मुलुक विकासमा सहकारीको योगदान महत्वपूर्ण: गृहमन्त्री खाँण

मुलुक विकासमा सहकारीको योगदान महत्वपूर्ण: गृहमन्त्री खाँण
समाचार | 2022-01-10 Share

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको विकासमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

पुस २४ गते काठमाडौंमा आयोजित सक्षम बचत तथा ऋण सहकारीको १५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री खाँणले छरिएर रहेको स-सानो पुँजीलाई संकलन गर्दै विपन्न परिवारको आर्थिक अवस्था मजबुद बनाउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको हो ।

संस्थाका अध्यक्ष सोनाम छोटी शेर्पाको सभापतित्वमा भएको साधारण सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा, संस्थाका सल्लाहकार, वरिष्ठ पत्रकार एवं मानव अधिकारकर्मी पुरुषोत्तम दाहाल, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीलगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारण सभाको अवसर पारेर संस्थाले ५ जना ज्येष्ठ नागरिकलाई नगद ५ हजार रुपैया सहित दोसल्ला ओढाएर सम्मान, उच्च माध्यमिक तह उत्तीर्ण ४ जना विधार्थीलाई नगद ५ हजार १ सय सहित सम्मानपत्र र एस.ई.ई. उत्तीर्ण ५ जना विधार्थीलाई नगद ५ हजार सहित सम्मानपत्र प्रदान गरेको छ । संस्थाले असल ऋणी २ जनालाई ४ हजार रुपैया नगद सहित प्रमाणपत्र र १ जना उत्कृष्ट कर्मचारीलाई ३ हजार नगद सहित सम्मानपत्रबाट सम्मान गरेको छ ।

संस्थाका सेयर सदस्य बामदेव अधिकारी नेपाल सरकारको सचिवमा पदोन्नति भएकोमा उहाँलाई समेत दोसल्ला ओडाई सम्मान गरिएको थियो ।

बूढानीलकण्ठ वडा नं.१२ कपन फैकामा मुख्य कार्यालय रहेको सहकारी संस्थाले बार्षिक साधारण सभाको अवसरमा प्रबन्ध सञ्चालक कृष्णप्रसाद खनालले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट, लेखा समिति संयोजक देवीप्रसाद दाहालले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन र अध्यक्ष सोनाम छोटी शेर्पाले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन सभाले पास गरेको थियो ।

संस्थाका निःवर्तमान प्रबन्ध सञ्चालक चित्रकुमार दाहालले सञ्चालन गरेको कार्यक्रममा  स्वागत मन्तव्य संस्थाका सञ्चालक होमनाथ दाहालले गर्नुभएको थियो ।