कास्कूनको गोष्ठीः सहकारीलाई मितव्ययी बन्न प्राधिकरण अध्यक्ष डा. शर्माको आग्रह

कास्कूनको गोष्ठीः सहकारीलाई मितव्ययी बन्न प्राधिकरण अध्यक्ष डा. शर्माको आग्रह
समाचार | 2026-03-20 Share

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारी अभियानका छाता संघ र प्रारम्भिक सहकारी संस्थाहरुलाई मितव्ययी बन्न आग्रह गरेका छन् ।

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (कास्कून)ले आज (चैत्र ६ गते) आयोजना गरेको ‘अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको गोष्ठी’मा बोल्दै अध्यक्ष शर्माले सहभागीहरुलाई फजुल खर्च कटौती गरेर विषम परिस्थितिसंग जुध्न तयार भएर बस्न अनुरोध गरेका हुन् ।

उनले सहकारीले आफ्नो कार्यालय वाणिज्य बैंक र वित्तीय संस्थाहरुको जस्तो भव्य बनाएर अनावश्य व्ययभार थप्नु गलत भएको बताए । सहकारीले  संचालकहरुलाई भन्दा पनि कर्मचारीहरुलाई प्रतिस्पर्धात्मक सेवा सुविधा प्रदान गनुपर्ने पर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘एकातर्फ कर्मचारीहरुलाई न्यून पारिश्रमिकमा काम लगाउने अनि अर्कातर्फ बोर्ड अफ डिरेक्टरहरु ठाँटबाँटका साथ हिँड्ने परिस्थितिले सहकारीमा व्ययभार बढायो । यो फजुल खर्च संस्थाले धान्न सकेन ।’

राज्य र अभियानले संचालन गर्ने गरेका तालिम तथा प्रशिक्षणको प्रभावकारिता माथि प्रश्न गर्दै उनले भने, ‘मान्छे प्राधिकरणमा आउँछ । हामीले तपाईं सहकारीको संचालक कि सदस्य हो भनेर सोध्दा उसले होईन म त बचतकर्ता हो भन्ने जवाफ दिन्छ ।’

सहकारी शिक्षाको बहानामा संचालकहरु देश विदेशमा भ्रमण गर्न जाने गरेपनि उनीहरुले सहकारी क्षेत्र र उत्पादनशील कार्यका निम्ति कुनै योगदान दिन नसकेको गुनासो गरे ।

मुलुकको राजधानी समेत रहेकाले काठमाडौं जिल्लाका वित्तीय सहकारीले गर्ने गतिविधिको प्रभाव मुलुकभरिका सहकारीमा पर्ने बताए । 

‘यहाँका सहकारीले राम्रो काम गर्दा नेपालका सहकारी राम्रा छन् भन्ने सन्देश जान्छ,’ सहकारीलाई जिम्मेवार बन्न अनुरोध गर्दै उनले भने, ‘तपाईंहरुले मर्यादा उल्लंघन गरेर नराम्रो काम गर्दा देखभरि नकारात्मक प्रभाव पर्छ ।’

नेपालमा गएको महाभूकम्प, कोरोना महामारी, रसिया–युक्रेन युद्ध र अहिले अमेरिका÷इजरायल र इरान बीच खाडी क्षेत्रमा भईरहेको युद्धले समेत सहकारीमा नकारात्मक असर परेको बताए । 

मुलुकको अर्थतन्त्र पूर्णरुपमा आयातमा निर्भर रहेकाले स्वदेशमा उत्पादन हुनसक्ने कृषि उपजहरुको आयातलाई प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए । 
सहकारी श्रमजीवि वर्गका मानिसहरुको जीवनयानपनका निम्ति सहजीकरण गर्ने क्षेत्र भएकाले अबका दिनमा थप जिम्मेवार भएर प्रस्तुत हुन जरुरी रहेको बताए ।

मुलुकमा धेरै रेमिट्यान्स भित्र्याउने खाडी क्षेत्रका युवाहरु काम गुमाएर मुलुकमा फर्किर्नु पर्ने अवस्था सिर्जना भयो भने सहकारीमा नयाँ बचतमा कमि आउनुका साथै बचत फिर्ताको थप दबाव उत्पन्न हुनसक्ने तर्फ सचेत गराए । 

