बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको साधारण सभा पुस २९ गते हुने  !

बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको साधारण सभा पुस २९ गते हुने  !
समाचार | 2022-01-12 Share

काठमाडौं । विवादित बनेको नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको नवौं वार्षिक साधारण सभा पूर्वनिर्धारित मितिमै हुनेभएको छ । 

संघका उपाध्यक्ष नारायणभक्त श्रेष्ठ र सचिव माधव तिमिल्सिनाले आज एक विज्ञप्ति प्रकाशित गरेर संघको वार्षिक साधारण सभा पुस २९ गते पुल्चोक स्थित राष्ट्रिय सहकारी विकास बोर्डको सभाहलमा गर्ने जनाएका हुन् ।

संघका अध्यक्ष सुरेन्द्र भण्डारी र सचिव तिमल्सिनाबीच नयाँ सदस्यता प्रदान गर्ने विषयमा चर्किएको विवादका कारण संघको हिमालयन होटलमा पुस २९ गतेका लागि तय भएको साधारण सभा हुने वा नहुने भन्ने विषयमा अन्योल सिर्जना भएको थियो ।

पुस १९ गते साधारण सभाको तयारी गर्न बसेको संचालक समितिको बैठकमा अध्यक्ष भण्डारीले २८ वटा नयाँ संस्थालाई सदस्यता दिन प्रस्ताव राखेपछि विवाद उत्पन्न भएको हो । सचिव तिमल्सिना पक्षले साधारण सभाको मिति तय भईसकेकाले नयाँ सदस्यता वितरण गर्न नहुने अडान राखेपछि विवाद चर्किएको थियो ।

विवादपछि अध्यक्ष भण्डारी साधारण सभाको मिति सार्ने अभियानमा लागेका छन् भने तिमल्सिना पक्ष पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न जुटेका छन् । 

सदस्यताको विषयमा उत्पन्न भएको विवाद संघीय सहकारी विभाग सम्म पुगेको छ । सचिव तिमल्सिना पक्षले विवाद उत्पन्न भएको भोलिपल्ट पुस २० गते तोकिएको मितिमै साधारण सभा गर्ने वातावरण बनाईदिन माग गर्दै विभागमा निवेदन हालेका थिए । 

उनीहरुको निवेदनलाई सम्बोधन गर्दै विभागले पुस २४ गते एक पत्र काटेर पुस १३ गते सम्म कायम रहेका सदस्यलाई मतदाता कायम राखेर तोकिएको मितिमा साधारण सभा गर्न संघलाई निर्देशन दिएको थियो ।

संघका सचिव तिमल्सिनाले पुस २९ गते वार्षिक साधारण सभा हुने बताएपनि पुस २७ गते विभिन्न मिडियामा संघको नवौ वार्षिक साधारण सभा स्थागित भएको सूचना प्रकाशित भएको छ । संघको फेसबुक पेजमा समेत अध्यक्ष भण्डारीको हस्ताक्षर रहेको साधारण सभा स्थगित भएको सूचाना पोष्ट भएको छ ।

तिमल्सिना पक्षको विज्ञप्ति

अध्यक्ष भण्डारीको हस्ताक्षर रहेको सूचना