सहारा नेपाल साकोसः एक चिनारी

सहारा नेपाल साकोसः एक चिनारी
संस्था परिचय | 2023-07-21 Share

परिचय

नेपालकै सबैभन्दा पूर्वि जिल्ला झापाको मध्य भागमा रहका तत्कालिन चारपाने, अर्जुनधारा र घैलाडुब्बा गरी ३ ग्रामीण गा.बि.स.हरुलाई आफ्नो कार्य क्षेत्र बनाई संस्था स्थापना भएको हो । बिर्तामोड नगरपालिका वडा नं. २, चारपानेमा बि.सं. २०५२ फाल्गुन ११ गते बसेको प्रारम्भिक भेलाले संस्थाको नाम ‘सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ राख्ने निर्णय गरेको थियो ।

बि.सं. २०५२ चैत्र २१ गते ३३ जना व्यक्तिबाट ३४ हजार रुपैयाँ शेयर पूँजी संकलन गरेर जिल्ला सहकारी कार्यालय भद्रपुर झापामा संस्था दर्ता भएको हो ।  सहकारी मूल्य र मान्यताको अबलम्बन गर्दै यस क्षेत्रमा छरिएर रहेको स–सानो पूँजी संकलन गरी आयमूलक, सीपमूलक तथा रोजगारीको सृजना गर्ने व्यवसायमा संकलित पूँजीको परिचालन गरी गरीब, बिपन्न तथा पिछडिएका वर्गको उत्थान गर्ने मुख्य उद्देश्य लिई विधिवतरूपमा  संचालनमा आएको हो ।

कार्यक्षेत्र

संस्था स्थापना तथा विकासक्रमसंगै इतिहासबाट पाठ सिक्दै आएका चुनौतिहरुलाई अवसरकोरुपमा प्रयोग गर्दै संस्था स्थापनाको ६ वर्ष पनि पुग्दा नपुग्दै यस क्षेत्रको कहालिलाग्दो गरिबीसंग जुध्न बि.सं. २०५८ साल भाद्र १४ गतेबाट गरिबी निवारण कार्यक्रमको शुरुवात ग¥यो । बि.सं. २०५५ सालमा नै यसले झापा जिल्लाभरिको कार्यक्षेत्रको स्वीकृति पाउन सफल भयो ।

जसले गर्दा गरिबीका रेखामुनी रहेका खासगरी ग्रामीण भेगका विपन्न, महिला, दलित, आदिवासी, जनजाती तथा पीछडिएका वर्गहरुलाई संस्थाको सदस्यता प्रदान गरी उनिहरुको जिवन स्तरमा सुधार ल्याउने उद्देश्यले अभियानकोरुपमा सदस्यता बृद्धि गरियो ।

यसैगरी समयको बिकाशक्रमसंगै यस संस्थाको कार्य प्रभावकारीता, संस्थाको बस्तु तथा सेवामा सदस्यको आकर्षण तथा सदस्य तथा समुदायको मन जित्ने खालका सामाजिक सुरक्षाका कार्यक्रमले गर्दा यस संस्थाले आफ्नो कार्यक्षेत्र क्रमशः बृद्धि गर्दै हाल ६ जिल्ला (झापा, मोरङ्ग, सुनसरी, उदयपुर, इलाम र पाँचथर) को सम्पूर्ण ७० वटा स्थानीय तह र थप ५ जिल्ला (ताप्लेजुङ्ग, तेह्रथुम, धनकुटा, खोटाङ्ग र ओखलढुंगा) को १० स्थानीय तहमा गरी कुल ११ जिल्लाको ८० वटा स्थानीय तहमा रहेको छ ।

वित्तीय अवस्था

२०८० जेष्ठ मसान्तसम्म यो संस्थाले ५ सय ६ जना कर्मचारीबाट ८० वटा सेवा केन्द्रहरुमार्फत १ लाख ५८ हजार ८ सय ३९ जना सदस्यहरुलाई वित्तिय तथा गैह्र वित्तिय सेवा प्रदान गर्दै आईरहेको छ । यस संस्थाको ०८० आषाढमसान्तका मुख्य–मुख्य वित्तिय सूचक अन्तरगत सेयर पूँजी रु. १ अर्ब ६३ करोड, बचत रकम रु.  १० अर्ब ९० करोड, लगानी ११ अर्ब ५० करोड, जगेडा कोष १ अर्ब ११ करोड र वासलात १५ अर्ब ४५ करोड रहेको छ ।

डिजिटल सेवा

त्यसैगरी समयसापेक्षरुपमा आधुनिक प्रविधिमार्फत सदस्यलाई सेवा प्रदान गर्नको लागि मोबाईल बैकिङ्ग, एस.एम.स. सेवा, ए.बी.बी.एस सेवा, ट्याबलेट बैकिङ्ग, ए.टी.एम. सेवा, क्यास डिपोजिट मेसिन, क्यू.आर.कोड सेवा जस्ता सुविधाहरु सदस्यमाझ पु¥याईएको छ भने सफ्टवएरमार्फत रियल टाईम सेवा उपलब्ध गराईएको छ । त्यसैगरी वेबसाईड, वेब मेल, सुझाब पेटिका तथा सुझाब पुस्तिकामा सदस्यको पहुँच पु¥याईएको छ ।

