‘सहकारी संस्थामा राजनीति भन्ने शब्दलाई घुस्न दिनु हुँदैन'

कास्की जिल्लाको रुपा गाउँपालिकामा २०२० सालमा जन्मनुभएकी सुमित्रा देवी सुवेदी ढकाल टोखा नगरपालिका-११, खरिबोटमा महिलाहरुले संचालन गरेको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा महिला उत्थान सम्बन्धी कामको अनुभव संगाल्नुभएकी उहाँ महिलाहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सहकारी अभियानमा होमिएको बताउनुहुन्छ । हामीले उहाँको निजी जीवन, भोगाई, सामाजिक दृष्टिकोण आदि बुझ्ने हेतुले गरेको अन्तरङ्ग कुराकानीको सार यहाँ प्रस्तुत गरेका छौं ।
बाल्यकाल
मेरो जन्म कास्की जिल्लाको रुपा गाउँपालिकामा २०२० सालमा भएको हो । मेरा बुबा आमाकी म एक्ली सन्तान हुँ । म सानो छँदा परिवारमा बुवा, आमा र म थियौं । मेरो बाल्यकाल एउटा गाउँले परिवेशमा बित्यो । त्यस बेलाको समयमा गाउँमा त्यति पढेलेखेका मानिसहरु हुँदैनथे । सबै मानिसहरु आ-आफ्नै खेती किसानीमा लागेका हुन्थे तर म एक मात्र सन्तान भएकोले मैले खासै काम काम गर्नु परेन । त्यस बेलामा पनि मेरा बुवा आमाले आफूले नपढे पनि छोरीलाई पढाउनु पर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो । त्यसैले उहाँहरुले तिमी पढ मात्र भन्ने भएकोले पनि खासै काम गर्नु परेन ।
बाल्यकालको संगत
बाल्यकालमा मेरा धेरै साथीहरु थिएनन् किनभने मेरो घर सानो बजारमा थियो । त्यो बजारमा मेरो उमेरका केटाकेटी थिएनन् । मेरो ठूलो बुवाको छोरा भाई मात्र थियो । उ र म नै संगै खेल्ने पढ्ने गर्दथ्यौं । विद्यालयका साथीहरु भने थिए । मेरा सबै साथीहरु राम्रै थिए ।
शिक्षा
मेरो औपचारिक शिक्षा मेरो घर नजिकैको शिवालय निम्नमाध्यामिक विद्यालयबाट सुरु भयो । म विद्यालयमा पढ्दाताकाको दिनचर्या बिहान एकछिन पढ्ने खाना खाने र विद्यालय जाने । विद्यालयबाट घर फर्केपछि खाजा खाने एकछिन खेल्ने बेलुका खाना खाने र पढन सुरु गर्ने । त्यस समयमा विजुली बत्ती थिएन, घडी पनि हुन्थेन त्यसैले हामीलाई सरले गाउँमा बत्ती निभेपछि मात्र सुत्नुपर्छ भन्नुहुन्थ्यो । हो म पनि त्यसरीनै पढ्थें । मेरो दिनचर्या यसरी नै बित्थ्यो । तर पछि माध्यामिक विद्यालय भने घर देखि करिब साढे दुई घण्टा टाढा थियो । रामकोट माध्यामिक बिद्यालय पुग्न बिहान सातै वजे हिँडनु पथ्र्यो । बेलुका घर आइपुग्दा सात बज्थ्यो। त्यहीँबाट मैले एस.एल.सी. पास गरें । मैले पोखराको पृथ्विनारायण क्याम्पसबाट शिक्षा शास्त्र संकायमा गणित विषयमा स्नातक गरेकी छु ।
परिवार
म एकल महिला हुँ । मेरा एक छोरा र छोरी गरि दुई सन्तान छन् । छोरा बुहारी नाती छन्, तर विदेशमा छन् । छोरीको पनि विवाह भईसकेको छ । हाल म सासु ससुरासंग बस्छु । मेरो विवाह प्रेम विवाह हो तर भागी होइन । जोसंग प्रेम भयो उसैसँग विवाह भयो ।
