किन देखियो सहकारीमा समस्या ?

किन देखियो सहकारीमा समस्या ?
बिचार/दृष्टिकोण | 2025-01-10 Share

–डा. डिल्ली पोखरेल

अध्यक्ष, कोशी प्रदेश सहकारी संघ लि.
                                             
नेपालको संविधान २०७२ को निर्देशक सिद्धान्त अन्तर्गतको धारा ५०(३) मा सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र श्रोतको अधिकतम परिचालनद्धारा तीब्र आर्थिक वृद्धि हासिल गरिने कुरा उल्लेख छ । परम्परागत रुपमा चल्दै आएको सरकारी (सार्वजनिक) र नीजि क्षेत्रबाट मात्र मुलुकको समग्र बिकास सम्भव छैन भन्ने कुरा संविधान मार्फत नै राज्यले स्विकारेको अवस्था हो । 

यस्तो अवस्थामा सहकारीलाई सार्वजनिक र नीजि सरह मजबुत बनाउदै अगाडी बढ्न सके मात्र मुलुकको उन्नती र प्रगती हुन सक्दछ । जसका लागि सबैले हातेमालो गर्दै सहकारी क्षेत्रलाई पनि अन्य क्षेत्र जस्तो दरिलो बनाउनु पर्दछ । राज्यले नीतिगत र व्यवहारिक रुपले सहज वातावरण बनाईदिने, प्रोत्साहन गर्ने, संरक्षण गर्ने र प्रबर्धन गर्ने कुरामा कुनै कन्जुस्याई गर्नु हुदैन । सहकारी क्षेत्रले पनि प्राप्त यो अवसरलाई पूर्ण रुपले सदुपयोग गर्न सक्नु पर्दछ ।

कोरोना महामारी अघिसम्म सहकारी प्रतिको आकर्षण ब्यापक रुपमा वृद्धि भएको थियो । यद्यपि यो क्रममा अहिले सम्म पनि खासै ह्रास आएको पाईन्न । यसको ज्वलन्त उदाहरणका रुपमा कोशी प्रदेशका सहकारी संघ÷संस्थाहरु र तिनका केहि तथ्यांकहरुलाई विश्लेषण गर्दा पनि ज्ञात हुन्छ । कोशी प्रदेश हिमाल, पहाड र तराई सम्म फैलिएको प्रदेश हो । 

कोशी प्रदेशमा पालिका र प्रदेश दुबैको नियमन क्षेत्राधिकार भित्र गरी कूल ४९१३ वटा सहकारी संघ÷संस्थाहरु रहेका छन् । यी संस्थामा २१ लाख ७८ हजार ५ सय तीन जना शेयर सदस्यका रुपमा आवद्ध छन् । यो संख्या कोशी प्रदेशको कूल  जनसंख्याको झन्डै ४४ प्रतिशत हो । यति धेरै संख्याका बासिन्दालाई सदस्यका रुपमा आवद्ध गर्न सक्नु आफैंमा सहकारी क्षेत्र प्रति आम मानिसको आकर्षणको एउटा दरिलो उदाहरण हो ।                    

वित्तिय कारोबारका आधारमा पनि सहकारी क्षेत्रले एउटा उचाई प्राप्त गरेको तथ्यांक छ । कोशी प्रदेशमा मात्र पनि सहकारी क्षेत्रबाट झन्डै १५ खरब बराबरको कारोवार हुने गरेको छ । यस प्रदेशका लाखौं मानिसले सहकारीबाट झण्डै १२ खरब कर्जा लिएर आना आवश्यकताहरुको पूर्ति गरिरहेका छन् । प्रदेशका सबै जिल्ला, जिल्लाका सबै पालिका अनि पालिकाका सबै वडा र गाउँहरुमा सहकारीको संजाल विस्तार भएको छ । 

ग्रामिण अर्थतन्त्रलाई माथि उठाउन, बचत गर्ने बानी बसाउन, सर्वसाधारणलाई मौद्रिक कारोवारमा जोड्न, सिमान्तकृत वर्गको चेतना अभिवृद्धि गर्न, महिला शसक्तिकरण गर्न र सामूहिक भावना जागृत गराई समाजमा सबैको अस्तित्व र आवश्यकता महसुस गराउन सहकारी क्षेत्रको भूमिका साच्चीकै गुणनीय छ ।
पछिल्लो समयमा आएर सहकारी प्रति नकारात्मक धारणा वृद्धि भईरहेको देखिन्छ ।

कोभिड–१९ महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण उब्जीएको समस्याको प्रभाव मुलुकका सबै क्षेत्रमा देखापरेको छ । खासगरीकन कोभिड महामारी पछि वित्तिय क्षेत्रमा देखापरेको तरलताको समस्याले सहकारी क्षेत्र बढी प्रभावित भयो । सहकारीले ब्यापक क्षेत्र ओगट्नु, ठूलो संख्यामा मानिसहरुको प्रत्यक्ष संलग्नता हुनु, न्यूनआय, कमजोर आर्थिक अवस्था र सिमान्तकृत वर्गका मानिसहरुको बढी संलग्नता हुनु जस्ता कारणले सहकारीमा देखापर्ने सानो पनि असहजताको प्रभाव र प्रचार ब्यापक हुनु स्वभाविक हो । 

समस्या सबै क्षेत्रमा छन तर सहकारी क्षेत्रको समस्याको प्रभाव ब्यापक देखिए झै लाग्दछ । अझ सहकारी समस्यामा राजनीतिक ब्याक्तिहरुको संलग्नताले त झन यसको प्रचार प्रसारमा ठूलै आँधिबेरी नै आएकोछ । सर्वसाधारणलाई सहकारी प्रति नकरात्मक धारणा बनाउन र सहकारीका बिरोभीहरुलाई आफ्नो आवाज बढाउन यस क्षेत्रमा राजनीतिक ब्याक्तिहरुको नाम जोडिनुले मलजल गरेकोछ । 

पछिल्लो समय सहकारीमा समस्या आउनुका केहि कारणहरु छन् । यस्ता कारणहरु केहि बाह्य छन् भने केहि आन्तरिक छन् । बाह्य कारणहरु समय क्रमसँगै आफै हराएर जान्छन र त्यसको प्रभाव अल्पकालिन हुन्छ तर आन्तरिक कारणलाई भने तत्काल निराकरण गर्न नसके दिर्घकालिन प्रभाव पर्दछ र संस्थागत जिवन नै समाप्त हुने खतरा हुन्छ । पछिल्लो समयमा सहकारी क्षेत्रमा देखापरेका समस्या मध्ये बलियो संस्थागत प्रणालीको अभाव प्रमुख रहेको छ । 

सहकारी संचालनका निश्चित ऐन, कानुन र नियमहरु छन । अन्तराष्ट्रिय स्तरमै सहकारी मूल्य, मान्यता र सिद्धान्तहरु प्रतिपादित भएका छन् । राष्ट्रिय स्तरमा पनि यसको संचालनलाई ऐन, कानुनले निर्देशित गरेकाछन् । तर तिनिहरुको ब्यवस्थित कार्यान्वयन हुन सक्यो की सकेन ? प्रश्न चिन्ह लाग्न थालेको छ । पछिल्लो समय समस्यामा परेका सहकारीहरुको अध्ययन गर्दा अधिकांश संस्थाका संचालकहरुको नियतमै खोट देखिएकोछ । यस्ता संस्थाका अधिकांश संचालकहरुले जानी जानी संस्थामा बदमासी गरेको पाईएको छ । 

यसैगरी अर्को समस्याको कारणमा संस्थाका सदस्यहरुमा सहकारी सम्वन्धि ज्ञानको कमी देखिन्छ । संस्था संचालनका क्रममा निश्चित रकम अनिवार्य रुपमा सहकारी शिक्षा तथा तालिमका लागि छुट्टयाइएको हुन्छ तर उक्त रकमलाई सोही प्रयोजनमा खर्च गरेको देखिदैन । कुनै संघ/संगठन, संस्थालाई कुशलतापूर्वक संचालन गर्नका लागि मानवसंशाधनको महत्वपूर्ण भूमिका रहन्छ । अझ बर्तमान समयमात प्रबिधि सहितको मानव संशाधनको नितान्त जरुरी पर्दछ । सहकारी क्षेत्रमा दक्ष जनशक्ति र प्रबिधिमैत्री कारोवारको समेत कमी देखिएको छ । 

समस्याग्रस्त सहकारी संस्थाहरुको अध्ययन गर्दा त्यस्ता संस्थाहरुको ब्यवस्थापकिय कमजोरी अर्को नकरात्मक पक्ष रहेको देखिन्छ । त्यसैगरी संस्थाका सम्पूर्ण कारोवारहरुको पारदर्शिताको अभाव देखिन्छ । संस्थाका शेयर सदस्यहरु उक्त संस्थाका मालिक हुन । उनीहरुले संस्थाको सम्पूर्ण जानकारी चाहेका बखत प्राप्त गर्न सक्ने अधिकार राख्दछन् तर त्यसको अभाव देखिएकोछ । जसले गर्दा संचालकहरुलाई स्वच्छचारी रुपले संस्था चलाउनमा प्रोत्साहन मिलिरहेको छ । संस्था दर्ता गरीदिने नियामकिय निकायको निश्क्रियता पनि सहकारीमा समस्या देखा पर्नुको अर्को कारणमा पर्दछ । दर्ता गरीदिने तर त्यसको रेखदेख, अनुगमन, निरिक्षण र मार्गनिर्देश भने नगर्ने कारणले पनि सहकारी संस्थाहरुमा अलिक बढी स्वच्छचारीता आएको महशुस गर्न सकिन्छ ।  

मूल कुरा सहकारीको आधारभूत मूल्य, मान्यता र सिद्धान्त कै बारेमा सर्वसाधारणमा ज्ञान पु¥याउन सकेको अवस्था छैन । सहकारी भनेको सदस्यमा केन्द्रित, समूदायमा आधारित र स्वनियमनमा संचालित स्वायत्त संस्था हुन भन्ने कुरा सदस्यलाई राम्ररी बुझाउन सक्दा मात्र पनि हालका अधिकांश समस्या समाधान भएर जान्छन् । सहकारीमा रहेका हरेक सदस्यले हरेक सदस्यलाई चिन्दछन् र उनीहरु नजिकबाट एकआपसमा परिचित हुन्छन् भन्ने सामान्य मान्यता लिईन्छ । यसरी नजिकका परिचित व्यक्तिहरु मध्येबाट संचालक समिति छानिन्छ र त्यही संचालक समितिले तिनै परिचित सदस्यहरुका लागि काम गर्दछन् । यसो हुँदा सदस्यले सहकारी प्रति विश्वास नगर्नु पर्ने र संचालकले सदस्यमाथि विश्वासघात गर्ने भन्ने कुरा सहकारीमा कल्पना पनि गर्न सकिन्न । 

तर यो आधारभूत मान्यतालाई कुल्चिएर मेची देखि महाकाली सम्म कार्यक्षेत्र बनाउने, दर्जनौ शाखा, प्रशाखा, काउन्टर र कलेक्सन केन्द्र बनाउने, नाममात्रका हजारौं सदस्य बनाउने, अनियन्त्रित कारोवार गरेर ठूलो पल्टने होड नेपालमा पछिल्लो समय चल्दै आएकोछ । सदस्यलाई संस्थाको संचालक समितिको अध्यक्षका बारेमा प्रहरीबाट पक्राउ परेपछि मात्र थाहा पाउने जस्तो अवस्था अहिले देखिएको छ । 

आफू र आफ्नालाई मात्र कर्जा प्रवाह गर्ने, आफै उपभोग गर्ने, आफैंले व्यवशाय संचालन गर्ने, अनुत्पादक क्षेत्रमा लगानी गर्ने, सहकारीको लिमिटेड शब्दलाई प्रा.लि. कारुपमा प्रयोग गरी गैर सहकारी क्रियाकलाप गर्ने सहकारी संस्थामा अहिलेको समस्या बढी आएको पाईन्छ । तिनै गलत नियतबाट संचालित सहकारी संस्थामा आएको समस्याबाट प्रभावित भएर राम्रा भए पनि समस्यामा परेका अरु केही सहकारी संस्थाहरु पनि छन् । नियतबस गलत गर्नेलाई दण्डीत गर्ने र प्रभावितहरुलाई संरक्षण गर्ने तर्फ राज्यको ध्यान जानु आवश्यक देखिन्छ ।            

सहकारीमा देखापरेका यस्ता समस्याहरुलाई क्रमशःन्यूनीकरण गर्दै जानुपर्दछ । यसका लागि संस्था एक्लैको प्रयास मात्र पनि पर्याप्त हुदैन । राज्य, सहकारी अभियान र सबै पक्ष एकाकार भएर समस्या समाधान तर्फ लाग्नु आवश्यक छ । सदस्यहरु संगको सामिप्यता र उनीहरुको विश्वास आर्जन आजको प्रमुख आवश्यकता हो । आत्म सहयोग, जवाफदेहिता, लोकतान्त्रिक व्यवस्थापन, समानता, न्याय र ऐक्यवद्धता कायम गर्न सके सहकारीका अधिकांश समस्याहरु समाधान भएर जान्छन् ।

Email: pokhreldill@gmail.com