सदस्य सेवा

हाल यस संस्थाले  बचत तथा ऋण सेवा, ग्रामीण लघु कर्जा बीमा सेवा, सावधिक जीवन बीमा, विप्रेषण सेवा, न्यून  लागत घर निर्माण अभियान, बातावरण संरक्षणका लागि सोलार, बायोग्यास तथा सुधारिएको चुल्हो निर्माण सेवा, सदस्यहरुलाई नियमित सीपमूलक तथा आयमूलक तालिम, कर्जा सुरक्षण तथा सदस्य सुविधा कार्यक्रम, सदस्यहरुका  लागि जीवन बरदान कार्यक्रम, सहारा सहकारी सन्देश रेडियो कार्यक्रम, पशु बीमा लगायतका सेवाहरु संचालन गर्दै आएको छ  ।

उद्यमशिलता विकास अन्तरगत यस संस्थाले सदस्य तथा संस्थाको संयुक्त लगानीमा सहारा सतासी महिला मह उद्योग संचालनमा लयाई मौरी पालन , मह उत्पादन, प्रशोधन तथा बिक्री बितरण गर्दै आईरहेको छ भने कृषि तथा पशुपालनलाई लाई व्यवसायिक बनाउनको लागि १ जना पशु डाक्टर सहितका ८ जना कृषि प्रविधिकहरु द्वारा व्यवसायिक पशुपालन, तरकारी खेती, टनेल खेती लगायतका सदस्यले गर्ने सम्पूर्ण कृषि कार्यहरुमा प्राविधिक सहयोग उपलब्ध गराउँदै आईरहेको छ ।

त्यसैगरी आवास बिहिनहरुको लागि तथा भईरहेको बिपन्न सदस्यको आवास सुधारको लागि स्थानीय तह तथा विभिन्न संस्था संगको सहकार्य गरी निःशुलक तथा न्युत लागत घर निर्माणमा पनि कार्य गर्दै आईरहेकोछ । संस्थाले सदस्य तथा समुदायका बाल–बालिकाहरुलाई गुणस्तरीय तथा सर्भसुलभ शिक्षा उपलब्ध गराउनको लागि सहारा शिक्षा सदनको स्थपना गरी यस शैक्षिक सत्रमा मन्टेश्वरी देखि कक्षा ५ सम्मको विद्यालय  संचालन गर्दै आईरहेको छ ।

सामाजिक उत्तरदायित्व

यसैगरी संस्थाले  विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ । संस्थाले  सामाजिक उत्तरदायित्व अन्तर्गत  रक्तदान कार्यक्रम, बृहत योग शिविर, आखाँ शिविर, ज्येष्ठ नागरिक चौतारीहरुको निर्माण, विद्यालय शैक्षिक सामाग्री वितरण तथा सरसफाई कार्यक्रम, सार्बजानिक स्थल शुद्ध तथा स्वच्छ खाने पानीको लागि फिल्टर सहितको खानेपानी ट्यांकी निर्माण, बृक्षारोपण, बृद्ध–बृद्धा सम्मान, बाढी, पहिरो तथा आगलागी जस्तो प्राकृतिक विपदमा आपतकालिन राहत बितरण लगायतका  कार्यहरु गर्दै आईरहेको छ ।

आवद्धता

बि.सं. ०५३/०२/०१ गते देखि नेफ्स्कून, ०६६/१२/०२ देखि जिल्ला सहकारी संघ झापा, २०६७/१२/१६ गतेदेखि राष्ट्रिय सहकारी बैंक काठमाण्डौं र ०६९ सालदेखि सि.एम.एफ.नेपालमा संस्थाको  आवद्धता रहँदै आएको छ भने बि.सं. ०७० सालमा नेपाल रेडक्रस सोसाईटीबाट एस्कर सदस्यता प्राप्त गर्न सफल भएको छ । हाल यस संस्थाको साझेदार संस्थाकोरुपमा आर.एम.डि.सी., ए.ई.पि.सी., राष्ट्रिय सहकारी बैंक, नेपाल एस.बि.आई बैंक लि., कुमारी बैंक लि., प्रभु बैंक लि., सेन्चुरी बैंक लि., नबिल बैंक लि., बैंक अफ काठमाण्डौं लि., फष्ट माईक्रो फाईनान्स विकास बैंक लि. आदि रहेका छन्  । संस्थाले  पूर्वाञ्चल विकास क्षेत्रबाट तेस्रो ब्याच देखि ACCESS BRAND मा सहभागिता जनाउँदै आईरहेको छ ।

उपलब्धि

हालसम्म संस्थाले राष्ट्रिय सहकारी संघबाट उत्कृष्ट सहकारी व्यवसायी पुरस्कार – २०६०, आर.एम.डि.सी. (Rural Microfinance Development Center) बाट उत्कृष्ट लघुवित्त साझेदारी पुरस्कार २०६४, उत्कृष्ट लघुवित्त साझेदारी पुरस्कार २०६५ गरी दुई पटक, बि.एस.पि. नेपालको तर्फबाट  गणतन्त्र नेपालका पहिलो राष्ट्रपतिबाट अधिक बायोग्यास प्लान्ट निर्माण पुरस्कार – २०६६ साथै एसियाली ऋण महासंघ (ACCU) बाट CUMI Performance Award – 2012, साथै  विश्व स्तरिय मान्यता प्राप्त Smart Campaign बाट सन् २०२१ मा सदस्य संरक्षणमा  Smart Certificate   अवार्ड पाउन सफल संस्था भएको छ ।