कन्क्लेभमा सहकारीले प्रयोग गर्ने सफ्टवेयरको विषयमा पनि छलफल हुनेछः वरिष्ठ उपाध्यक्ष पोखरेल

कन्क्लेभमा सहकारीले प्रयोग गर्ने सफ्टवेयरको विषयमा पनि छलफल हुनेछः वरिष्ठ उपाध्यक्ष पोखरेल
अन्तर्वार्ता | 2024-03-12 Share

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले चैत्र १ र २ गते राजधनीमा आयोजना गरेको सहकारीको प्रथम डिजिटल कन्क्लेभमा सहकारीले प्रयोग गर्ने सफ्टवेयरको न्यूनतम मापदण्ड निर्धारण गर्ने विषयमा पनि छलफल हुने भएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल–२०८०’ ले दिएको प्रतिवेदनलाई समेत मध्येनजर गरेर कन्क्लेभमा सहकारीले प्रयोग गर्ने सफ्टवेयरको गुणस्तर निर्धारण गर्ने विषयमा प्राथमिकताका साथ छलफल हुने बताउनुभएको हो ।

‘अहिले कतिपय सहकारीले प्रयोग गरिरहेको सफ्टवेयरको गुणस्तर कमजोर भयो, त्यहाँ भएको डाटा जतिखेर पनि करेक्सन गर्न मिल्ने भएकाले जोखिम उत्पन्न भयो भन्ने गुनासो छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले सहकारीलाई गुणस्तरीय तथा सुरक्षित प्रविधि प्रयोग गर्न प्रोत्साहित गर्न यो सम्मेलन लाभदायक हुने विश्वास लिएका छौं ।’

सहकारीले प्रयोग गर्ने सफ्टवेयरको न्यूनतम मापदण्ड तोक्न महासंघले विभागसंग छलफल गरिरहेको र यस विषयमा चाँडै निष्कर्ष निस्कने उहाँको भनाई छ । ‘हामीले सहकारीलाई यो ब्राण्डको सफ्टवेयर प्रयोग गर भनेर सिफारिस गर्ने होईन,’ उहाँले भन्नुभयो, ‘तर सहकारीले न्यूनतम कुन कुन मापदण्ड पुरा गरेको सफ्टवेयर प्रयोग गर्नुपर्छ भनेर चाहिँ तोक्न आवश्यक छ ।’

सहकारी क्षेत्रलाई डिजिटलाईजेसन गर्नका लागि महासंघले आयोजना गरेको डिजिटल महासम्मेलनमा ठूलो कारोबार भएका र डिजिटलाईजेसनमा जान चाहने विभिन्न सहकारीका २ सय जना प्रतिनिधिहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

‘सहकारीमा सुशासन प्रवद्र्धन गर्न दिगोपनाका लागि पनि डिजिटलाईजेसनमा जानुपर्छ भन्ने हाम्रो भनाई हो । यो सम्मेलनले त्याता तर्फ उन्मुख हुनका लागि गाईड गर्छ । सहकारीलाई प्रविधियुक्त बनाउन सकियो भने युवाहरुलाई पनि आकर्षित गर्न सकिन्छ ।’, उहाँले भन्नुभयो ।

कन्क्लेभमा विश्वका विभिन्न मुलुकमा सहकारीले आफ्नो कारोबार र ब्यवसाय संचालन गर्नका लागि के कस्तो डिजिटल प्रविधिको प्रयोग गरिरहेका छन् भन्ने विषयमा छलफल गरेर सफल प्रयोगलाई मुलुकमा आन्तरिकीकरण गर्न समेत पहल गर्ने उहाँले बताउनुभयो । 

यसैगरी मुलुकको सहकारी अभियानमा आधुनिक प्रविधि प्रयोगको विद्यमान अवस्था, सहकारी क्षेत्रलाई डिजिटलाईजेसन गर्ने क्रममा उत्पन्न हुने चुनौति र भावी कार्यदिशाका विषयमा पनि छलफल हुने बताउनुभयो । 

साथै सम्मेलनले जारी गर्ने घोषणापत्रले मुलुकभरिका सहकारीलाई डिजिटलाईज भएर अगाडि बढ्न, आम सदस्यहरुलाई प्रविधि साक्षर भएर कारोबार गर्न र युवाहरुको सहभागिता वृद्धि गर्न सार्थक बन्नेछ भन्ने महासंघले विश्वास लिएको भनाई राख्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सहकारीलाई डिजिटलाईज गर्नका लागि कानुनीरुपमा कुनै अप्ठ्यारो नरहेकोको बताउनुभयो । ‘मुलुकको कुनैपनि कानुनमा सहकारीलाई डिजिटलाईज नहुनु भनेर लेखिएको छैन । त्यसैले अहिलेको युगको आवश्यकता अनुसार प्रविधि प्रयोगमा नजो भन्ने प्रश्न उठ्दैन’, उहाँले भन्नुभयो, ‘कानुनीरुपमा कुनै समस्या परेको खण्डमा महासंघले फुकाउन अगुवाई गर्छ । सरकारले पनि हामीलाई सहयोग गर्छ भन्नेमा विश्वस्त छौं ।’