धौलाश्री सहकारीको २२औं वार्षिक साधारण सभामा विभिन्न व्यक्ति सम्मानित

धौलाश्री सहकारीको २२औं वार्षिक साधारण सभामा विभिन्न व्यक्ति सम्मानित
समाचार | 2025-01-13 Share

काठमाडौं । गोङ्गबु, सामाखुशी, टाउनप्लानिङ्गमा कार्यालय रहेको धौलाश्री बहुउद्देश्यीय सहकारी संस्थाले २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष याम बहादुर श्रेष्ठको सभापतित्वमा पुस २७ गते आयोजित सभा राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि थाम्सुहाङले सहकारी संस्थाहरुले वार्षिक साधारण सभा आयोजना गर्दा खुला सत्रलाई संक्षिप्तरुपमा संचालन गरेर बन्द सत्रलाई लामो बनाउनुपर्ने बताईन ।

पछिल्लो समय सिंगो सहकारी अभियान नै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले जताततै सहकारीको नकारात्मक असर देखिएको गुनासो गरिन ।

सहकारी ऐन, कानुन, सिद्धान्त पालना गरेर संचालन भएका ८० प्रतिशत सहकारी संस्था अब्बल रहेको धारणा राखिन । महाप्रवन्धक थाम्सुहाङले सरकारले हालै जारी गरेको सहकारी अध्यादेशमा उल्लेख भएका केही ब्यवस्थाबारे महासंघले गम्भीर आपत्ति जनाईसकेको जानकारी गराईन ।

उनले भनिन्, ‘सहकारी अध्यादेशमा भएका नियन्त्रणकारी प्रावधानहरु संशोधन गर्नुको विकल्प छैन । यसका लागि सबै संघ संस्था अध्यादेशका विरुद्ध उत्रिनु पर्छ ।’

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरीले सहकारी ऐन, कानु, सहकारी सिद्धान्त, सहकारी अध्यादेश लगायतका विषयमा चर्चा गरे । उनले सहकारी संस्थाका संचालक र शेयर सदस्यहरुको काम, कर्तव्य र जिम्मेवारीका विषयमा प्रशिक्षण प्रदान गरे ।

समारोहरमा राष्ट्रिय सहकारी बैंक लि.,गोंगबुँ शाखाका प्रवन्धक विष्णु गिरी लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिको आतिथ्य रहेको थियो ।

साधारण सभामा संस्थाका अध्यक्ष याम बहादुर श्रेष्ठले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०८०÷८१ को वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक बेदनाथ सुवेदीले लेखा परीक्षण प्रतिवेदन पेश गरे ।

साधारण सभामा पेश भएको प्रतिवेदन अनुसार गत आ.व.को अन्त्य सम्ममा संस्थामा आवद्ध भएका १ हजार २ सय २२ जना शेयर सदस्यहरुबाट ३ करोड ३२ लाख २३ हजार रुपैयाँ शेयर पुँजी संकलन भएको छ । 

यस्तै गत आ.व.मा संस्थाको निक्षेप संकलन वृद्धि भएर २७ करोड ७८ लाख ७२ हजार रुपैयाँ र कर्जा लगानी २७ करोड ७३ लाख ९३ हजार रुपैयाँ कायम भएको छ । 

साधारण सभाले गत आ.व.को कारोबारबाट आर्जन गरेको मुनाफाबाट शेयर सदस्यलाई तीन प्रतिशतका दरले लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

विभिन्न ब्यक्तिलाई सम्मान

संस्थाले साधारण सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी र संस्थाको उन्नतिका लागि योगदान दिने विभिन्न ब्यक्तिलाई सम्मान समेत गरेको छ । 

संस्थाले ज्येष्ठ नागरिक सम्मान अन्तर्गत यस वर्ष लामो समय देखि संस्थामा नियमिन कारोबार गर्दै आएका ज्येष्ठ शेयर सदस्य रामलाल श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

यस्तै नियमित एवं उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य मध्ये महिलातर्फ बिमला श्रीष र पुरुष तर्फ नर बहादुर बि.सी. (बानियाँ)लाई प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको छ ।

संस्थामा राखिएको सदस्य आगन्तुक पुस्तिकामा वर्ष भरिमा सबैभन्दा बढी उपस्थिति जनाएर नियमित कारोबार गर्ने शेयर सदस्य सुष्मा श्रेष्ठ र भरत कुमार श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।

संस्थाले आफ्ना कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्य सम्पादन गर्ने रिसेप्सनिस्ट विदिशा श्रेष्ठ पोखरेललाई प्रशंसापत्र सहित नगद पुरस्कार प्रदान गरेको छ ।

यस्तै संस्थाले स्थापना कालदेखि संचालक समिति र लेखा समितिमा रहेर योगदान दिने पूर्व संचालकहरुलाई समेत कदरपत्र सहित सम्मान गरेको थियो ।

संस्थाले आफ्ना पूर्व उपाध्यक्षत्रय डा. हिरा बहादुर मल्ल, सरोज कुमार श्रेष्ठ र तारा कुमारी श्रेष्ठ जोशी तथा पूर्व सचिवत्रय दिनेश नारायण श्रेष्ठ दीनानाथ पौडेल र पदमलाल सापकोटालाई कदरपत्र प्रदान गरेको हो ।

कार्यक्रममा संस्थाका तीन जना पूर्व संचालक समिति सदस्य दिप बहादुर छन्त्याल, नारायण क्षेत्री (जि.सी.) र महेश कुमार श्रेष्ठ पनि कदरपत्रबाट सम्मानित भए ।

संस्थाको लेखा सुपरीवेक्षण समितिका पूर्व संयोजक बेक प्रसाद पुर्जा र सदस्य यिम बहादुर खड्का (महेन्द्र)लाई पनि प्रमुख अतिथिको हातबाट कदरपत्र सहित सम्मानित गरिएको थियो ।