन्छ । सवै प्रकारका खानेकुरा खान्छु । यो नै चाहिन्छ भन्ने छैन । नेवारको छोरा हुँ । मदिरा सेवन गर्दिनँ भन्यो भने कसैले पत्याउदैन्न । विशेष अवशरमा सामाजिक पेयको रुपमा पिउने गर्छु । मलाई रोमान्टीक खालको गीत संङ्गीत मनपर्छ । रुने धुने मन पर्दैन । खेलकुदको कुरा गर्दा म भलिबल खेल्न र साइक्लिङ्ग गर्न रुचाउँछु । कमेडी चलचित्र मन पर्छ ।
फुर्सत
फुर्सत हुँदा सामाजिक कार्य मै समय जान्छ । समय भयो भने लामो साईकल यात्रा जान मनपर्छ । साहित्य सिर्जना र लेखन मेरो क्षमता भन्दा टाढाको विषय हो । तर अध्ययनमा धेरै रुची छ । अनि पुस्तक मागेर भन्दा किनेर पढ्छु साथीहरुलाई पनि यस्तै सल्लाह दिन्छु । तर मेरो रुची पेन्टीङ्ग हो । ल्यान्डस्केप पेन्टिङ्ग मेरो रुचीको विषय हो । विद्यालयमा चित्रकलामा सधैं पुरस्कार प्राप्त गरेको थिएँ । पुस्तकहरुमा बायोग्राफी र अर्थराजनीति सम्बन्धी पुस्तक पढ्न रुचाउँछु तर कलम चल्दैन । समय सान्दर्भिक छोटो लेखहरु चाहिँ लेख्ने गर्छु ।
भाग्य
मेरो राशी मिथुन हो । म भाग्य भन्दा पनि भोग (काम) मा विश्वास गर्छु । मैले ज्योतिषीलाई चिना हेराएको छु । चिनामा असल मान्छे बन्छस् भनेको छ । मृत्यु कसैले नरुचाएको सत्य घटना हो । मैले जीवनमा केही भूल गरे भन्ने महसुस गरेको छैन । सहकारीको माध्यमबाट देशको समृद्धिमा टेवा पु¥याउने सपना छ ।
आस्था
राजनीति समाज र देश रुपान्तरण गर्ने मुख्य माध्यम हो । म कलेज र विश्वविद्यालयमा अध्ययन गर्दा नेपाल विद्यार्थी संघमा सक्रिय थिएँ, पछि नेपाली कांग्रेसको महासमिति सदस्य र हाल नागार्जुन नगर समितिको सभापतिको जिम्मेवारी निर्वाह गरिरहेको छु । म लोकतान्त्रिक विचारधाराबाट पे्ररित खुला अर्थ व्यवस्थामा विश्वास गर्छु ।
सहकारी यात्रा
म २०५६ सालमा सितापाईला बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरे पछि यस क्षेत्रमा लागेको हुँ । काठमाडौंको नेवार परिवारमा जन्मे, हुर्केको हुँ । त्यसैले छोराले सहकारी क्षेत्र वा जागिर भन्दा व्यापार व्यवसाय गरोस भन्ने चाहना थियो मेरो वुवाको । सहकारी संस्थामा रोजगारी गरेर जीवन निर्वाह गर्न सकिन्छ कि भन्दा पनि विषेशगरि हजारौं युवाहरुलाई रोजगारी दिएर र सहकारीबाट उद्यमी कर्जा लिएर व्यवसाय गर्न सकिन्छ । म विद्यार्थीकालमा नै नेपाल विद्यार्थी संघमा सक्रिय भएर २०४६ सालको जनआन्दोलमा होमीएको थिएँ । उक्त राजनीतिक परिवर्तनले समग्र देशको परिवर्तनको आशा गरेको थियो । तर कुनै सार्थक परिवर्तन अनुभूति भएन । सिंगो मुलुक परिवर्तन गर्न नसकेपनि केही व्यक्ति र समुहको आर्थिक तथा सामाजिक रुपान्तरण सहकारीको माध्यमबाट गर्न सकिन्छ भन्ने विश्वासका साथ सहकारी क्षेत्र रोजेको हुँ । सहकारी क्षेत्रमा लाग्नु भन्दा पहिले मैले नेपाल क्षयरोग निवारण संस्थामा प्रशासकीय अधिकृत भई १३ बर्ष सम्म स्वास्थ्य क्षेत्रमा नोकरी गरेको थिएँ ।
आवद्ध सहकारी
सितापाईला बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौं जिल्लाभरि कार्यक्षेत्र भएपनि नागार्जुन र चन्द्रागिरी नगरपालिकालाई केन्द्र विन्दु बनाएको छ । सदस्य केन्द्रित समुदायमा आधारित र सहकारी मोडलमा अधारित लघुवित्त कार्यक्रम समेत संचालन गर्नुका साथै डिजिटल प्रविधिलाई प्रयोग गरि नगदरहित कारोबार गर्ने यस क्षेत्रकै पहिलो सहकारीको पहिचान बनाउन सफल भएको छ । संस्थाले सदस्यहरुलाई मोबाईल बैंकिङ्ग एप, एटीएम, क्यूआए कोड र आईपीएस सेवा प्रदान गरिरहेको छ । आफ्नै भवनमा अस्पताल सेवा र एम्बुलेन्स सेवा संचालन गरिरहेको छ । संस्थाको श्ोयर पुँजी ५ करोड ५० लाख, निक्षेप १ अर्ब ४ करोड, कर्जा ९७ करोड ५० लाख र समग्रमा १ अर्व ३१ करोड रुपैयाँको कारोबार गरिरहेको छ । यस संस्थामा महिला सदस्य ४ हजार ४ सय र पुरुष ३ हजार ५ सय भन्दा वढी आवद्ध छन ।
सहकारी अनुभव
सहकारी संस्था सदस्य र समुदायको हो । संस्थाको हरेक क्रियाकलाप सदस्यहरुको नियन्त्रणमा हुनुपर्ने हो । तर नियामक निकायको वेलाबखतमा हुने फरक निर्देशन तथा सदस्य मैत्री कानुन भन्दा नियन्त्रण मुखी कानुन हरुले कहिले कहिँ समस्या उत्पन्न हुन्छन् । साथै सहकारीमा कर्जा लिने सदस्यहरुले आफ्नै संस्था त हो नि भनेर बैंकको व्याज र कर्जा समयमा तिर्ने तर सहकारीलाई हेप्ने गर्दा समस्या श्रृजना हुने गरेको छ । सबै क्षेत्रमा राजनीति हुने गर्दछ । तर सहकारी अभियानमा लाग्ने साथीहरुले राजनीति आस्था भन्दा माथि उठेर सहकारी अभियानमा लाग्नुपर्छ ।