आन्दोलनमा जलेको अभिलेख अद्यावधिक गर्न सहकारीसंग विवरण माग्दै मन्त्रालय

काठमाडौं । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले जेन जी आन्दोलनको क्रममा जलेको अभिलेख अद्यावधिक गर्न मातहतका सहकारी संघ संस्थाहरुसंग विवरण मागेको छ ।
मन्त्रालयले असोज २२ गते एक सूचना जारी गरेर आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सहकारीको अभिलेख नष्ट उल्लेख गर्दै पुनः संग्रह गर्नका लागि नियमन क्षेत्राधिकार भित्रका सहकारी संघ संस्थाहरुलाई विवरण पठाउन आग्रह गरेको हो ।
सहकारी तथा गरिबी निवारण महाशाखाले मातहतका सहकारीलाई आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिलि भौतिकरुपमा महाशाखामा पठाउन सूचित गरेको छ ।
सहकारी संघ संस्थाहरुलाई आर्थिक वर्ष २०८१/८२को वार्षिक साधारण सभाको उपस्थिति विवरण तथा निर्णयको प्रतिलिपि, बहालवाला संचालक समितिका सदस्यहरुको फोटो र हस्ताक्षर सहितको तीन पुस्ते विवरण र नागरिकताको प्रतिलिपि र संस्थाको स्वीकृत विनियम तथा संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपि पठाउन महाशाखाले आग्रह गरेको हो ।
यसैगरी सहकारीले आ.व. २०७९/ ८० र २०८० /८१ को साधारण सभाको विवरण र लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि तथा लेखा परीक्षक नियुक्तिको विवरण, पछिल्लो दुई कार्यकालको संचालक समितिका सदस्यहरुको फोटा तथा हस्ताक्षर सहितको तीनपुस्ते विवरण र नागरिकताको प्रतिलिपि र संस्थाको कर चुक्ता प्रमाणपत्र वा म्याद थप पत्रको प्रतिलिपि समेत पठाउनुपर्ने भएको छ ।
यस्तै हाल सम्म कोपोमिस प्रणालीमा विवरण अद्यावधिक गरेको प्रमाणका साथै मन्त्रालयको वेबसाईटमा रहेको सहकारी अद्यावधिक विवरण २०८१ ८२ फारम भरेको प्रमाण पनि महाशाखामा पठाउने फाईलमा समावेश गर्नुपर्ने भएको छ ।