राष्ट्रिय सहकारी महासंघको महाप्रबन्धकमा बाबु काजी थापा नियुक्त
ललितपुर । राष्ट्रिय सहकारी महासंघ लिमिटेडको महाप्रबन्धकमा बाबु काजी थापा नियुक्त भएका छन् ।
महासं३काे २२८औँ बोर्ड बैठकले थापालाई चार वर्षे कार्यकालका लागि महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हाे।
महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले शनिवार महासंघको भर्चुअल बैठकले थापालाई चार बर्षका लागि करारमा नियुक्त गरेको बताए । थापाले आजदेखि कार्यभार सम्हाल्दै छन् ।
उनले कृषि विकास बैंकमा २५ वर्ष सेवा गर्दै उप–महाप्रबन्धक पदबाट सन् २०२५ मा अवकाश लिएका थिए । वित्त तथा विकाससम्बन्धी विभिन्न संस्थामा समेत नेतृत्व तथा परामर्शदाताको अनुभव उनीसंग रहेको छ ।
यसअघिका महाप्रबन्धक सुरेश थापाले राजीनामा दिएपछि गत साउन १ गतेदेखि वरिष्ठ अधिकृत गोपीकृष्ण भण्डारीलाई कायम मुकायम महाप्रबन्धकको जिम्मेवारी दिइएको थियो।
महासंघले २०८२ पुस २ गते पहिलो पटक र २०८२ पुस ६ गते दोस्रो पटक राष्ट्रिय दैनिक पत्रिकामार्फत महाप्रबन्धक पदका लागि आवेदन आह्वान गरेको थियो। तोकिएको समयभित्र आवेदन दिएका उम्मेदवारमध्ये ६ जना छोटो सूचीमा परेका थिए। महासंघको पदपूर्ति उपसमितिले प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्पन्न गरी योग्य उम्मेदवारको नाम सिफारिस गरेको थियो।
महासंघको बोर्ड बैठकले सबैभन्दा बढी अंक प्राप्त गरेका बाबु काजी थापालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यस्तै अमित श्रेष्ठ र हरिबदुर खत्री वैकल्पिक उम्मेदवारका रूपमा छनोट भएका छन्।
