'सहकारी अभियानमा पार्टीलाई मुछेर साथीहरुलाई ‘ह्विप’ लगाएर नेतृत्व हत्याउने मेरो सोच छैन'

'सहकारी अभियानमा पार्टीलाई मुछेर साथीहरुलाई ‘ह्विप’ लगाएर नेतृत्व हत्याउने मेरो सोच छैन'
अन्तर्वार्ता | 2023-12-12 Share

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)ले पुस ७ र ८ गते काठमाडौंमा ३२औं वार्षिक साधारण सभा गर्नेभएको छ । निर्वाचन सहितको यस साधारण सभाले आगामी चार वर्षका लागि नयाँ संचालक समिति र लेखा सुपरीवेक्षण समिति समेत चयन गर्नेछ । साधारण सभाको मिति र कार्यतालिका सार्वजनिक भएपछि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेफ्स्कूनमा पदासिन अध्यक्षले वरिष्ठ उपाध्यक्षलाई अर्को कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुन सहजीकरण गर्ने पद्धति रहेकाले आफू स्वभाविकरुपमा अध्यक्षको दावेदार भएको उहाँको जीकिर छ ।

विगतमा नेफ्स्कूनको लेखा सुपरीवेक्षण समिति संयोजक र महासचिवको समेत जिम्मेवारी बहन गर्नुभएका ढकाल आफूले संघको नेतृत्व गर्ने अवसर पाए सहकारी अभियानले गर्व गर्नेगरी र प्रारम्भिक संस्थाका सदस्यहरुले अनुभव गर्नेगरी काम गर्ने प्रतिवद्धता जाहेर गर्नुहुन्छ । प्रस्तुत छ वरिष्ठ उपाध्यक्ष ढकालसंग सहकारी सञ्चार डट कमका सम्पादक हिरा बस्नेतले निर्वाचन केन्द्रित भएर गर्नुभएको कुराकानीको सम्पादित अंशः

तपाईंले नेफ्स्कूनको आसन्न साधारण सभामा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । अहिले सहकारीकर्मीहरुबाट कस्तो प्रतिक्रिया प्राप्त गरिरहनुभएको छ ?

–नेफ्स्कूनको मंसिर ७ गते सम्पन्न भएको संचालक समितिको बैठकले आगामी पुस ७ र ८ गते निर्वाचत सहितको वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । बैठकले सदस्यताको विषय टुंग्याउनुका साथै निर्वाचन समिति समेत गठन गर्ने निर्णय गरेको छ । नेफ्स्कूनको निर्वाचनमा पदासिन अध्यक्षले वरिष्ठ उपाध्यक्षलाई अर्को कार्यकालका लागि अध्यक्षको नेतृत्व सुम्पिन सहजीकरण गर्ने पद्धति रहेको छ । त्यसैले नेफ्स्कून अध्यक्षका लागि मेरो दावी स्वभाविक हो । मैले नेतृत्व गरेर जाने कुरामा कुनै द्विविधा रहेन । म सबै साथीहरुलाई समेटेर अगाडि बढ्छु । 

सहकारीमा देखिएका समस्यालाई न्यूनिकरण गर्न आवश्यक छ । सहकारीलाई अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त भित्र संचालन गरेर यसले प्रवाह गर्ने वित्तीय सेवालाई एक्काईसौं शताब्दिको मागसंग प्रतिस्पर्धा गर्नसक्ने बनाउनुपर्ने आवश्यकता छ । मुलुकको संविधानले सहकारी सहितको अर्थतन्त्रमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सहकारीले यो लक्ष्य पुरा गर्नसक्नुपर्छ ।

सहकारी ऐनमा भएका ब्यवस्थाहरु कार्यान्वयन गर्नका लागि ब्यवहारमा ‘ग्याप’ देखिएको छ । मैले साथीहरुलाई नेफ्स्कूनको नेतृत्व गर्ने अवसर पाएँभने सहकारी अभियानले गर्व गर्नेगरी र प्रारम्भिक संस्थाका सदस्यहरुले अनुभव गर्नेगरी यी विषयलाई सम्बोधन गर्छु भनेर प्रतिवद्धता जनाएको छु । उहाँहरुले मलाई विभिन्न माध्यमबाट उत्साहपूर्वक शुभकामना दिईरहनुभएको छ ।

सहकारी अभियानको नेतृत्व गरिरहेका अभियन्ताहरु विभिन्न राजनीतिक दलमा आवद्ध हुनुहुन्छ । तपाईं सबैलाई समेटेर प्यानल सहित निर्वाचनमा जाने सोचमा हुनुहुन्छ कि अध्यक्ष पदका लागिमात्र उम्मेदवारी दिनुहुन्छ ?