रुची
खानपानमा म खासै सौखिन छैन । मलाई सादा दाल भात, तरकारी नै मन पर्छ । म साहाकारी होइन । तर म मासुमा त्यति धेरै इच्छा पनि गर्दिनँ । मैले कहिल्यै मदिरा सेवान गरेकी छैन । मलाई आधुनिक गीत, लोकगीत मन पर्छ । म प्राय बेलुका सुत्नेबेलामा यस्तै खालका गितहरु बजाएर सुन्दै सुत्छु । म पहिले पनि खासै खेलकुदमा सहभागी भईन तर मलाई फुटबल र क्रिकेट मन पर्छ र समय मिल्दा हेर्नेगर्छु । चलचित्र हेर्नमा मेरो खासै सोख छैन तर मलाई पुराना चलचित्रहरु मन पर्छ कहिले काहीँ यूटुबमा हेर्ने गर्छु ।
फुर्सत
फुर्सदको समयमा समाचार हेर्छु । केही राम्रा पुस्तकहरु भएमा पढ्छु । मलाई फूल लगाउन मन पर्छ । करेसा बारीमा समय अनुसारको तरकारी लगाउन मन पर्छ । त्यसैले बिहान बेलुका फुर्सद पाएँ भने त्यतै काम गर्छु । साहित्य सिर्जनामा मेरो त्यति रुचि छैन किनकि मलाई साहित्य सिर्जना गर्न आउँदैन ।
घुमफिर
मैले पूर्व देखि पश्चिम सम्मका धेरै ठाउँहरु घुमेकी छु । तर बिदेशको सवालमा विभिन्न तालिमहरुमा भारतमा जाने अवसर मिलेको थियो । अन्य देशहरुमा जाने अवसर मिलेको छैन ।
भाग्य
मेरो राशी बृष हो । म भाग्यमा भन्दा पनि कर्ममा विश्वास गर्दछु । किन कि आफूले कर्म नगरी भाग्यमा भएर मात्र कुनै पनि सफलता प्राप्त गर्न सकिदैन । आज सम्म मैले कहिल्यै पनि चिना हेराएकी छैन । मृत्यु एक ध्रुवसत्य हो । मानिस जन्मेपछि कुनै दिन मर्छ । तर मृत्युलाइ कस्तो बनाउने आफ्नो हातमा हुन्छ । मैले भन्न खोजेको मृत्युलाई कपास जस्तो हल्का बनाउले वा ढुँगा जस्तो गह्रुँगो बनाउने । आज सम्म जीवनमा मैले गर्नै नहुने केही भुल गरेजस्तो लागेको छैन । जीवनमा कुनै न कुनै सपना हुन्छन् नै सपना नै नदेखि जीवन अगाडी बढ्दैन । तर मैले ठूलो महत्वकांक्षी सपना भने देखेकी छैन ।
आस्था
राजनीति भनेको कुनै पनि देशलाई, समाजलाई वर्गलाई अगाडि बढाउने एउटा साधन हो । यसैको माध्यमबाट हरेक क्षेत्रमा विकास र समृद्धि हुन्छ । मानिसको जीवनस्तर माथि उठ्छ तर यो स्वच्छ हुनु पर्दछ । अहिलेको जस्तो फोहोरी हुनु हुँदैन । हिजो विद्यार्थीकालमा सक्रियरुपमानै राजनीतिमा लागियो । विद्यार्थीजीवन पछि पनि लागेकै हो । तर आज म वर्तमान अवस्थामा सक्रिय राजनीतिमा छैन । तर पनि हामी जस्तो सचेत व्यक्तिको कुनै न कुनै दलमा आस्था त भईहाल्छ ।
आध्यात्म
आध्यात्ममा म विश्वास गर्दछु किन कि म नास्तिक होइनँ । म आस्तिकनै हुँ तर पनि म त्यसैमा लिन भएर लाग्दिनँ । यसले क्षणिकरुपमा भए पनि मनलाई शान्ति दिन्छ । आध्यात्मले मन अशान्त भएको बेलामा शान्त पार्ने र सकारात्मक बाटोतर्फ डोहोर्याउने काम गर्दछ ।
सहकारी यात्रा
