पिङडाँडा कृषि सहकारी संस्था लिमिटेड: एक चिनारी

पिङडाँडा कृषि सहकारी संस्था लिमिटेड: एक चिनारी
संस्था परिचय | 2024-10-06 Share

परिचय

सिन्धुपाल्चोक जिल्लाको साविक ठोकर्पा गाउँ विकास समिति वडा नं. ५ हाल सुनकोशी गाउँपालिका वडा न. २ मा संचालन भएको पिङडाँडा कृषि सहकारी संस्था लिमिटेड मिति २०७२ साल चैत ७ गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भएको हो । संस्थाले कृषिसंग सम्बन्धित बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । 

मिति २०७२ माघ ८ गते ठोकर्पामा ब्यापार ब्यवसाय गर्ने व्यवसायीहरुलाई एकै छानामुनि गोलबद्ध गर्ने उद्देश्यले बन्सेचौर भन्ने ठाउँमा साबिक ठोकर्पा गाविस वडा नं. ४ हाल सुनकोशी १ का हिमबहादुर आचार्यको सक्रियतामा भेला बोलाई टंकबहादुर खत्रीको अध्यक्षतामा तदर्थ संचालक समिति गठन भएको थियो ।

स्थानीय  गोपालबहादुर खत्रीको घरमा एउटा कोठा भाडामा लिएर २८ जना संस्थापक सदस्यहरुबाट  प्रति सदस्य एक सय रुपैयाँ बचत संकलन गरेर संस्था संचालनमा ल्याईएको हो । मिति २०७९ साल पौष ३० को साधारण सभाले दिएको अधिकार प्रयोग गरी मिति २०७९ फागुन २६ गतेबाट यस सहकारी संस्थालाई पिङडाँडा कृषि सहकारी संस्था लिमिटेडबाट नाम संशोधन गरी पिङडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेड नामाकरण गरिएको हो ।

सुनकोशी–२ मा मुख्य कार्यालय राखेर सुनकोशी १, २, ३ र ५ का सदस्यहरुलाई सेवा दिँदै आईरहेको अवस्थामा वडा नं. १ का सदस्यहरुले सेवा लिन कार्यालय टाढा भयो भन्ने गुनासो गरेपछि सुनकोशी गाउँपालिकाबाट अनुमति लिएर वडा नं. १ मा सेवा केन्द्र संचालन गरेको छ । हाल  सुनकोशी ३ का सदस्यहरुले १ नम्वर सेवा केन्द्र मार्फत सेवा लिने गरेका छन् भने सुनकोशी ५ का सदस्यहरुले  मुख्य कार्यालय बाट नै सेवा लिदै आईरहेका छन् । 

संस्थाले सुनकोशी ५ मा २ वटा समुह निर्माण गरेर नियमित कारोबार गरिरहेको छ । सुनकोशी ५ र सुनकोशी ३ मा सदस्यता बिस्तार गर्ने कार्य तीव्र पारेको छ । हाल सुनकोशी गाउँपालिकाको सबै वडाहरुमा सेवा प्रवाह गर्न कार्यक्षेत्र विस्तारको स्वीकृत लिईसकेको संस्थाले निकट भबिष्यमा सबै वडाहरुमा सेवा केन्द्र विस्तार गर्दै जाने लक्ष्य लिएको छ ।  

उद्देश्य

स्थानीय व्यापार ब्यवसायीहरुलाई एकातवद्ध गर्नुपर्ने आवश्यकता महसुस गरेर स्थापना भएको संस्थाले सुनकोशी गाउँपालिका भरिका कृषकहरुलाई कृषि कार्यमा लगाई कृषिबाट संस्थाका सदस्यहरुलाई आत्मनिर्भर बनाउने मुख्य उद्देश्य बोकेको छ ।

आर्थिक आँकडा

संस्थामा ५ सय ५६ जना महिला, ५ सय ५२ जना पुरुष र अन्य संघ/संस्था २३ गरी १ हजार १ सय ३१ जना शेयर सदस्य आवद्ध बनेका छन् । संस्थामा २३ लाख ५४ हजार ८ सय रुपैयाँ शेयर पुँजी, २ करोड ३४ हजार ९ सय ८३ रुपैयाँ बचत र १ करोड ४९ लाख ८२ हजार २ सय १२ रुपैयाँ ऋण लगानी रहेको छ । संस्थाको कार्यालय भवन लगायत ९९ लाख १४ हजार ३ सय ५१ रुपैयाँ बराबरको सम्पत्ति रहेको छ ।

