‘धेरै फल फलेको रुखले झटारो पनि बढी खानुपर्ने रहेछ’

‘धेरै फल फलेको रुखले झटारो पनि बढी खानुपर्ने रहेछ’
सहकारी व्यक्तित्व | 2023-07-18 Share

दोलखाको भिमेश्वर नगरपालिकामा वि.सं. २०३० साल चैत्र ६ गते जन्मनुभएका नारायण बहादुर श्रेष्ठ भिमेश्वर नगरपालिका–६, चरिकोट, दोलखामा रहेका मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । सहकारी क्षेत्रमा प्रवेश गर्नुअघि देखि निजी ब्यवसायमा संलग्न उहाँ सहकारीमार्फत सामूहिक एवं ब्यक्तिगत ब्यवसायलाई थप प्रवद्र्धन गर्न सकिने सम्भावना रहेकाले यस क्षेत्रमा लागेको बताउनुहुन्छ । सहकारी संस्था संचालन गर्ने क्रममा विभिन्न समस्या उत्पन्न भएपनि तिनलाई सफलतातर्फ लम्किनका लागि सिँढीकोरुपमा प्रयोग गर्नुपर्ने उहाँको अनुभव छ । प्रस्तुत छ अध्यक्ष श्रेष्ठसंग यस स्तम्भका लागि गरिएको कुराकानीको सम्पादित सारः

बाल्यकाल

मेरो जन्म बागमती प्रदेश दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. २ मा २०३० साल चैत्र ६ गते बाबु कृष्ण बहादुर र आमा रत्न कुमारीको कोखबाट भएको हो । म सानो हुँदा परिवारमा आमा, बुबा, दुई जना दाई र एक बहिनी थियौं । बिहान बेलुका दाउरा, घाँस, खेती, किसानी तथा दिउँसो स्कूलमा अध्ययन गर्दै मेरो वाल्यकाल बित्यो ।

वाल्यकालमा छरछिमेकका साथी सङ्गी थिए र उनिहरुकै संगतमा थिएँ । म कक्षा तीन मा अध्ययन गर्दै थिएँ । त्यस बेला बारी खन्ने क्रममा सेतो बस्तु भेटियो । त्यसलाई बनतरुल भनेर खाएको त बाँको परेछ । मलाई यो घटना सधैं याद आईरहन्छ । 

शिक्षा

मेरो औपचारिक शिक्षा भीमेश्वर नगरपालिकामा अवस्थित राजकुलेश्वर प्राथमिक विद्यालय, दोलखाबाट प्रारम्भ भएको हो । बिद्यालयमा अध्ययनरत रहँदा दिउँसो बिद्यालय जाने, बिहान बेलुका घाँस दाउरा र बेलुका अध्ययन गरेर समय बित्ने गर्दथ्यो । मैले काठमाडांै क्याम्पस ताहाचलबाट कानून संकाय अन्तर्गत प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेँ ।

परिवार

अहिले मेरो परिवारमा बुबा, आमा, श्रीमति, एक छोरा र एक छोरी हुनुहुन्छ । मेरो मागी बिबाह भएको हो । योवनमा प्रेम बसेको थियो तर उक्त प्रेम सफल भएन ।

रुची

मलाई खानपानमा दाल भात तरकारी र ढिँडो मनपर्छ । विगतमा साथीभाईसंग अवसरमा मदिरा सेवन गर्दथेँ । तर विगत ८ बर्ष देखि मैले मापसे गर्न छाडेको छु । मलाई ‘स्याड सङ्ग’ सुन्न मनपर्छ । खेलकुदमा फूटबल मनपर्छ । शिक्षामूलक चलचित्र हेर्न रुचाउँछु । म ऐतिहासिक पुस्तकहरु पढ्न रुचाउँछु  । मैले सहकारीको बिषयमा समेत कलम चलाएको छु ।

घुमफिर

म स्वदेशमा प्राय धेरै जिल्लाहरु घुमेको छु । बिदेशको हकमा भारत, चिन, थाईल्याण्ड, अष्ट्रेलिया, फिलिपिन्स्, श्रीलंका, माल्दिभ्स्, मलेशिया, ईण्डोनेसिया, बंगलादेश र सिंगापुर घुमेको छु ।