पहिला विद्यार्थी कालमा पनि म महिलाहरुको कसरी उत्थान गर्न सकिन्छ भनेर लागेँ । पछि मैले धेरै वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा रहेर महिलाको क्षेत्रमानै काम गरेँ । काम गर्ने सिलसिलामा सुगम देखि दुर्गम सम्मका महिलाहरुलाई संगठित गर्ने आर्थिक रुपमा कसरी सक्षम बनाउने र उनीहरुलाई कसरी आर्थिक क्षेत्रमा सक्रियतापूर्वक प्रवेश गराउने भन्ने नै रह्यो । आर्थिकरुपमा जवसम्म महिलाहरु सक्षम हुँदैनन् तव सम्म महिलाहरु आत्मनिर्भर हुँदैनन् । जव आत्मनिर्भर हुँदैनन तव सम्म विभिन्न खालका विभेदहरु, उत्पीडनहरु सहिनै रहनु पर्दछ भन्ने ठम्याई रह्यो ।
मैले काम गर्दाको अनुभव र मेरो लक्ष्य अनुसार मैले महिलालाई अगाडि बढाउने माध्यम सहकारीलाई नै देखेँ । म काठमाडौं आईसके पछि पहिला दिदी बहिनीहरुलाई समूहकारुपमा आवद्ध गर्ने बचत गर्ने बानीको बिकास गराउने, उनीहरुलाई विभिन्न खालका सिपमूलक तालिमहरु संचालन गर्ने, उनीहरुको व्यक्तित्व विकासका लागि तालिमहरु संचालन गर्ने काम गरियो । र, त्यही क्रममा समूहमा करिब ३५ लाख रुपैयाँ वचत जम्मा भएपछि २०६९ सालको जेष्ठ २६ गते चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था दर्ता गरियो । त्यस पछि आज सम्म पनि यही सहकारीमा सक्रियरुपमा लागिरहेकी छु । सहकारीमा लाग्छु भन्दा मलाई परिवारबाट सकारात्मक प्रतिक्रिया प्राप्त भयो । मेरो परिवार एउटा राजनीतिक परिवार थियो । बुझ्ने परिवार भएकोले सहयोग नै रह्यो ।
सहकारी आकर्षण
मैलै माथि पनि भनिसकेँ, आजको परिस्थितिमा महिलाहरु पछि पर्नुको मख्य कारण नै आर्थिक पक्ष हो । जव सम्म महिलाहरु आर्थिकरुपमा सबल हँदैनन् तव सम्म उनीहरुले हरेक प्रकारका हिंसाहरु सहिरहनु पर्ने हुन्छ । आर्थिकरुपमा सक्षम हुनका लागि पैसा चाहिन्छ । यसको लागि आफूँसंग नभए पनि सहकारीको माध्यमवाट अगाडि बढ्न सकिने र सहकारी भनेको एउटा दुःख सुख विसाउने साझा थलो भएकोले पनि मैले सहकारीलाई नै रोज्न पुगेकी हुँ । सहकारी क्षेत्रमा लाग्नु भन्दा पहिला मैले करिब ८ वर्ष आर.आर.एन. र सी.एच.डी.पी.मा रहेर काम गरेँ । त्यसपछि विद्यालयमा प्रशासनमा रहेर काम गरेँ । हाल अन्य पेशामा आवद्ध छैनँ ।
सहकारी व्यवसाय
तपाईंले यसमा आर्थिक पक्षलाई जोड्न खोज्नुभएको हो भने सहकारीमा लागेर मात्र परिवार संचालन गर्न सकिँदैन । तर सहकारीबाट सहयोग लिएर आजको व्यापारिक बजारको पहिचान गरेर सहीखालको व्यवसाय संचालन गर्न सकेको खण्डमा सजिलैसंग परिवार संचालन गर्न र बचत गर्न पनि सकिन्छ ।
आवद्ध सहकारी
