मिलिजुली कालिञ्चोक साकोसः एक चिनारी

मिलिजुली कालिञ्चोक साकोसः एक चिनारी
संस्था परिचय | 2024-04-12 Share

-अर्जुन खतिवडा

परिचय

दोलखा जिल्लाको सदसमुकाम चरिकोट बजारमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था २०५० साल भाद्र ७ गते स्थापना भई सोही वर्ष मंसिर २ गते डिभिजना सहकारी कार्यालय, काभ्रेपलाञ्चोकमा विधिवतरुपमा दर्ता भएर संचालनमा आएको हो ।

समाजमा ब्याप्त गरिवी अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरेर बचत गर्ने बानीको विकास गराउने र यसरी संकलन भएको पुँजी सदस्यहरु भित्रै परिचालन गरेर विभिन्न किसिमका सामाजिक उद्यमहरुको प्रवद्र्धन गर्नुका साथै महंगो ब्याजबाट सदस्यहरुलाई मुक्ति दिलाउन आवश्यक ठानेर यस संस्था स्थापना भएको हो । स्वास्थ्यकर्मी, शिक्षक, व्यापारी, गृहिणी, बैंकर्स, समाजसेवी, युवा, कृषकह गरी विभिन्न पेशा ब्यवसायमा आवद्ध २५ जना संस्थापक शेयर सदस्यहरु मिलेर संस्था स्थापना भएको हो ।

उद्देश्य

संस्थामा आवद्ध शेयर सदस्यहरुमा बचत गर्ने बानीको विकास गराउने र सदस्यहरुको आवश्यकता अनुसार कर्जा प्रदान गरेर उद्यमशील बनाउने मुख्य उद्देश्य रहेको छ । सदस्यहरुलाई प्रविधिमैत्री आधुनिक वित्तीय सेवा प्रवाह गर्नुका साथै उनीहरुलाई वित्तीय साक्षरता, कानूनी समस्या, स्वास्थ्य संकट, प्राकृतिक विपत्ति लगायतका भविष्यमा उत्पन्न हुनसक्ने सम्भावित जोखिमबारे सावधान बनाउँदै सामना शक्ति विकास गर्नका लागि निरन्तर तयारी र प्रयोगको बानी विकास गर्ने उद्देश्य लिएको छ ।

वित्तीय अवस्था

संस्थामा हालसम्म २५ हजार ५ सय ३९ जना शेयर सदस्य आवद्ध भएका छन् । जसमा १३ हजार ४ सय जना महिला र १२ हजार १ सय ३९ जना पुरुष रहेका छन् । यसका साथै ९ हजार ३ सय ३५ जना बाल बचतकर्ता (शेयर सदस्यका छोरा छोरीहरु) रहेका छन् ।

अहिलेको वित्तीय बजारको प्रकृति अनुरुप संस्थाको आर्थिक अवस्था सवल छ । विश्व परिवेशमा देखिएको आर्थिक मन्दीका कारण शेयर सदस्यहरुको आय स्तर केही कमजोर र मुद्राको क्रय क्षमता ह्रास भएका कारण सामान्य अवस्थाको तुलनामा ऋण असुलीमा केही असर परेको देखिन्छ । नेपालका सहकारीहरु पनि जर्मन मोडलमा रिजर्व बेस सहकारीकोरुपमा जानुपर्ने आवश्यकता देखिन्छ । जसले गर्दा लाभांश दवाव कम पर्दछ ।

यसको आधारमा हेर्दा संस्थाको शेयर पुँजी सन्तोषजनक देखिन्छ । बचत संकलनलाई पनि केही मात्रामा विश्व मन्दीले असर परेको देखिन्छ । संस्थामा कुल बचतमा ६५ प्रतिशत भन्दा बढी नियमित बचतको हिस्सा भएको कारणले बचतको अवस्थालाई राम्रो मान्न सकिन्छ । ऋण लगानी पहिलाको तुलनामा केही कम माग भएको देखिन्छ ।

सहकारीको मूल्य, मान्यता र सिद्धान्तभित्र बसेर सदस्य केन्द्रित कारोबार गर्दै आएको संस्थामा २०८० फागुन मसान्त सम्ममा शेयर पुँजी ७ करोड ७२ लाख ७४ हजार रुपैयाँ र निक्षेप संकलन ९५ करोड २३ लाख ३६ हजार रुपैयाँ पु¥याएको छ । यस्तै संस्थाको जगेडा कोषमा ८ करोड ९६ लाख ५८ हजार रुपैयाँ, विभिन्न कोषहरुमा ६ करोड ९३ लाख २१ हजार रुपैयाँ र कुल संस्थागत पुँजी ८ करोड ९८ लाख २५ हजार रुपैयाँ पुगेको छ । साथै शेयर सदस्यहरुलाई विभिन्न शीर्षकमा ९८ करोड ५ लाख ३३ हजार रुपैयाँ ऋण लगानी गरेको संस्थाको कुल सम्पत्ति १ अर्ब ३१ करोड २१ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

कर्जा लगानी

संस्थाबाट शेयर सदस्यले तुलनात्मकरुपमा सबैभनदा बढी ब्यापारिक प्रयोजनका लागि ऋण लिने गरेका छन् । संस्थाबाट ऋण लिएका शेयर सदस्यहरुले कृषि तथा ब्यापारमा लगानी गर्नुभएको छ । कृषि अन्तर्गत विशेषगरी तरकारी खेति रहेको छ । यस्तै गरी ब्यापार ब्यवसायमा ऋण लगानी भएको छ । यसरी ऋण लगरेर कृषि ब्यवसाय गर्नेहरु मध्येमा भीमेश्वर नगरपालिका क्षेत्रका सदस्य बढी हुनुहुन्छ ।