लगानी

संस्थाका सदस्यहरुले विशेषगरी कृषि, पशुपालन, तरकारी खेती, ब्यापार, बैदेशिक रोजगारी लगायतका शीर्षकमा ऋण लिने गरेका छन् । संस्थाले कृषकहरुलाई गाई भैंसी पालन गर्न ऋण लगानी गरेर तीन वटा स्थानमा दुग्ध संकलन केन्द्र संचालन गरेको छ । २०७२ मा महाभूकम्प गए पश्चात दुधको अभाव भएपछि ठोकर्पाको अधिकांश होटल पसलमा कालो चिया वा पाउडर दुधको चिया खाने गरिएको थियो ।

एकाध कृषकहरुले मात्र गाई भैंसी पालन गरेका थिए । यसलाई मनन् गरेर संस्थाले पशुपालन कर्जा लगानी गरी डेरी संचलनमा ल्याए पश्चात कृषकहरुले दुहुनो बस्तु पालन गरी अहिले सफल रुपमा डेरी संचालन भएको छ । यो एउटा सफल उदारण हो । 

संस्थाले अहिले सदस्यहरुलाई विद्युतीय माध्यमबाट समेत सेवा दिने गरेको छ । सदस्यले पैसा राख्न, झिक्न, बैंकमा पठाउन तथा अन्यत्रबाट पठाएको रकम झिक्न, बिजुलीको बिल, नेट तथा अन्य ई–भुक्तानीका कामहरु यसै संस्थाबाट सेवा दिने गरेको छ । 

गतिविधि

संस्थाले शेयर सदस्यहरुबीच बचत तथा ऋणको कारोबार गरिरहेको छ । यसका साथै संस्थाले आफ्नो उद्देश्य अनुसार पिङडाँडा दूग्ध डेरी संचालन गरेर दुध संकलन र विक्री वितरण गर्दैआएको छ । सामुदायिक बिउ बैंकमार्फत रैथाने बाली संरक्षण, संकलन तथा बिउ उत्पादन र बजारीकरणको कार्य गरिरहेको छ । साथै कृषक सदस्यहरुलाई कृषि सामग्री वितरण समते गर्ने गरेको छ । संस्थाका प्रमुख गतिविध यसप्रकार छन्ः

  • सफ्टवयरको माध्यामबाट  कृषक सदस्यहरुको बचत बैंक ट्रान्सफर ।
  • बिभिन्न प्रकारको बचत संकलन ।
  • बजारमा पिङडाँडा साना किसान कृषि सहकारी संस्थाको नामबाट उन्नत धान, र रामपुर कम्पोजिट मकैको बीउ बिक्री बितरण ।
  • ठोकर्पाको ३ स्थान, रैकरडाँडा, पिङडाँडा सहकारी चोक र छात्राबासमा दुग्ध संकलन ।
  • नियमित रैथाने बाली संरक्षण, प्रवद्र्धन र बिस्तार कार्य ।  
  • युवा स्वरोजगार कोषबाट ऋण लिई कृषकहरुलाई सरल ब्याजदरमा ऋण प्रबाह गरी आय आर्जन गराउने कार्यक्रम संचालन ।
  • नेपाल सरकारका बिभिन्न कार्यालय, गैर सरकारी संस्थाहरु सँग सहकार्य गरी  किसान राहात कार्यक्रम, आय आर्जन कार्यक्रम, भौतिक निर्माण कार्यक्रमहरु माग गरी कार्यक्रम संचालन ।
  • सुनकोशी २ काफ्ले बस्तिलाई पर्यावरणीय कृषि क्षेत्र बनाउन आवाश्यक कार्यहरु संचालन ।
  • सामुदायिक कृषि सूचना केन्द्र, कृषक पाठशाला र रैथाने बालीको सामुदायिक बिउ बैंक संचालन ।
  • दुग्ध उत्पादन गर्ने कृषकहरुलाई दुहुनो भैंसी खरिद गरी दुध बेच्ने उद्देश्य राखी भैंसी खरिद गर्न चाहेमा ९० प्रतिशत सम्म १२ प्रतिशत ब्याजदरमा ऋण लगानी ।
  • मासुजन्य र दुधजन्य लगानीलाई प्राथमिकता दिई लगानी ।
  • हाल स्थानीय निकायसंग समन्वय गरी गोठ सुधार, खोर सुधार बाख्रा वितरण, प्लाष्टिक टनेल, सिँचाई पोखरी लगायत कार्यक्रमहरु संचालन ।
  • सामुदायिक बिउ बैंक र कृषि सूचना केन्द्र अझ बढी प्रभाबकारी बनाउने र अवलोकन गर्न आउने  आन्तरिक र बाह्य संघ संस्थाहरुलाई टिकट लिई हेर्ने ब्यवस्था रहेको ।
  • महिला सशक्तिकरण गर्न महिला समुह र सहकारीलाई आवाश्यक सहयोग, महिला समुह गठन तथा सरकारी तथा गैर सरकारी संस्थाको सेवा सुबिधामा आवाश्यक सहजीकरण गर्ने गरेको ।
  • ठोकर्पाका पहरी समाजका लागी आय आर्जनको लगानीमा बढी प्रभावकारी बनाउन बिभिन्न कृषिका कार्यक्रमहरु माग र संचालनमा सहजीकरण गर्ने गरेको ।
  • युवा लक्षित कार्यक्रम अन्तर्गत फर्म दर्ता गरी ब्याबसाय गर्ने कृषकहरुलाई ब्यवसायिक योजनाको आधारमा आवाश्यक प्रकृया पुरा गरी ५ देखी १० लाख रुपैयाँ सम्म सरल कर्जाको व्यवस्था ।
  • कृषि सूचना केन्द्रमा पुर्खाले प्रयोग गर्ने गरेको कृषि सामाग्रीहरुको प्रदर्शन ।
  • सुनकोशी गाउँपालिका भरि पशु बिमा कार्यक्रम संचालन ।
  • कृषकहरुको विद्युत बिल लगायत अन्य महशुलको अनलाईन भुक्तानी ।
  • सुनकोशी १ को रुम्टी र सुनकोशी २ को सहकारी चोकमा सहकारी कार्यालय खोली बिभिन्न कृषिका कार्यहरु संचालन गरेको ।

