‘विदामा गएपछि पढाईमा फर्किनँ, प्लाइऊड फ्याक्ट्रीमा जागिर खान थालेँ’

‘विदामा गएपछि पढाईमा फर्किनँ, प्लाइऊड फ्याक्ट्रीमा जागिर खान थालेँ’
सहकारी व्यक्तित्व | 2021-07-08 Share

सरकारी जागीरको सिलसिलामा दुई दशक सम्म सहकारीको दर्ता, अनुगमन, नियमन र प्रवद्र्धनमा संलग्न हुनुभएका पूर्व प्रशासक केशव  बहादुर थापा ‘रिटायर्ड लाईफ’मा भने सहकारी प्रशिक्षण, तालिम र परामर्शममा व्यस्त हुनुहुन्छ । सहकारीकर्मीहरुमाझ हास्यरसको धनी व्यक्तिको छवि बनाउनुभएका थापा सहकारीका सदस्यलाई संस्थाका हरेक गतिविधिमा सक्रिय सहभागी हुन र आफूमा योग्यता र क्षमता भए कार्यसमितिको निर्वाचनमा उम्मेदवारी दिन सुझाव दिनुहुन्छ । प्रस्तुत छ उहाँसंग गरिएको अन्तरङ्ग कुराकानीको सारः

बाल्यकाल

मेरो जन्म बुटवल उपमहानगरपालिका, तत्कालीन वडा नं ४, गढी टोल हाल वडा नं. २ उजीरसिंह पथमा २०१७ साल कार्तिक २१ गते भएको हो । हामी बगाले थापा सगोल मै बस्थ्यौं, जेठाबुवाका परिवार बुटवल, साहिंला बुवाका परिवार तानसेन, पाल्पामा र हामी माहिलाका सन्तान दुबैतर्फ पालोपालो बस्ने गथ्र्यौं । बुवा, आमा, दिदी, दाजु, भाइ, बैनी सबै गरेर सगोलमा २०/२२ जना भन्दा बढी हुन्थ्यौं । बाल्यकालका टोले र स्कूले साथीहरू थिए, जोसँग खेल्ने पढ्ने गरिन्थ्यो । यस्ता साथीहरूमा रवि, मधु, सरला सैंजूहरु, राजेन्द्रमुनि शाक्य, योगेन्द्र बज्राचार्य, राजन श्रेष्ठ (जो १ कक्षादेखि बी.कम. सम्मै सँगै पढ्यौं र कृषि विकास बैंकमा प्रथम श्रेणीको अधिकृत पदबाट अवकाश पाई पाल्पामै बसिरहेको छ), शकुन्तला बज्राचार्य आदि ।

बाल्यकालमा घर अगाडि दरबारको कम्पाउण्ड र भगवतीथानको परिसरमा तास, गुच्चा, खोपी, ब्याट, दण्डिबियो, भोगटेको बोक्रा र थोत्रा मोजाको भकुण्डो बजाइ खूब खेलिन्थ्यो । यादगार घटनामा बुवालाई खाना खाएपछि एकछिन सुत्ने बानी भएकोमा हामी घरकै दमाली केटाकेटी बाहिर पानी परेको र स्कुल विदा हुँदा घरमै तेलकासा (लुकाछिपी) खेल्दा भर्‍याङमा खुरुर्र दौडेर चढ्दा र ओर्लँदाको आवाजले निद्रा खल्बलिनाले हामीलाई धपाउन, सम्झाउन तमाखु खाने नलीले पिट्न दौडेको र हामीलाई भेट्टाउन नसकेको जस्ता घट्ना कतिपय छन् । 

विद्यालयको दिनचर्या

स्कुल पढ्दा बिहान उठि मुखसुख धोई होमवर्क भए गर्ने, नभए किताब पढ्ने, कलममा मसी भर्ने, कापीकिताब झोलामा मिलाइराख्ने, १०–१५ मिनेट पैदल तेर्सो, उकालो हिंडेर स्कुल जाने, घण्टी लागेसी विद्यालय गीत र राष्ट्रिय गान गाउने, कक्षामा गई नियमित अध्ययन गर्ने, इण्टरभलमा खेल्ने, पैसा भए केही किनेर खाने वा कुनै मनकारी धनी साथीले वा कसैले घरबाट पैसा मागेर र चोरेर ल्याएकोछ भने नजिकको वरपिपल मुनिको पसलमा गई खानेकुरा खाने गरिन्थ्यो । स्कूलमा ८ घण्टी सकिएर लामो घण्टी लागलेपछि छुट्टि भन्दै दौडेर घर आएर झोला, किताबकापी फालेर घरमा भएको ताजा, बासी खाजा खाइ टोले साथीहरूसँग खेल्न कुद्यो, फर्केर खाना खाइ केही गृहकार्य छ भने गरिसुत्यो, नभए पढेझैं गर्दागर्दै भुस्स परेर निदायो । दैनिकी यस्तै थियो ।

शिक्षा

तानसेन नगर पञ्चायतद्वारा संचालित (मखनटोल घर नजिकैको) निःशुल्क तथा अनिवार्य प्राथमिक पाठशाला, भगवतीस्थानमा ५ कक्षासम्म सर्वप्रथम भएर अध्ययन गरियो । ५ कक्षा उत्तीर्ण गरेपछि त्यतिबेला तानसेनमा संचालित ६ हाइस्कूलमध्ये सबभन्दा राम्रो पढाइ हुने, सबभन्दा पुरानो २००४ सालमा खुलेको र धेरै विद्यार्र्थी (करीब १२ सय सम्म पुगेको) पद्म पब्लिक बहुउद्देश्यीय हाइस्कूलमा २०२७ साल देखि २०३२ सालसम्म अध्ययन गरें । २०३२ सालमा एसएलसी द्वितीय श्रेणीमा उत्तीर्ण गरेपछि स्थानीय र पश्चिम नेपालमा नाम चलेको त्रिभुवन बहुमुखी क्याम्पसमा उपलब्ध मानविकी र वाणिज्य संकाय मध्ये रूचिको संकाय वाणिज्य तर्फ प्रमाणपत्र तहमा प्रवेश परीक्षा दिई १० नम्बरमा नाम निकाली भर्ना भएँ । स्नातक तह उत्तीर्ण गरि २०३७ सालमा सो क्याम्पस छाडियो, स्नातकोत्तर (एमबीएस) तहको पढाइ धेरैपछि मात्र शुरू भएको हो त्यहाँ । स्नातकोत्तर तह अध्ययनको कथा संघर्षपूर्ण र रोचक छ ।

२०३८ सालमा कीर्तिपुरमा एमबीएसमा भर्ना भएकोमा घरको आर्थिक अवस्था भरको नभएको (खर्च पठाउन सक्ने आयस्ता नभएको) र स्थायी प्रकृतिको जागिर नपाएकोले मीनपचासको विदामा गएपछि पढाईमा फर्किइन र उतै बुटवल प्लाइऊड फ्याक्ट्रीमा जागिर खान थालियो । पछि २०४१ सालमा लोकसेवा आयोगको शाखा अधिकृत उत्तीर्ण गरि निजामती सेवामा प्रवेश गरेपछि वृत्ति विकासका लागि समेत कहिले शंकरदेव क्याम्पस, कहिले जनप्रशासन क्याम्पस भर्ना हुँदै दुई चार दिन कक्षामा पढ्न गई पछि २०४६ सालमा प्राइभेटरूपमा एमपीए द्वितीय श्रेणीमा उत्तीर्ण गरें । जागिरमा बढुवाका लागि स्नातक वा स्नातकोत्तर तह दुबैमा द्वितीय श्रेणी मात्र भई सम्भाजना कम भएकोले पूर्वाञ्चल विश्वविद्यालय आवद्ध ईन्स्टिटूट अभ ओपन लर्निङ्ग, बिजुलीबजार, काठमाडौंबाट एक वर्षे बी.एड. प्रथम श्रेणीमा पास गरें ।

घरपरिवार

हामल परिवारमा श्रीमती, छोरा प्रज्ञान, छोरी अनुष्का र गत मंसिर १६ गते विवाह गरि ल्याइएकी छोरी समान बुहारी बेञ्जू गरि जम्मा ५ जान छौं । मेरो मागी विवाह नै हो । युवावस्थामा कसैलाई प्रेम गरियो होला, कसैले प्रेम गरे होलान, एकतर्र्फी नै रह्यो, व्यक्त हुने, गर्ने मौका मिलेन ।

रुची

म सामान्य नेपाली खाना रूचाउँछु, जे पाए पनि खान्छु, रूच्छ । भात, रोटी, चिउरा, चाउचाउ, यो नपाए भागै बस्दिनँ भन्ने छैन । म मदिराको सन्दर्भमा सोसल ड्रिङ्कर हुँ, अभ्यस्त र दैनिक नभै नहुने छैन, साथीभाईसंग भेट हुँदा र पार्टी भोजमा अम्युजमेन्टको लागि पिउँछु । मलाई नवशास्त्रीय, लोकधून, आधुनिक, हिन्दी, उर्दू, नेवारी सबै प्रकारका गीत सङ्गीत मनपर्छ । खेलकुदको विषयमा कुरा गर्दा मलाई खेल्नमा नभै हेर्नमा रुचि छ । फूटबल, क्रिकेट, टेनिस, भलिबल आदि खेल हेर्न मन पर्छ । चलचित्रको चाहिँ म कीरो हुँ । विशेषगरी हिन्दी फिल्म हेर्ने सानैदेखि लागेको बानी हो । कोरोना महामारी र लकडाउन हुनु अघिसम्म काठमाडौंका डिजिटल सिनेमा हलमा खूब जान्थें (घरका र साथीहरूले खिज्याउने हदसम्म) । चितवनमा करीब ४ वर्ष बस्दा हलमा गएर सिनेमा नहेरेका धेरै साथी, सहकर्र्मीलाई धेरै वर्षपछि हलमा लिएर गएको छु । 

फुर्सत

फुर्सदको समय हाल यही फेसबुक, मेसेन्जर, किताब, पत्रपत्रिका अध्ययन, आएको फोनकल्समा सोधेका सहकारी जिज्ञासाको जवाफ दिएर बित्छ । लकडाउन अघि सहकारी तालिम, प्रशिक्षण, परामर्शमा व्यस्त थिएँ, पछि पनि रहनेछु । साहित्य अध्ययनमा रुचि छ, सृजना गर्न सकेको छैन, लेखन तर्फ व्यावसायिक फुटकर रचना मात्र छन । 

भाग्य

राशि मेरो वृष हो, त्यस्तै स्वभाव छ कि ? साँढेजस्तै, जोधाहा, हतपत्त नटेरीहाल्ने । भाग्यमा विश्वास त छ, तर कर्म नगरी त्यो प्राप्ती हुन्न भन्नेमा उत्तिकै विश्वस्त छु । जान्ने भएपछि आफैंले चिना हेराएको छैन, ज्योतिष विद्यामा राशिफल हेर्नसम्म रुचि छ । मृत्यु अवश्यम्भावी, अपरिहार्य छ, सहजरूपमा लिनुपर्छ । मृत्युसँग डराउने होईन र यो अकल्पनीय हुँदैहुँदैन तथा केही परिस्थितिमा मात्र असामयिक हुन्छ । 

आस्था

राजनीति जनता, देशका वासिन्दा र नागरिकको स्वतन्त्रता प्राप्ती, रक्षा र प्रवद्र्धनका लागि उपयोग हुनु र गरिनु पर्छ । कुनै पनि राजनैतिक दलसँग आवद्ध भएर काम गरिनँ । २०३६ सालमा बहुदल ल्याउने समितिमा संचारबाहकको रूपमा सेवा गरियो । विद्यार्र्थी हड्तालको उपलब्धिस्वरूप प्राप्त,  त्रिभुवन क्याम्पस, पाल्पाको पहिलो स्वतन्त्र विद्यार्र्थी युनियनमा स्वतन्त्र उम्मेदवारका हैसियतले अत्यधिक मत प्राप्त गरि सदस्य पदमा निर्वाचित भइयो । सेवाभावनाले अभिप्रेरित जनताको दुःख घटाउने, सुख बढाउने र प्रजातान्त्रिक कर्तव्य जगाउने तथा हक, अधिकार रक्षा गर्ने खालको कार्यक्रम लिएर आउने जुनसुकै राजनैतिक पार्टी मनपर्छ । 

अध्यात्म

अध्यात्ममा रुचि छ, तर कर्ममा आधारित धर्म अझ बढी रूचिकर लाग्छ । जोर्बा बुद्धको सिद्धान्त र व्यवहारबाट अभिभूत छु । हाल संसारका सबभन्दा बुद्धिमान र सबै प्रश्नको उत्तर भएका सदगुरूका विचार  र चिन्तनले  आकर्षित गर्छ । दैनिक जीवन, व्यवहारमा संलग्न रही जुनसुकै बखत परः तर्फ जान तैयार रहेर वैराग्यभाव राख्नुपर्छ भन्ने मान्यता राख्दछु । 