ब्यापार ब्यवसाय अन्तर्गत होटल ब्यवसाय सञ्चालन गर्ने लक्ष्मी होटलका मालिक यस संस्थाको सहयोगबाट ब्यवसाय संचालन गर्न सहज भएको कुरा बताउनुहुन्छ । उहाँ यस संस्थाबाट ऋण लिएर सफल ब्यवसाय गर्ने एकजना प्रतिनिधि पात्र हो । यसरी संस्थाबाट ऋण लिएर वित्तीय तथा सामाजिक प्रगति गर्ने शेयर सदस्यहरु धेरै हुनुहुन्छ । चरिकोट बजार क्षेत्रमा पहिला टहराहरु थिए । टहरामा ब्यापार सञ्चालन गर्ने शेयर सदस्यहरुले मिलिजुली बाट ऋण लिई गरेको लगानीबाट भएको आम्दानीले भवन बनाउन सफल भएको कुरा सुनाउनुहुन्छ । यस्तै सफलताहरु धेरै शेयर सदस्यहरुको सुन्न पाईन्छ ।

सेवा प्रवाह

संस्थाले आफ्ना शेयर सदस्यहरुलाई मुख्य कार्यालय र एघार वटा सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ । मुख्य कार्यालय लगायत सबै सेवा केन्द्रहरुलाई ईन्टरनेट र ईन्ट्रानेटको माध्यमबाट एकअर्काबीच जोडिएको छ । शेयर सदस्यहरुलाई मोबाईल बैंकिङ्ग, एटीएम कार्ड, क्युआर कोड जस्ता बिद्युतीय माध्यमबाट सेवा प्रवाह गरिरहेको छ ।

सदस्य सुरक्षा

संस्थाले शेयर सदस्यहरुलाई वित्तीय सेवाका साथै गैह्रवित्तिय सेवा पनि प्रवाह गरिरहेको छ । शेयर सदस्यको परिवारको मृत्यु हुँदा राहात सुविधा दिनका लागि कोष खडा गरेर संस्थाले सेवा प्रवाह गरिरहेको छ । महिला शेयर सदस्य सुत्केरी हुँदा जन्मेको शिशुलाई बाल बचतकर्ता बनाएर खातामा एक हजार रुपैयाँ जम्मा गर्ने गरिएको छ ।

संस्थामा शेयर सदस्य बनेको दश बर्ष पुरा भएको र उमेर सत्तरी बर्ष पुरा भएका शेयर सदस्यहरुलाई वार्षिक दुई हजार चार सय रुपैयाँ भत्ता वितरण गर्दै आएको छ । शेयर सदस्यहरुलाई वित्तीइ साक्षरता, कानुनी समस्या, स्वास्थ्य, प्रविधि र सम्भावित विपत्ति सम्वन्धी शिक्षा प्रदान गर्दै आएको छ । संस्थाको कार्यक्षेत्र भित्रका बिद्यालयहरुमा नियमितरुपमा वित्तीय साक्षरता सम्बन्धी तालिम संचालन गर्ने गरेको छ ।

सामाजिक उत्तरदायित्व

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थाले ट्राफिक नियम पालना गरेर होसियारीपूर्वक सवारी साधन चलाउन सजग गराउने, दैवी प्रकोकवात सिर्जना हुने विपतमा सहयोग गर्ने, प्रतीक्षालय निर्माण गर्ने, सार्वजनिक स्थानमा शौचालय निर्माण गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, ज्येष्ठ शेयर सदस्यहरुलाई टेक्ने लठ्ठी र लाईट वितरण गर्ने, दुर्गम स्थानहरुमा स्ट्रेचर वितरण गर्ने लगायतका कार्यहरु गर्दै आएको छ । संस्थाले आगामी दिनमा अझ समय सुहाउँदोरुपमा परिवर्तन गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ ।

भावी योजना

संस्थाको उद्देश्य बचत तथा ऋण भएकोले प्रविधियुक्त वित्तीय सेवा प्रवाह गर्ने संस्थाको प्रमुख लक्ष्य रहेको छ । यसको साथै हाल प्रदान गरिरहेका सेवाहरुलाई प्रविधिको माध्यमबाट सहजै लिन सक्ने बनाउने लक्ष्य रहेको छ । संस्थाले शेयर सदस्यहरुलाई अध्ययनशील बनाउनका लागि पुस्तकालय निर्माण गरी सञ्चालनमा ल्याएको छ भने निकट भविष्यमा ईपुस्तकालय तयार गर्ने योजना रहेको छ । यसैगरी संस्थाले सदस्यको उत्पादनको बजारीकरण गर्नका लागि संस्थाको मुख्य कार्यालयमा संचालन गरेको सदस्य उत्पादन प्रदर्शनी कक्षलाई थप ब्यवस्थित बनाउने भएको छ ।

उपलब्धि

संस्थामा आवद्ध भएका शेयर सदस्यहरुको आर्थिक उन्नति भएका धेरै उदाहरण छन् । संस्थाले वित्तीय पहुँच नहुने क्षेत्रमा गएर बचत गर्ने बानीको बिकास गराई उद्यमी बन्न उत्प्रेरित गरेको छ । बजार क्षेत्रमा धेरै शेयर सदस्यहरुले ब्यापार ब्यवसायमा लगानी गरेर राम्रो प्रगति गरेका उदाहरण छन् । संस्थाले एकका लागि सबै र सबैका लागि एक भन्ने  सामाजिक भावना विकास गरी खुसी साट्न र दुःख बाँड्न सिकाएको छ ।