अभियानले जारी गरेको संयुक्त अपिलबारे हामीलाई जानकारी छैनः भक्तपुर बचत संघ

अभियानले जारी गरेको संयुक्त अपिलबारे हामीलाई जानकारी छैनः भक्तपुर बचत संघ
समाचार | 2022-08-09 Share

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले सहकारी अभियानले साउन २२ गते जारी गरेको संयुक्त अपिलबारे अनभिज्ञता प्रकट गरेको छ ।

हिजो एक अपिल जारी गरेर संघले सहकारी अभियानमा अन्य संघहरुसंगै रहेको भएपनि संयुक्त अपिलबारे संघलाई कुनै जानकारी नभएको जनाएको हो ।

संयुक्त अपिलमा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका जिल्ला तथा विषयगत संघहरु सम्मिलित सहकारी सहजीकरण संयन्त्रको निर्णय अनुसार अपिल जारी गरिएको उल्लेख गरिएको छ ।

संयुक्त अपिलमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको ‘संलग्नता नदेखिएबारे भ्रम सिर्जना हुनसक्ने’ भएको उल्लेख गर्दै संघले अपिलबारे अनभिज्ञता प्रकट गरेको हो ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले हस्ताक्षर गर्नुभएको अपिलमा सहकारीको मूल्य, मान्यता र सिद्धान्त विपरित निजी स्वार्थ पूर्तिका लागि सदस्यको बचत दुरुपयोग गर्ने संचालकहरुलाई कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ । 

संघको अपिलमा उल्लेख छ, ‘वर्तमान वित्तीय बजारमा देखा परेको तरलता अभावलाई ध्यानमा राखी समुदायमा आधारित सहकारी संस्थाहरुले वित्तीय अनुशासनका मापदण्डहरु पूर्णरुपमा पालना गगरी कारोबार गर्नुहुन यस संघ अनुरोध गर्दछ ।’