किसान साकोसले ३०औं स्थापना दिवसको अवसर पारेर गर्यो उत्तरदायित्व बहन

किसान साकोसले ३०औं स्थापना दिवसको अवसर पारेर गर्यो उत्तरदायित्व बहन
समाचार | 2025-06-30 Share

काठमाडौं । नवलपरासीको गैंडाकोट–८ मा मूख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले सप्ताहव्यापी कार्यक्रम गर्दै ३०औं स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा संस्थाले जेब्रक्रस निर्माण, ट्राफिक सचेतना, दुई दर्जन सार्वजनिक स्थल सरसफाई, धान खेत रोपाई, शिक्षण सामाग्री वितरण एवं पूर्व नेतृत्वकर्ताहरुसंग साक्षात्कार कार्यक्रम सम्पन्न गरेको हो।

२०५२ असार १५ गते स्थानीय २५ जनाको सक्रियतामा स्थापित संस्थाले हालसम्म २५ वटा सहकारी संस्थाबीच एकीकरण गरिसकेको छ। संस्थाले असार १५ गते ३०औं स्थापना दिवस समापन कार्यक्रम गरेको छ ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेलले गरेका थिए भने प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी एवं विशिष्ट अतिथिमा उपमेयर शान्ति कोईरालाको उपस्थिती रहेको थियो ।

 

स्थापना दिवसको अवसरमा असार १३ गते कावासोती स्थित ज्ञानोदय मावि र गैंडाकोटको जनक नमुना माविमा अध्ययनरत विद्यार्थीहरुका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा विद्यालय शिक्षक र साकोसका प्रतिनिधिका साथै ट्राफिक प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

संस्थाले सचेतना सँगै जनक नमुना मावि परिसर आसपासका सडकमा जेब्राक्रस समेत बनाएको जनाएको छ । असार १४ गते संस्थाका सेवा केन्द्र रहेका दुईदर्जन स्थानका विभिन्न सार्वजनिक स्थलको सरसफाई सम्पन्न गरेको छ ।

संस्थाका सञ्चालक, कर्मचारी, उपसमिति र स्थानीयबासी सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीनाले बताए ।

“सप्ताहव्यापी स्थापना दिवस कार्यक्रम अन्तरगत असार १४ गते कार्यक्षेत्र भित्रका विभिन्न २१ वटा सार्वजनिक स्थलहरुको सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

सबै सेवाकेन्द्रहरुबाट एकै साथ सुरुभएको उक्त कार्यक्रमले सार्वजनिक स्थलहरु सफाई गर्नुका साथै सरसफाईमा सामाजिक सचेतना वृद्धि गर्ने विश्वास लिएका छौं” तिमिल्सीनाले भने ।

संस्थाले सरसफाई अभियान अन्तर्गत तनहुँ जिल्लाको देवघाट गाउँपालिका, देवघाट स्थित देउपुर पार्क, चितवन जिल्लाको नारायणघाट, पुल्चोकको हरिहर मन्दिर, भरतपुर स्थित दुर्गा मन्दिर, समृद्धि सेवा केन्द्र क्षेत्रमा रहेको विश्राम स्थल र चौतारी, रत्ननगर नगरपालिका, टाँडी क्षेत्रको सिद्धेश्वर जलदेवी मन्दिर सरसफाई गरेको जनाएको छ ।

 

त्यसैगरी नवलपुर जिल्लाको दुम्कीबास क्षेत्रको कालिका मन्दिर, सर्दिको शिवालय मन्दिर, अरुणखोलाको गणेश मन्दिर र शिव मन्दिर, अमरापुरी क्षेत्रको शमशान घाट, हर्कपुर क्षेत्रको दुर्गा मन्दिर, मुकुन्दपुर क्षेत्रको बसुन्धरा मन्दिर, देवचुली क्षेत्रको घुमाउने सामुदायिक वनको पार्क र विहार सरसफाई गरेको हो ।

त्यसैगरी दलदले क्षेत्रको गणेश मन्दिर, रजहर क्षेत्रको शिवालय मन्दिर, चोरमारा क्षेत्रको दुर्गा मन्दिर, गोछाडा क्षेत्रको कुमारवर्ती स्वास्थ्य चौकी, गैंडाकोट पुल्चोक क्षेत्रको एसियन राजमार्ग, शिलान्यास पार्क र शिलान्यास चोक, गैंडाकोट क्षेत्रकै रानीताल चण्डीका मन्दिर र कावासोती, विष्णुनगर क्षेत्रको राम मन्दिर सरसफाई गरेको हो ।

