बहुउद्देश्यीय सहकारीको इज्जत राख्दै भीमेश्वर सहकारी

बहुउद्देश्यीय सहकारीको इज्जत राख्दै भीमेश्वर सहकारी
समाचार | 2024-03-26 Share

-अर्जुन खतिवडा

दोलखा । मुलुकमा जुनसुकै नाम राखेर खुलेका भएपनि सबै विषयका सहकारी बचत ऋणको वित्तीय कारोबारमामात्र सीमित भएकाले आम मानिसमा सहकारी भनेकै पैसाको किनबेच गर्ने संस्था हो भन्ने धारणा बनेको छ ।

सरकारी निकायमा संस्था दर्ता गर्दा विनियममा शेयर सदस्यहरुको आवश्यकताका बहु क्षेत्रमा काम गर्छु भनेर स्वीकृति लिएका साढे चार हजार बहुउद्देश्यीय सहकारी संस्थाहरु पनि यो प्रवृत्तिबाट बाहिर निस्कन सकेका छैनन् ।

विशेषगरी सरकारले बचत तथा ऋण सहकारी संस्था दर्ता गर्ने कार्य बन्द गरेपछि शहरमा स्थापना भएका अधिकांश बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी ऐन, २०७४ मा भएको मुख्य कारोबार सम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने सामान्य चेष्टा समेत गरेका छैनन् । 

मुलुकमा बहुउद्देश्यीय सहकारी संस्थाको आवश्यकता र औचित्य माथि नै प्रश्न उठ्न थालेको समयमा दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–१, भीरकोटमा रहेको भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले भने सिंगो बहुउद्देश्यीय सहकारी अभियानको इज्जत राख्नेगरी काम गरेको छ ।

बचत ऋणको कारोबारमामात्र सीमित नभएर संस्थाले शेयर सदस्यहरुलाई ब्यवसायी बनाउन कुखुराको आहारा उत्पादन गर्ने दाना उद्योग संचालन गरेको छ । साथै सदस्यहरुको सामाजिक सुरक्षाका लागि विभिन्न कार्य समेत गर्दै आएको छ ।

कुखुराको दाना उद्योग

मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकाबाट १५६ किलोमिटर तथा जिल्ला सदरमुकाम चरीकोट बजारबाट २३ किलोमिटर टाढा रहेको संस्थाले जिल्लाको ग्रामीण भेगमा कुखुरा पालन ब्यवसायलाई प्रवर्छन गर्ने उद्देश्यका साथ २०७५ सालमा दाना उद्योग स्थापना गरेको हो ।

उद्योगले २०७७ सालदेखि निरन्तर दाना उत्पादन गर्दै आएको छ । २ करोड ५० लाख रुपैयाँको लागतमा संचालित पेलेट दाना उद्योगले हाल मासिक २५ टन सम्म दाना उत्पादन गर्दछ । जहाँ ६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

संस्थाका अध्यक्ष सिताराम उप्रेती सुरुमा उद्योग स्थापना गर्नका लागि सरकारले ६८ लाख रुपैयाँ अनुदान दिएको पनि त्यसपछि कुनै सहयोग नगरेको गुनासो गर्नुहुन्छ । उहाँ सरकारले उत्पादनमा काम गर्ने सहकारीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रहरु ल्याउनुपर्ने आवश्यकता औंल्याउनुहुन्छ ।

संस्थाले संचालन गरेको उद्योगले उत्पादन गरेको दाना विक्री वितरण गर्ने क्रममा निजी ब्यवसायहीहरुसंग प्रतिस्पर्धा गर्न कठिन भएको उहाँको भनाई छ ।

दाना उद्योगले ब्यहोर्नुपरेको समस्याबारे उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, ‘गाँउमा युवाहरु कोही बस्दैनन् । घरमा भएका बृद्धबृद्धाहरुले ब्यावसाय संचालन गर्न सक्दैनन् । त्यसैले उत्पादन भएको दानाहरु समेत विक्री गर्न बजारको अभाव हुने गरेको छ ।’

यसैगरी संस्थाका ब्यावस्थापक उदय कट्वाल उद्योगले उत्पादन गरेको पेलेट दाना प्रति किलोग्राम २ रुपैयाँ र एक बोरा दानामा ७५ रुपैयाँ नाफा राखेर रामेछाप र दोलखा जिल्लाका बजारहरुमा विक्री गर्ने गरेको बताउनुहुन्छ ।

सामाजिक सुरक्षा

संस्थाले आफ्ना शेयर सदस्यहरुको आर्थिक उन्नतिका अलावा सामाजिक सुरक्षालाई पनि उच्च प्राथमिकतामा राखेको छ । यसका लागि संस्थाले सदस्य सुरक्षा कोष स्थापना गरेर सेवा दिँदै आएको छ । कोषमा सहभागी हुनका लागि प्रत्येक सदस्यले आर्थिक वर्षको सुरुमा दुई सय रुपैयाँ जम्मा गर्नुपर्ने प्रावधान रहेको छ । 