सहकारी क्षेत्रमा समस्या उत्पन्न हुनुमा अभियान र सरकार दुबै पक्षको दोष रहेकाले एकआर्काबीच दोषारोपण गरेर कुनै पक्ष जिम्मेवारीबाट उन्मुक्त हुन नसक्ने बिचार राखे । उनले भने, ‘अब सरकार र अभियान दुबै पक्ष मिलेर यो क्षेत्रलाई सुधार गरेर सुदृढ बनाउन आवश्यक छ ।’

सहकारीले कर्जा लगानी गर्दा सम्भावित जोखिमको विश्लेषण नगरेकाले पनि असुलीमा समस्या सिर्जना भएको भनाई राखे । सहकारीले चिनजानको भरमा बिना धितो वा कमसल धितोमा ऋण लगानी गर्नु गलत भएको बताए ।

उनले भने, ‘हामी (संचालकहरु)ले संस्थामा जम्मा भएको पैसा मेरो आफ्नै हो, जसो गरेपनि हुन्छ भन्ने पनि ठान्यौं । आफ्नो पैत्रिक सम्पत्ति चलाए जसरी व्यक्तिगतरुपमा चलायौं । यसले गर्दा सहकारीमा बेथिति आयो ।’

केही सहकारीले सबैलाई शेयर सदस्यता प्रदान नगरी बचतकर्ता र ऋणीलाई छुट्टै समूहमा राखेर कारोबार गर्ने गरेको समेत उदाहर भेटिएको बताए । 
अध्यक्ष शर्माले राज्यका नियामक निकायहरुले पनि प्रभावकारी नियमन गर्न नसकेको बताए ।

‘सहकारी सदस्य केन्द्रित भएर कानुन पालना गरेर संचालन हुनुपर्छ,’ उनले भने, ‘अब सहकारीले आन्तरिकरुपमा शुद्धीकरण अभियान चलाएनन् भने अझ बिकराल अवस्था उत्पन्न हुन्छ ।’

अध्यक्ष शर्माले राष्ट्रिय सहकारी महासंघ देखि प्रारम्भिक सहकारी संस्थाहरु सम्मलाई विदेशी संघ/संस्थाहरुको भव्य कार्यालय देखेर मोहित नभई आफ्नो मुलुकको माटो र आवश्यकता अनुकुल भएर संचालन हुन आग्रह गरे । 

यसैगरी उनले सहकारीले जुनसुकै तहको औपचारिक शिक्षा हासिल गरेका वा नगरेका सबै सदस्यलाई सहकारी शिक्षा दिनुपर्ने बताए ।

सहकारीले राज्यका सबै तहका नियामक निकायहरुले दिएको निर्देशन पालना गर्नुपर्ने, खर्च कटौती गरेर मितव्ययी बन्नुपर्ने र संस्था संचालनको प्रभावकारी प्रणाली विकास गर्नुपर्ने कुरामा डा. शर्माले विशेष जोड दिए ।

कास्कूनका अध्यक्ष दिपक पनेरुको सभापतित्वमा आयोजित गोष्ठीमा उपस्थित अतिथि तथा सहभागीलाई उपाध्यक्ष एवं गोष्ठी कार्यदलकी संयोजक विनिता अधिकारीले स्वागत गरेकी थिईन ।

कास्कूनका महासचिव निरञ्जन सेढाईले संचालन गरेको कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्य डा. रमेश प्रसाद चौलागाई र सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोज–२०८२ का सदस्य डा. नवराज सिम्खडाले सहभागीलाई प्रशिक्षण प्रदान गरेका थिए ।

यसैगरी उन्तराष्ट्रिय उत्पे्ररक वक्ता तथा ट्रेनर रमन कुमार भट्टराईले उत्प्रेरणा तथा मनोबल दक्षता अभिवृद्धि सम्वन्धी प्रस्तुति दिएका थिए । गोष्ठी साझा संकल्प जारी गर्दै आज सम्पन्न हुने कार्यक्रम रहेको छ ।