–सहकारीमा ‘प्यानल’ भन्ने हुँदैहुँदैन । कुनै पार्टी विशेषको चुनाव चिन्हमा लड्ने भएको भए पो ‘प्यानल’ हुन्छ । सहकारी अभियानमा निरन्तर लाग्दै आएका र नेफ्स्कूनका सदस्य संघ/संस्थाबाट प्रतिनिधि भएर आएका सहकारीकर्मीहरुले उम्मेदवारी दिन सक्नुहुन्छ । यस्ता उम्मेदवारलाई आम प्रतिनिधिहरुले निर्वाचनमार्फत चुन्ने भएकाले ‘प्यानल’ भन्ने हुँदैन । केही साथीहरु पार्टीको झण्डा मुनि सहकारी भेला भनेर ‘क्याम्पेनिङ’ गर्दै हिँडिरहनुभएको छ । यस्तो देख्दा मलाई उदेक लागेको छ । सहकारी अभियानमा पार्टीलाई मुछेर साथीहरुलाई ‘ह्विप’ लगाएर नेतृत्व हत्याउने मेरो सोच छैन । 

तपाईंले विगतमा नेफ्स्कून नेतृत्वले गरेका केही महत्वपूर्ण निर्णय बारे आफूलाई समेत जानकारी नगराएको गुनासो गर्नुभएको थियो । यसरी हेर्ने हो भने अहिले नेफ्स्कूनको संचालक समिति लोकतान्त्रिक विधि र पद्धतिबाट संचालन नभएको देखियो । तपाईं अध्यक्ष हुनुभयो भने यसलाई कसरी सुधार गर्नुहुन्छ ?

–मैले नेफ्स्कूनमा विगत चार वर्षदेखि उठाएका सबै विषय प्रमाणीकरण भएका छन् । सत्य सावित भएका छन् । मैले बिनाआधार चर्चाका लागिमात्र यी विषय उठान गरेको होईन रहेछु भन्ने कुरा प्रमाणित भएको छ । नेफ्स्कूनमा एउटै नेतृत्वले चार वटा प्रमुख कार्यकारीको निर्णय गर्ने परिस्थिति बन्यो । तर यस्तो अवस्थामा पनि हामीसंग राम्ररी सल्लाह भएन । सल्लाह गरेर गरेका निर्णयले राम्रो उपलब्धि हासिल गरेका छन् ।

कम बढी भन्ने कुरा नै रहँदैन । किनकि हामी भोलि यस्ता गतिविधि गर्दै गर्दैनौं । नेफ्स्कूनको संचालक समिति नीतिगत निर्णय गर्ने फोरम हो । हामीले कार्यकारिणीको भूमिका निर्वाह गर्ने होईन । मुलुकको संविधान, ऐन, नियम, संघीय विभागले जारी गरेका निर्देशन र नेफ्स्कूनको विनियम भन्दा बाहिर गएर हामीले काम गर्नहुँदैन । हामीलाई अग्रजहरुले कार्यविधि बनाएर निर्णय गर्नुपर्छ भनेर सिकाउनुभएको छ । यसो गर्दा स्वार्थ बाझिदैन, पक्षपात हुँदैन र पारदर्शिता कायम हुन्छ । म चौबीस वर्षदेखि यही ‘स्कूलिङ’मा बसेको छु । अहिले अराजक पद्धतिको सिकार म आफैं भईरहेको छु । त्यसैले म नेतृत्वमा गएपछि यो पद्धतिको अन्त्य गर्नेछु । 

तपाईंले सहकारीमा देखिएका समस्या न्यूनिकरण गर्न भूमिका खेल्छु भन्नुभयो । अहिले आम मानिसमा सहकारीप्रतिको विश्वास एकदमै कमजोर भएको छ । तपाईं नेफ्स्कूनको अध्यक्ष हुनुभयोभने सहकारी अभियानलाई विश्वसनीय बनाउन कस्तो काम गर्नुुहुन्छ ?