स्थापना दिवसको दिन असार १५मा राष्ट्रिय धान दिवसमा पञ्चवटि सेवाकेन्द्र क्षेत्रका कृषकको १० कठ्ठा खेतमा सामुहिक धान रोपाईं कार्यक्रम सम्पन्न गरेको छ । साथै ५१ जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

 

प्रमुख अतिथि मेयर अधिकारी तथा विशिष्ठ अतिथि उपमेयर शान्ति कोईरालाद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । प्रमुख अतिथि अधिकारीले किसान साकोस ढुक्क संग कारोबार गर्ने र गैंडाकोटलाई सहकारीमा चिनाउने संस्था रहेको बताए ।

विशिष्ट अतिथि कोइरालाले सहकारी संस्थाले महिलालाई आत्मनिर्भर र महिलाको नेतृत्व क्षमता वृद्धिमा थप काम गर्नु पर्ने बताइन् । किसान साकोसले २५ हजार भन्दा बढी महिलाहरुलाई गोलबद्ध गरेकोमा खुसी व्यक्त गरिन् ।

उनले ठूला संस्थाहरुले सदस्यको उत्पादनलाई बजार पहुँचमा पुर्याउन प्रशोधन, भण्डारण, बजारीकरण र आवश्यकताको आधारमा उध्योग संचालन गर्नतिर लाग्नुपर्ने बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैंडाकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष प्रेम सापकोटाले संस्था वित्तीय संरचना र प्रतिवेदनमा भन्दा सदस्यको भावनामा जोडदिएर चल्नुपर्ने बताए ।

उनले भने, संस्थाले विधिको नाममा सदस्यलाई जटिल प्रक्रिया बनाउन लाग्नु हुँदैन, ऐंचोपैंचो बाट सहकारी अवधारणा आएकोले सामाजिक सम्वन्धलाई बढी जोड दिनु पर्छ ।

संस्थाका पूर्व अध्यक्ष एवं नेफ्स्कून संचालक गोपाल प्रसाद गौतमले संस्थाले अग्रजहरुको विरासत जोगाउँदै नवीनतम प्रविधि आन्तरिकीकरणका माध्यमबाट भावी पुस्ताको चाहनाको संयोजन गर्ने तर्फ लागेकोले राष्ट्रियस्तरमा छवि सुधार हुँदै गएको बताए ।

संस्थाका सचिव सरस्वती कण्डेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका उपाध्यक्ष चिन्तामणि कण्डेलले पुर्वजको विरासत कमजोर हुननदिने र एउटा मात्रै भएपनि ईंट्टा थप्ने तर्फ वर्तमान समिती लागेको बताए ।

 

कार्यक्रममा संस्थाका सल्लाहकार भोजराज भट्टराई, पूर्व उपाध्यक्ष लोकमाया पराजुली र एकीकरणपूर्वको संस्थाको तर्फबाट हरि ढकालले सुझाव दिएका थिए ।

विभिन्न २५ वटा संस्था जोडिएर किसान साकोस बनेको हुनाले सबै संस्थाको स्थापनाकाल देखि एकीकरण पूर्वका सम्पूर्ण नेतृत्वहरुसँग साक्षात्कार गर्दै मार्गदर्शन प्राप्त गरेको छ । सदस्य सेवा नै हाम्रो मुख्य उद्देश्य हो” संस्थाका अध्यक्ष भोजराज पौडेलले भने ।

संस्थाले स्थापनाकालदेखि हालसम्मको अवस्था र परिवेशका साथै अनुभव आदान प्रदानबाट संस्थाको साझा स्वामित्व सदस्यतहमा अनुभुति गराउने प्रयास गरेको बताए ।

संस्था ठुलो हुँदै गर्दा सदस्य र नेतृत्वका बिचमा सामिप्यता कमजोर हुन नदिन निरन्तर नेतृत्व विकासका साथै पूर्व नेतृत्वकर्ताको अनुभव ग्रहण गर्दै अगाडि बढ्नेमा संस्थाले जोड दिएको अध्यक्ष पौडेललले बताए ।

उनले किसान साकोसले आफनो गौरवमय ३० वर्ष सफलतापूर्वक पुरा गरि ३१औं वर्ष प्रवेश गर्न गईरहेको यस गौरवमय ईतिहास सहितको दर्विलो वर्तमान र उज्जवल भविष्यका लागि “समृद्ध सदस्य, दिगो साकोस“ भन्ने परिकल्पना सहित ४अर्बको कुल सम्पत्ति निर्माणका साथै राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मान समेत प्राप्त गरेको जनाए ।