राष्ट्रिय सहकारी बैंकको अठारौं वार्षिक साधारण सभा पुस १६ गतेबाट

राष्ट्रिय सहकारी बैंकको अठारौं वार्षिक साधारण सभा पुस १६ गतेबाट
समाचार | 2021-12-29 Share

काठमाडौं । सहकारी अभियानको एक्लो बैंक राष्ट्रिय सहकारी बैंकले अठारौं वार्षिक साधारण सभा पुस १६ गते सुरु गरेर ३० गते सम्पन्न गर्नेभएको छ । 

आज एक प्रेस विज्ञप्ति जारी गरेर बैंकले पुस १६ गते देखि २८ गते सम्म एकाई सभा र पुस ३० गते एकाई सभाबाट छनौट भएका प्रतिनिधिहरुको निर्णय प्रमाणीकरण सभा आयोजना गर्ने जनाएको हो ।

कोरोना भाईरस (कोभिड–१९) महामारी र ओमिक्रोन भेरियन्टको सन्त्रास विद्यमान रहेको भएपनि सहकारीको मूल्य, मान्यता र सिद्धान्त कायम राख्नका लागि सदस्य संघ/संस्थाका प्रतिनिधिहरुको भौतिक उपस्थितिमा साधारण सभा गर्नलागेको जनाएको छ । 

बैंकले वार्षिक प्रतिवेदनको विद्युतीय प्रति (सफ्ट कपी) बैंकको वेबसाईट तथा आधिकारिक सामाजिक सञ्जालबाट डाउनलोड गर्नसक्ने वा क्यूआर कोड स्क्यान गरेर पनि पढ्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । 

सहकारी विभागमा २०६० सालमा दर्ता भएको बैंकले नेपाल राष्ट्र बैंकबाट ईजाजत लिएर २०६७ साल साउन १० गतेबाट सीमित बैंकिङ्ग कारोबार सुरुवात गरेको हो ।

बैंकले मुलुकका विभिन्न स्थानमा ६८ वटा शाखा कार्यालय संचालन गरेर १४ हजार भन्दा बढी सदस्य संघ/संस्थालाई बैंकिङ्ग सेवा प्रवाह गर्दैआएको छ । यी संघ/संस्थामार्फत ४० लाख भन्दा बढी मानिसलाई प्रत्यक्ष÷परोक्षरुपमा सेवा प्रदान गरिरहेको बैंकले दावी गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ सम्ममा बैंकको शेयर पुँजी २ अर्ब ८७ करोड रुपैयाँ, निक्षेप संकलन ६६ अर्ब ३४ करोड रुपैयाँ र कर्जा लगानी ३५ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । बैंकको कूल कारोबार ७१ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।