सहकारीसंग सम्बन्ध

सहकारी क्षेत्रमा प्रवेश सरकारी सेवाको सिलसिलामा सरूवाबाट भएको हो । जागिरे जीवनको १३ वर्ष भएपछि २०५२ साल चैत्रमा लोकसेवा आयोगमा कार्यरत छँदा कर्तव्यपालनको सिलसिलामा आयोगका पदाधिकारीवर्गसँग मतभेद भयो । आयोगकै अनुरोधमा सामान्य प्रशासन मन्त्रालयले कृषि मन्त्रालय वा अन्तर्गत (त्यतिबेला सहकारी यसै मन्त्रालयमा थियो) सरुवा ग¥यो, जसले तत्कालीन जिल्ला सहकारी कार्यालय, काठमाडौंको कार्यालय प्रमुखको रूपमा सहकारी अधिकृत पदमा सरूवा (पदस्थापन) ग¥यो । क्रियाशील र कार्यकारी पदमा कुनै पनि सहकारी संस्थामा म आवद्ध छैन । २०५२ सालदेखि २०७२ सालसम्म सहकारी प्रशासक भएर २० वर्ष सेवारत रहें । सो अवधिमा प्राप्त गरेको ज्ञान, सीप र अनुभवकै आधारमा हाल सहकारी परामर्शदाता र प्रशिक्षक, सहजकर्ताका रूपमा काम गरिरहेको छु । 

सहकारीकर्मीलाई सुझाव

सदस्य/बचतकर्ताले शेयर सदस्य बनेर मात्र कारोबार गर्नुपर्छ । बचत गर्न तथा ऋण प्राप्त गर्न मात्र सदस्य नबनि सहकारीका अन्य कारोबार र गतिविधिमा पनि सक्रिय सहभागी हुनुुपर्छ । संस्थाको प्रगति र क्रियाकलापमा चासो राखी साधारण सभामा भाग लिने, आफूमा योग्यता र समयानुसार आवश्यकता भएमा संचालक र लेखा समितिको पदमा उम्मेदवार हुने र निर्वाचित हुन खोज्नु पर्दछ । 

संचालक पदाधिकारीहरूले लहलहैमा लागेर आफू फँस्ने र अरूलाई फँसाउने नीयत नराखी इमान्दारीपूर्वक संस्था संचालन गरि नेतृत्व विकास पनि गर्दै जानुपर्छ । संस्थाको हिसाबकिताब पारदर्र्शी राख्ने र सदस्य वर्गलाई लोभी नभई व्यवसायिक बनाउनुपर्छ । संस्थालाई आफ्नो राजनीतिक आस्था र अभीष्टको माध्यम नबनाई समिति, सभाका बैठक र क्रियाकलाप सहभागितात्मक बनाउनुपर्छ । समय र खर्च लाग्छ भन्दैमा निर्वाचन हुन नदिइ अप्रजातान्त्रिक तौरतरीकालाई बढावा नदिने आदि ।

सहकारी कर्मचारीहरूले इमान्दार र लगनशील भई आफूलाई नियमानुसार तोकिएको काम गर्ने, आफूलाई चित्त नबुझेको र गर्न मन नलागेको काम नगर्ने र आफ्नो व्यक्तिगत क्षमता, योग्यता वृद्धि गर्ने कामलाई निरन्तरता दिनुपर्छ । साथै आफ्नो व्यक्तिगत विश्वासमा होईन, संस्था र संस्थाका पदाधिकारीहरूमा विश्वास गरि कारोबार गर्न सम्भावित सदस्यलाई भन्नुपर्छ । 

स्थानीय तहका पदाधिकारीहरूले प्रत्यक्ष राजनीतिक क्रियाकलाप गर्ने बाहेक सहकारीले स्थानीयस्तरमा आईपर्ने सबै सामाजिक, साँस्कृतिक, आर्थिक विकास निर्माण, मर्मत, सम्भार तथा व्यवस्थापनका क्रियाकलापहरू गर्न सक्दछन भन्ने कुरालाई मनन् गर्नुपर्छ ।