भाग्य

मेरो राशी मकर हो । म भाग्यमा केही बिश्वास गर्दछु तर लगनशीलताको निरन्तरता हुनुपर्दछ भन्ने लाग्छ । चिना हेराउने गरेको छु । मैले मृत्युलाई स्वभाविक प्रक्रियाकोरुपमा लिएको छु । अध्ययनलाई निरन्तरता दिन नसक्नु मेरो ठूलो भूल हो भन्ने लागेको छ । जीवनमा सपना देखिन्छ । तर धेरै ठूलो सपना देखेको छैन ।

आस्था

राजनीतिलाई देश बिकासको मार्गनिर्देशकको रुपमा लिएको थिएँ । तर हाम्रो देशमा फोहोरी खेलको रुपमा प्रमाणित हुन लागको आभाष भएको छ । म राजनैतिक दलमा आवद्ध छैन । जुन कुरा दर्शनले बोल्छ त्यो कुरा ब्यवहारमा बोलियो भने मलाई आकर्षित गर्छ ।

आध्यात्म

आध्यात्मलाई साहाराको रुपमा लिने गरेको छु ।

सहकारी यात्रा

मैले २०५५ सालमा दोलखा जिल्लाको सदरमुकाम चरिकोट बजारमा ब्यवसाय सञ्चालन गरिरहेको थिएँ । त्यसबेला सहकारीको माध्यामबाट सामूहिक एवं बयक्तिगतरुपा ब्यवसाय गर्दा आर्थिक उन्नयन हुने महसुस गरेर म सहकारीमा लागेको हुँ । म  सहकारी संस्थाको साधारण सदस्य हुँदै अभियानमा प्रवेश गरेको हुँ । सहकारी क्षेत्रमा लाग्छु भन्दा परिवारबाट सकारात्मक सहयोग प्राप्त गरेँ । सहकारीमा लागेर घरपरिवार सञ्चालन गर्न सक्नेगरी व्यवसायिक हुन सम्भव छ । यसलाई ब्यवस्थापन गर्नुपर्दछ ।

पहिला केही बर्ष निजी क्षेत्रको संघ/संस्थामा आवद्ध थिएँ । त्यो भन्दा सहकारी क्षेत्रमा लाग्दाखेरी आफ्नो क्षमता अभिबृद्धि देखि ब्यवसाय प्रवद्र्धन गर्न सकिन्छ भनेर यो क्षेत्रमा लागियो । सहकारी क्षेत्रमा लाग्नु भन्दा पहिला पनि ब्यवसाय गर्थँे र हाल पनि ब्यवसाय गरिरहेको छु ।

आवद्ध सहकारी

म आवद्ध भएको संस्था २०५० साल भाद्र ७ गते २५ जना शेयर सदस्यबाट ५ हजार ६ रुपैयाँ रकम संकलन गरेर स्थापना भएको हो । यो सहकारी समुदायमा आधारित भई सञ्चालित संस्था हो । हाल संस्थामा शेयर सदस्य र बाल बचतकर्ता सहित ३५ हजार बचतकर्ताहरु हुनुहुन्छ । कुल वासलात १ अर्ब २८ करोडको हाराहारीमा छ । नेफ्स्कूनले सञ्चालन गरेको एक्सेस कार्यक्रममा आवद्ध हाम्रो संस्था एक्सेसका ८६ वटा र सियुलेगका १२० वटा सूचकांकहरुलाई आधार मानी सहकारी सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसात गर्दै अगाडि बढिरहेको छ ।

संस्थाको आर्थिक अवस्था

संस्थाको शेयर पूँजी ९ करोडको हाराहारीमा छ । निक्षेप जम्मा वासलतालको ७० देखि ८० प्रतिशतको बीचमा छ । कर्जा लगानी गर्दा उत्पादनूलक क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । सहकारी बिभागले निर्दिष्ट गरेको सदस्यता केन्द्रीयता सूचकांकहरुलाई ख्याल गर्दै धेरै शेयर सदस्यहरुले संस्थाको ऋण उत्पादनलाई प्रयोग गर्नु पर्दछ भन्ने मान्यतालाई अँगालीएको छ । हाम्रो संस्था एक्सेस, सियूलेग कार्यक्रमलाई आत्मसाथ गर्दै पल्र्स मोनिटरिङ्ग प्रणालीलाई अवलम्बन गर्दै अगाडि बढिरहेको छ । कुल शेयर सदस्यको ५४ प्रतिशत महिला शेयर सदस्य हुनुुहुन्छ भने ४६ प्रतिशत पुरुष शेयर सदस्य हुनुहुन्छ ।

भावी योजना

हाल हाम्रो देशमा आर्थिक मन्दीले केही प्रभाव पारेको छ । यस अवस्थालाई अध्येनजर गर्दै संस्थाका योजना तथा कार्यक्रमहरु ब्यवस्थापन गर्ने लक्ष्य रहेको छ । यस अवस्थामा आवद्ध शेयर सदस्यहरुलाई आत्मबल बृद्धि गर्नेखालको उत्प्रेरणाको आवश्यकतालाई प्राथमिकतामा राखिएको छ । संस्थाले आ.ब. २०८०/०८१ मा सदस्य सँग मिलिजुली कालिञ्चोक कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । संस्थाले आगामी दिनमा संस्थालाई पेपरलेस बनाउनको लागि ४ डि मध्येको डिजिटाईजेसनको फेजमा कार्य गरिरहेको छ । 

आवद्ध शेयर सदस्यहरुलाई प्रविधिमैत्री बनाउनु पर्दछ भन्ने मान्यताका साथ भौतिक तथा अभौतिक माध्यामबाट शेयर सदस्यहरुलाई प्रविधिमा घुलमील बनाउने योजना लिएको छ । संस्थामा आवद्ध शेयर सदस्य तथा बालबचतकर्ता हरुलाई प्रविधिको साथै कानूनी, स्वास्थ्य, बित्तिय र भावि दैवी प्रकोप सम्बन्धि अवारनेस कार्यक्रम प्रदान गर्नुपर्दछ भनेर सो कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ । साथै संस्थाले आफ्नो भवन निर्माण कार्यको अन्तिम चरणमा पुगेको हुनाले निकट भविश्यमा आफ्नै भवनबाट सेवा दिने योजना बनाएको छ ।

सहकारी अनुभव

सहकारी संस्था भनेको अवद्ध शेयर सदस्यहरुको हितको लागि खोलीएको संस्था हो । यस संस्थामा आवद्ध शेयर सदस्यहरुले समानता र सकेसम्म समताको आधारमा सेवा पाउँनु पर्दछ । यसरी सेवा प्रवाह गर्ने क्रममा केही न केही समस्या त आउछन् नै यस्ता समस्याहरुलाई सफलताको भ¥याङ बनाउने प्रयास गरीएको छ । संस्था सञ्चालनको क्रममा आएका समस्याहरु समाधान गर्दा बाज र कागको कथा लाई याद गर्दै निरन्तर रुपमा सदस्य सेवामा समर्पित हुन पर्दछ भन्ने लाग्दछ ।

सहकारी संस्था आवद्ध शेयर सदस्यहरुलाई समान हिसावमा सेवा दिनु पर्ने संस्था भएकोले स्तरीकरण कार्यक्रमका सूचकहरुले निर्दिष्ट गरेको मार्गदर्शन बमोजिम अगाडि बढाउनु पर्दछ । सहकारी सिद्धान्त मूल्य मान्यतालाई आत्मसात गर्दै यस अनुसार संस्था सञ्चालित छ वा छैन भनेर मासिक निरीक्षण गर्दै सञ्चालन गर्नुपर्दछ ।

यसरी सञ्चालन गरेपछि आएका बाधा ब्यवधानहरु सबै शेयर सदस्यहरु मिलेर समाधान हुँदोरहेछ भन्ने लाग्दछ । धेरै फल फलेको रुखले झटारो पनि बढी खानुर्छ भन्ने अनुभव लिएका छौं । यसलाई संयमतापूर्वक ब्यवस्थापन गर्दै अगाडि बढ्नु पर्दछ भन्ने अनुभव शेयर गर्न चाहान्छु ।

सल्लाह सुझाव

नीति विधिमा उल्लेखित भए बमोजिम सुशासन र बोलेको कुरालाई ब्यबहारमा प्रयोग  गर्दै अघि बढ्दा सहकारी क्षेत्र उपयूक्त हुन्छ भन्ने सल्लाह दिन चाहन्छु ।