यसरी कोषमा सहभागी भएपछि सो आर्थिक वर्ष भित्र सदस्यको मृत्यु भएमा मृतकको हकवालालाई १५ हजार देखि ३५ हजार रुपैयाँ सम्म सहयोग गर्ने व्यवस्था रहेको छ । साथै संस्थाले मृतकका परिवारलाई किरिया खर्च वापत एक हजार रुपैयाँ आर्थिक सहयोग गर्ने गरेको छ ।

यसैगरी संस्थाले शेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखेर मृगौला, क्यान्सर, मुटु प्रत्यारोपण तथा प्यारालाइसिस जस्ता दीर्घ रोगको उपचार गर्नका लागि पाँच हजार रुपैयाँ सम्म राहत प्रदान गर्ने गरेको छ । साथै प्राकृतिक प्रकोपका कारण कुनै सदस्यको घर काम नलाग्ने गरी क्षति भएमा वा सदस्यको मृत्यु भएमा तत्काल पाँच हजार रुपैयाँ राहत सहयोग प्रदान गर्दै आएको छ ।

यस्तै संस्थाले प्रत्येक वर्ष ७० वर्ष भन्दा माथिका ज्येष्ठ शेयर सदस्यहरुलाई वार्षिक ६ सय रुपैयाँ देखि ६ हजार रुपैयाँ सम्म नगद सहित सम्मान गर्ने गरेको छ । भीमेश्वर सुत्केरी सहारा कार्यक्रम अन्तर्गत दुईवटा बच्चा पाउने सुत्केरी महिला सदस्यलाई संस्थाले एक पटकमा एक हजार रुपैयाँ सुत्केरी भत्ता दिने गरेको छ ।

संस्थाले नमूना उद्यमीलाई प्रशंसा पत्र तथा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रशंसा–पत्रका साथै दुई हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने गरेको छ । सहकारी शिक्षा शिविरको आयोजना गरेर शेयर सदस्यहरुलाई सहकारी सम्वन्धी शिक्षा प्रदान गर्नुका साथै आवश्यकता अनुसार शीपमूलक तालीम तथा वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गर्दै आएको छ ।

यसरी सदस्यहरुको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएको संस्था विभिन्न समयमा जिल्ला पशु सेवा कार्यालय चरिकोट, दुग्ध विकास संस्थान पुल्चोक,  इफ्को फर्टिलाइजर इन्डिया, दोलखा दुग्ध उद्योग लि., जाइका नेपाल, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र जिल्ला सहकारी संघबाट पुरस्कृत तथा सम्मानित भएको छ ।

वित्तीय अवस्था

वि.सं. २०५२ साल कात्तिक १५ गते डिभिजन सहकारी कार्यालय, धुलिखेलमा दर्ता दर्ता भएर संचालनमा आएको संस्थाले तामाकोशी गाउँपालिका वडा नं. १,  भीरकोटमा रहेको आफ्नै दुई तलाको भवनमा कार्यालय स्थापना गरेको छ । हाल संस्थाको कार्यक्षेत्र तामाकोशी गाउँपालिका, बैतेश्वर गाउँपालिकाको केही भाग, मेलुङ गाउँपालिका, शैलुङ गाँउपालिकाका केही भाग र भीमेश्वर  नगरपालिकाको केही भागमा रहेको छ ।

गत माघ मसान्त सम्म ७ हजा ३ सय ३६ सदस्य, ५८ संस्था समुह र २ हजार ८ सय ४८ बाल सदस्य आवद्ध भएको संस्थाको शेयर पुँजी ३ करोड ५३ लाख ८१ हजार रुपैयाँ रहेको छ । बचत संकलन ३५ करोड २५ लाख ३३ हजार रहेको संस्थाले ३६ करोड ६८ लाख ६४ हजार रुपैया ऋण लगानी गरेको छ । यसैगरी जगेडा कोष २ करोड ५६ लाख, अन्य कोषहरु ६२ लाख ३० हजार र कुल कारोबार ४५ करोड ५ लाख रुपैयाँ रहेको छ ।

संस्थाले विभिन्न सेवा प्रदायकहरुसंग सहकार्य गरेर सदस्यहरु तथा आसपासका सेवाग्राहीहरुलाई मनी ट्रान्सफरको सेवा समेत उपलब्ध गराउँदै आएको छ । थप सेवा प्रदायकहरुसंग सहकार्य गरेर सेवा विस्तार गर्ने संस्थाले जनाएको छ ।