भावी योजना

  • एक घर एक सदस्यका साथ साना किसान बैक सँग आबद्ध भई साना किसानको कार्यक्रम संचालन गर्ने ।
  • सदस्यहरुको रकम बैकिङ ट्रासफर कार्यक्रम संचालन गर्ने ।
  • बजारमा पिङडाँडा साना किसान कृषि सहकारी संस्थाको नामबाट बीउ बिक्री बितरण गर्ने ।
  • संकलन केन्द्र भवन सम्पन्न गरी कृषि संकलनको कार्य थालनी गर्ने ।
  • रैथाने बाली प्रर्बदन र बिस्तार गर्ने ।
  • साना किसान बैंक र युवा स्वरोजगार कोषबाट सहयोग लिई कृषकहरुलाई सरल ब्याजदरमा ऋण प्रबाह गरी आय आर्जन गराउने कार्यक्रम संचालन गर्ने ।
  • नेपाल सरकारका बिभिन्न कार्यालय, गैर सरकारी संस्थाहरु सँग सहकार्य गरी  किसान राहात कार्यक्रम, आय आर्जन कार्यक्रम, भौतिक निर्माण कार्यक्रमहरु माग गरी कार्यक्रम संचालन गर्ने  ।
  • सुनकोशी २ काफ्ले बस्तिलाई पर्यावरणीय कृषि क्षेत्र बनाउन आवाश्यक कार्यहरु संचालन गर्ने
  • ५० लाख रकम पशुपालन कर्जामा सहुलियत ऋण लगानी गर्ने  ।
  • मासु जन्य र दुग्ध जन्य लगानीमा प्राथामिकता दिने । 
  • स्थानिय निकाय सँग समन्वय गरी  बिभिन्न कृषिका कार्यहरु संचालन गर्न आवाश्यक कार्यहरु संचालन गर्ने ।

सामाजिक उत्तरदायित्व

संस्थाले खडा गरेको आकस्मिक राहत कोषमा रकम जम्मा गर्ने सदस्यहरु आकस्मिक दुर्घटनामा परेको अवस्थामा अस्पताल लैजान र सुत्केरी हुन नसकेर स्वास्थ्य संस्थामा लानुपर्ने अवस्था उत्पन्न हुँदा यातायात खर्च उपलब्ध गराउने गरेको छ ।

यदी कुनै शेयर सदस्यको घरमा परिवारका सदस्यको मृत्यु भएमा भेटघाट गरेर समवेदना सहित ५ हजार रुपैयाँ सहयोग गर्ने गरेको छ  । संस्थाले कुनै सदस्यलाई आकस्मिकरुपमा अस्पताल लानुपर्ने भएमा ऋण स्वरुप तत्काल २० हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ ।