नीलगंगा साकोसले शेयर पुँजी दुई करोड पुर्‍याउने

नीलगंगा साकोसले शेयर पुँजी दुई करोड पुर्‍याउने
समाचार | 2021-12-30 Share

काठमाडौं । नयाँबजारमा कार्यालय रहेको नीलगंगा बचत तथा ऋण सहकारी संस्थाले शेयर पुँजी वृद्धि गरेर दुई करोड रुपैयाँ पुर्‍याउने भएको छ । 

संस्थाले पुस १० गते सम्पन्न चौधौं वार्षिक साधारण सभाबाट आगामी आर्थिक वर्ष (आ.व.) २०८९/०८० भित्रमा शेयर पुँजी वृद्धिको लक्ष्य हासिल गर्ने योजना बनाएको हो ।

गत असार मसान्तमा १ करोड ५८ लाख ४५ हजार रुपैयाँ कायम भएको शेयर पुँजी चालु आ.व.मा १ करोड ८० लाख रुपैयाँ र आगामी आ.व.को अन्त्यमा २ करोड रुपैयाँ पु¥याउने लक्ष्य तय गरेको हो ।

संस्थाका अध्यक्ष सुरेश शर्मा ढकालको सभापतित्वमा सम्पन्न भएको समारोहमा सहकारी हकहित राष्ट्रिय समाजका उपाध्यक्ष गोविन्द गिरी प्रमुख अतिथि रहनुभएको थियो । राष्ट्रिय सहकारी बैंक, नयाँबजार शाखा प्रमुख लोकेन्द्र कार्की विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा विभिन्न संघ/संस्थाका प्रतिनिधि अतिथिमा आमन्त्रित हुनुहुन्थ्यो ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले सहकारी संस्था सदस्यहरुको लोकतान्त्रिक नियन्त्रणमा संचालित हुने भएकाले सहकारीका सदस्य बैंक वित्तीय संस्थामा जस्तो ग्राहक नभई मालिक भएको बताउनुभयो ।

सदस्यको अपनत्वमा संचालित सहकारी संस्थामा वित्तीय पारदर्शिता कायम हुने उल्लेख गर्दै प्रमुख अतिथि गिरीले सदस्यलाई आफ्नो संस्थाका गतिविधिप्रति चासो राख्न सुझाव दिनुभयो ।

साधारण सभामा अध्यक्ष शर्माले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन तथा भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । 
संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष अमृत जि.सी.ले गत आ.व.मा संस्थाको निक्षेप संकलन ४ करोड ५१ लाख ४१ हजार रुपैयाँ र कर्जा लगानी ५ करोड ६१ लाख ८८ हजार रुपैयाँ कायमा भएको बताउनुभयो । 

संस्थाले गत आ.व.को कारोबारबाट ५ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । 

संस्थाले साधारण सभाको अवसर पारेर एक–एक जना उत्कृष्ट बचतकर्ता, असल ऋणी, मुद्दति निक्षेपकर्ता र अनिवार्य बचतकर्तालाई जनही नगद २ हजार रुपैयाँ सहित सम्मान गरेको छ । शेयर सदस्यका छोराछोरीमध्येबाट उत्कृष्ट अंक ल्याएर एसईई परीक्षा उत्तीर्ण हुने एक छात्र र एक छात्रालाई जनही १ हजार नगद पुरस्कार प्रदान गरेको छ । 

उत्कृष्ट दुई जना कर्मचारीलाई नगद ४ हजार १ रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ । साथै ज्येष्ठ सदस्य र विद्यावारिधी उपाधी प्राप्त गर्ने व्यक्तित्वलाई पनि सम्मान गरेको छ ।