–नेतृत्वको अकर्मण्यताले गर्दा अहिलेको परिस्थिति सिर्जना भएको हो । नेतृत्वले अकर्मण्यता त्याग्ने हो भने यी कुरा पुरानो लयमा जान्छन् । मैले सबै जिल्लाका साथीहरुसंग कुराकानी गरेको छु । उहाँहरुले मलाई सहकारीमा देखिएको बिचलन रोक्न अबको नेतृत्व तपाईंले गर्नुपर्छ भन्नुभएको छ । उहाँलेहरुले म जहाँ जाँदापनि माया दर्शाउनुभएको छ । उत्साहपूर्वक शुभेच्छा प्रकट गर्नुभएको छ । मैले विगत देखि अहिले सम्म उठाएका विषयहरुलाई उहाँहरुले विश्वास गर्नुभएको छ । मैले यीनै विषयमा केन्द्रित भएर योजना बनाएर काम गरेँभने सहकारीमा देखिएको कमजोरी सुधार गर्न मद्दत पुग्छ ।

सहकारी भनेको सामाजिक संस्थाको अधिकतम सुन्दर संगठन हो । त्यसैले यसमा समाजको प्रतिविम्ब प्रकट भएको हुन्छ । यही प्रतिविम्बलाई सम्बोधन गरेर जाने हो भने सहकारी मजवुत हुन्छ । अहिले समाजको अपेक्षा एउटा छ अनि हाम्रो कामगर्ने शैली, गतिविध, निर्णय आदि चाहिँ विलकुल प्रतिकूल छ । हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय कुरामात्र गरेर हुँदैन । पहिले स्थानीय जनधारणा बुझ्नुपर्छ । किनिकि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरा दवावकोरुपमा दिने हो भने कसैले लिन सक्छ, कसैले नलिन सक्छ । कसैले लिएर पचाउन सक्छ, कसैले नपचाउन सक्छ ।

त्यसैले सहकारीले समाजको प्रतिविम्बलाई मनन् गरेर विस्तारै सुधार गर्दै जाने हो भने अभियानलाई पुरानो लयमामात्र नभई एक्काईसौं सताब्दिको आवश्यकतालाई सम्बोधन गर्न सक्ने बनाउन सकिन्छ । नेतृत्वमा समस्या आएकाले सहकारीप्रति नकारात्मक टिकाटिप्पणी भएको हो । वास्तवमा सहकारी पवित्र संगठन हो भन्ने कुरा बुझाउन सकिन्छ । 

अन्त्यमा सहकारीकर्मीलाई केही भन्न चाहनुहुन्छ  कि ?

–हामी पुसको ७ र ८ गते निर्वाचन सहितको साधारण सभा गर्दैछौं । हामीले सबै साथीहरुलाई पछिल्लो समय शुसासनलाई प्रत्याभूत गर्नेगरी फरक काम गर्नुपर्छ भने आह्वान गरेका छौं । केही साथीहरुले नेफ्स्कूनमा शुल्क तिर्नका लागिमात्र सदस्य/प्रतिनिधि बनेजस्तो भयो भन्ने गुनासो गर्नुभएको सुनियो । विगतमा पाँच रुपैयाँको शुल्कलाई तीन रुपैयाँ गरायौं । यस साधारण सभामा ‘सोलिडारिटी फण्ड’ भनेर एक रुपैयाँमात्र लिने प्रस्ताव गर्दैछौं । नेफ्स्कूनमा ‘सोलिडारिटी फण्ड’ भन्दा बाहेक अरु शुल्क तिर्नुनपर्ने बनाउँदै छौं । नेफ्स्कून तपाईहरुले बनाएको बलियो घर हो । यो घरलाई सहकारीकर्मीहरुको अधिपत्यमा रहने र सबै कुरा ‘शेयरिङ’ गर्नसक्ने घर बनाउन यो साधारण सभालाई उपयोग गर्दैछौं । यसको नेतृत्व म गर्दैछु ।

त्यसैले म सबै प्रतिनिधिज्यूहरुलाई पुस आठ गतेको निर्वाचनमा अनिवार्य उपस्थित हुन अनुरोध गर्छु । मैले नेतृत्व परिवर्तका खातिर उठाएको विषयलाई हृदयङ्गम गर्न अनुरोध गर्छु । उहाँहरुलाई सकेसम्म सर्वसम्मत नेफ्स्कूनको नेतृत्व चयन गर्न आग्रह गर्दछु । यदि सर्वसम्मत नेतृत्व चयन हुन सकेन भने निर्वाचनको प्रकृयाबाट भएपनि मलाई अध्यक्षमा निर्वाचित गर्न विनम्रतापूर्वक अनुरोध गर्दछु ।