तुख्यः साकोसको एघारौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । तुख्यः बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दिनेश्वर श्रेष्ठको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष श्रेष्ठले २०७१ साल साउन ११ गते ५० जना शेयर सदस्य मिलेर संस्था विधिवतरुपमा दर्ता गरेर सोही वर्षको असोज १ गतेबाट कारोबार सुरु गरेको ईतिहास स्मरण गराए ।
समय सापेक्ष नीति नियम, विधि विधान र प्रविधि अपनाएर संस्था संचालन भएको उल्लेख गर्दै उनले गुणस्तरीय सेवा सुविधा र सदस्य सन्तुष्टिलाई केन्द्र विन्दुमा राखेर संचालक समितिले काम गर्दै आएको बताए ।
सहकारी सफल हुनका लागि शेयर सदस्यहरुको पनि भूमिका रहने उल्लेख गर्दै उनले भने, ‘नेतृत्व साधन हो, साध्य होईन । आज हुन्छ भोलि हुँदैन । सधैं एउटै व्यक्ति पदमा बसिरहने पनि होईन । त्यसैले आज बाहिर रहेका सदस्यले पनि भोलि म संचालक समितिमा पुगेको खण्डमा यस्को काम गर्छु भन्ने सोच राख्नुपर्छ ।’
साधारण सभामा उपस्थित शेयर सदस्यहरुलाई सम्बोधन गर्दै संस्थाका उपाध्यक्ष बाल कृष्ण श्रेष्ठले सहकारी संस्था सबैको साझा घर भएकाले परिवारका सबै सदस्यले साथ सहयोग गरेर संस्था संचालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
शेयर सदस्यहरुको सल्लाह र सुझाव अनुसार संस्था संचालन गर्ने प्रतिवद्धता प्रकट गर्दै उनले सदस्यहरुलाई आफ्नो सम्पूर्ण कारोबार संस्थामार्फत गर्न आग्रह गरे ।
साधारण सभामा संस्थाका कोषाध्यक्ष भिम राज डंगोलले संस्थाको आर्थिक प्रतिवेदन पेश गरे ।
साधारण सभामा पेश भएको संचालक समितिको प्रतिवेदन अनुसार गत आ.व.को अन्त्य सम्ममा संस्थाको शेयर पुँजी ३ करोड २७ लाख ६ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी सो अवधिमा २९ करोड ८१ लाख ३० हजार रुपैयाँ बचत संकलन गरेको संस्थाले शेयर सदस्यहरुलाई १३ करोड ३८ लाख २२ हजार रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाका विभिन्न कोषहरुमा ५९ लाख ४५ हजार रुपैयाँ जम्मा भएको छ ।
संस्थाले गत आ.व.मा संचालक समितिका पदाधिकारी र विभिन्न उपसमितिका सदस्यहरुको क्षमता अभिबृद्धि गर्न गोष्ठी तथा सेमिनार आयोजना गरेको जनाएको छ । साथै चालु आ.व.मा पनि संस्थाका सदस्यहरुको क्षमता विकासका लागि प्रशिक्षण तथा गोष्ठी आयोजना गर्ने योजना बनाएको छ ।
संस्थाले साधारण सभाको अवसर पारेर शेयर दसस्यहरु मध्ये असल बचतकर्ता, असल ऋणी, स्थिररुपमा रकम जम्मा गर्ने बचतकर्ता, उत्कृष्ट बचतकर्ता लगायतलाई सम्मान गरेको थियो ।