हाल म आवद्ध भएको सहकारी संस्था चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था हो । यो संस्था स्थापना भएको ९ वर्ष भयो । अहिलेको अवस्थाको मूल्याङ्कन गर्ने हो भने संस्थाले यस अवधिमा निकै फड्को मारेको छ । यस वर्ष हामीले आफ्नै भवन निर्माण गरेर कार्यालय संचालन गरिरहेका छौं । महिलाले मात्र केही गर्न सक्दैनन् भन्ने समाजलाई हामीले चुनौती दिईरहेका छौं । यो नगरपालिकामा हामी एउटा सफल सहकारीको रुपमा स्थापित भएका छौं । हामीसंग अहिले शेयर पूँजी १ करोड ९४ लाख २४ हजार ८ सय ७ रुपैयाँ, जम्मा बचत १२ करोड ८७ लाख ८१ हजार २ सय २९ रुपैयाँ र जम्मा कर्जा लगानी ९ करोड ४ लाख रुपैयाँ रहेको छ । कोभिड-१९ महामारीको असर हाम्रो संस्थामा पनि पर्ने नै भयो । त्यसकारणले गर्दा गत वर्ष भन्दा यस वर्ष लगानीमा केही कमी देखिएको छ । तर पनि संस्थाको समग्र अवस्थाको मूल्याङ्कन गर्दा राम्रो छ । हाम्रो संस्था नै महिला सहकारी भएको हुनाले सबै सदस्यहरु महिला नै हुनुहुन्छ । हाल हामी ४ सय २५ सदस्यहरु छौं ।
हामीले संस्थालाई स्थायित्व दिनका लागि सदस्यहरुलाई सुसूचित गराउनका लागि सहकारी शिक्षामा जोड दिने, सुरक्षित लगानीका लागि सम्भावित क्षेत्रको पहिचान गर्ने, महिलाहरुलाई आर्थिक क्षेत्रमा सक्रिय बनाउनका लागि क्षेत्र पहिचान र आवश्यक तालिम तथा परामर्शमा जोड दिने, हाम्रो संस्थाले करिव ८० प्रतिशत धितो बेसमा लगानी गरिरहेकोमा आगामी दिनमा त्यसलाई अझ बढाउनमा जोड दिने योजना बनाएका छौं । हाम्रा शेयर सदस्यहरुको व्यक्तित्व विकासगर्नका लागि समय समयमा विभिन्न खालका तालिमहरु संचालन गर्दै आएकोमा यसलाई अझै बढाउँदै लैजाने । यस्तै यस्तै योजनाहरु छन् ।
सहकारी अनुभाव
जुनसुकै काम गर्दा पनि कठिनाई त हुन्छ नै । झनै सहकारी संस्था संचालन गरेर काम गर्दै जाँदा निकै व्यवधानहरु आउँछन । किनभने धनको मुख कालो हुन्छ भन्ने त उखानै छ । यो त पैसाको नै कारोबार गर्ने ठाउँ हो । सबै सदस्यको स्तर एउटै हुँदैन, सबैले संस्थाका अप्ठ्यरालाई बुझेका हुन्छन भन्ने हुँदैन । त्यसलाई मिलाएर लैजान निकै कठिन हुँदोरहेछ । तर हार नमानीकन अगाडि बढीरहन पर्ने रहेछ । अर्को महत्वपूर्ण कुरा भनेको समय समयमा विभागबाट परिवर्तन गरिएका नीति नियमहरु । विभागले सबै सहकारीलाई एउटै टोकरीमा राखेर व्यवहार गर्दा हामी जस्ता इमान्दार संस्थालाई निकै अप्ठ्यरो पर्ने रहेछ । सरकारको तर्फबाट कुनै पनि सहयोग नहुनु, खाली दायित्वका कुरा मात्र गर्नु र संस्थालाई समस्या परेको वेलामा सहयोग नगरी बेवास्ता गर्नाले पनि संचालनमा धेरै अप्ठ्याराहरु हुदारहेछन ।
सुझाव
सहकारी संस्थालाई राम्रोसंग अगाडि बढाउनका लागि पहिला त आफू स्वार्थरहित हुन जरुरी छ । आफैं आर्थिक प्रलोभनमा परियो भने संस्था डुब्न सुरु हुन्छ । संस्थामा राजनीति भन्ने शब्दनै घुस्न दिनु हुँदैन । सहकारी सबै वर्ग, जात जाती, धर्म, भाषा र राजनीतिक क्षेत्रका व्यक्तिहरुको साझा थलो हो । त्यसलाई मिलाएर लान सक्नु पर्दछ । संस्था अगाडि बढाउनका लागि सबै भन्दा महत्वपूणर् अर्को कुरा हो ‘टिम स्पिरिट’ सामूहिक एकता, यो भएन भने संस्था धेरै समय टिकाउँन सकिँदैन् । त्यसैले संस्थामा म नभै हामी भनेर लाग्नु पर्दछ ।