‘समानता र समतायुक्त राजनैतिक दर्शन प्रति मेरो झुकाव छ’

‘समानता र समतायुक्त राजनैतिक दर्शन प्रति मेरो झुकाव छ’
सहकारी व्यक्तित्व | 2025-03-07 Share

दोलखा जिल्लाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपाने ४६ वर्ष अघि सुर्खेत जिल्लाको उत्तरगंगामा जन्मनुभएको हो । ब्यवस्थापन विषमा स्नातकोत्तर र शिक्षा र कानुनमा स्नातक तह सम्म अध्ययन गर्नुभएका न्यौपाने शिक्षण पेशा हुँदै सहकारी क्षेत्रमा प्रवेश गर्नुभएको हो । अधिवक्ता समेत रहनुभएका उहाँ समय अभाव भएका कारण पछिल्लो समय अध्यापनलाई निरन्तरता दिन नसकेको बताउनुहुन्छ । प्रस्तुत छ सीईओ न्यौपानेसंग उहाँको जीवन र सहकारीको विषयमा केन्द्रित रहेर गरिएको अन्तरङ्ग कुराकानीको सम्पादित अंशः

पारिवारिक पृष्ठभूमि

मेरो जन्म कर्णाली प्रदेश, सुर्खेत जिल्लाको उत्तरगंगामा २०३५ साल बैशाख २४ गते भएको हो । सानो हुँदा परिवारमा हजुरबुबा, हजुरआमा, बुबा, आमा र दुई बहिनी थिए । मेरो वाल्यकाल घरमा बुबा आमासँग सिकाई गर्ने क्रममा नै वित्यो । वाल्यकालमा गाउँका साथीहरु थिए । जहाँ म हुर्कें त्यहीका साथीभाईको संगतमा थिएँ । 

वाल्यकालमा घटेको यादगार घटना स्मरण गर्दा कक्षा तीनमा अध्ययनरत रहको बेला एकदिन अन्य साथीहरु एक आपसमा चलिरहेका थिए । म कक्षामा बसेर हेरिरहको थिएँ । दुर्घटनावश उनीहरुले एक अर्कालाई हिर्काएको ढुंगाले मलाई लाग्यो र म घाईते भएँ । यो घटना मलाई याद आईरहन्छ ।

शिक्षा

मेरो औपचारिक शिक्षा तत्कालीन कालिका प्राथमिक बिद्यालय (हाल माध्यामिक बिद्यालय) मेलुङ–२, दोलखा बाट सुरुवात भएको हो । बिद्यालयमा अध्ययरत हुँदा कक्षामा सहभागी हुने, बिहान बेलुका गृहकार्य गर्ने र केही समय खेलकुदमा सामेल भएर दिनचर्या बित्ने गर्दथ्यो । 
मैले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल कमर्स क्याम्पस, मिनभवन काठमाडौंबाट व्यवस्थापनमा स्नातकोत्तर, नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौंबाट कानुनमा स्नातक र सानोठिमी क्याम्पस, भक्तपुरबाट शिक्षामा स्नातक तह सम्मको अध्ययन पुरा गरेको छु । साथै मैले अधिवक्ताको लाईसेन्स समेत उत्तीर्ण गरेको छु । 

घरपरिवार 

अहिले मेरो परिवारमा आमा, श्रीमती, एक छोरा र दुई छोरी  छन् । मेरो मागी बिबाह भएको हो । योवनमा कसैसंग प्रेम गर्न जानीनँ ।

रुची 

मलाई खानपानमा सादा तथा चिल्लो रहित खानेकुरा मन पर्छ । मलाई डाक्टरले मापसे हेर्नुमात्र, नगर्नु भन्नुभएको छ । त्यसैले म मदिरा सेवन गर्दिनँ । मलाई बेदना प्रस्तुत भएको, उत्प्रेरणात्मक र फास्ट ट्रयाकको गीत संङ्गीत सुन्न मन पर्छ । खेलकुद फुटबल र क्रिकेट मन पर्छ । 

देशभक्तिपूर्ण भाव भएका चलचित्र राम्रो लाग्छ । मसंग खासै फुर्सदको समय छैन । कहिलेकाहीँ फुर्सद निस्केको अवसरमा परिवार र साथीभाईसँग वित्छ । साहित्य सिर्जना, अध्ययन र लेखनको कुरा गर्दा वित्तिय क्षेत्रको विश्लेषणात्मक लेख अध्ययन गर्छु । मलाई सफलताका कथा भएका उत्प्रेरणात्मक पुस्तक पढ्न मन लाग्छ । मैले समय समयमा सहकारी, सहकारिता, सहकारी सुशासन लगायतका विषयमा कलम चलाउने गर्दछु ।

मैले मुलुकका लगभग ५० जिल्ला घुमेको छु । विदेशमा चिन, भारत, श्रीलंका, माल्दिभ्स्, बंगलादेश, थाईल्याण्ड, मलेशिया, सिंगापुर र ईण्डोनेसिया घुमेको छु । जीवनमा गरेको भूल बारे कुरा गर्दा नेपालको राजनैतिक अवस्था, राजनीतिज्ञ र राज्य सञ्चालन प्रणाली हेर्दा किन बेलैमा युरोप, अमेरिका, अष्ट्रेलिया नगएर यहीँ बसेछु भन्ने महसुस हुने गरेको छ । मैले कुनै ठूलो सपना देखेको छैन । आत्मसम्मानका साथ स्वाभिमानी भएर सुशासित जीवन जीउने मात्र लक्ष्य छ ।

भाग्य

मेरो राशी बृष हो । म भाग्यमा भन्दा श्रममा बढी विश्वास गर्छु । सानो छँदा चिना हेराउने गरिएको थियो । मृत्यु मानव जीवनको अनिवार्य कुरा हो । केही मानिसहरु मर्नुपर्दैनकी भने झैं गरेर अनैतिक तथा गैरकानुनी तबरले कमाउन र अरुलाई पछार्न उद्यत भएको देख्दा धृणा लाग्छ ।

आस्था र सामाजिक गतिविधि

राजनीति राज्यको सर्वोच्च नीति हो । तर हाम्रो देशमा त्यसरी प्रयोग नभएको देख्दा मलाई अत्यन्त दुःख लाग्छ । म सक्रिय राजनीतिमा संलग्न भएको छैन । मतदान गर्न चाहिँ जान्छु । तर अहिले खासै मतदान गर्न जाँगर लाग्ने परिस्थिति हाम्रो देशमा छैन । यद्यपी समानता र समतायुक्त राजनैतिक दर्शन प्रति मेरो झुकाव छ । तर बिडम्वना हाम्रो देशमा यस्तो दर्शन प्रयोग भएको छैन ।

सामाजिक सेवाको कुरा गर्दा म सहकारीका कर्मचारीहरुको क्षमता विकासका लागि जिल्ला स्तरीय र केन्द्रीय स्तरका प्रमुख कार्यकारी अधिकृतहरुको फोरममा आवद्ध छु । 

व्यवसायिक जीवन

मैले विगतमा बिहानको समयमा कलेजमा अध्यापन गर्ने गर्दथेँ । त्यसैले दिनमा फुर्सद थियो । त्यसै क्रममा प्राध्यापक श्री प्रेम प्रसाद अधिकारीका साथै हाल म कार्यरत संस्थाका पूर्व अध्यक्षहरु श्री रामदास श्रेष्ठ, श्री गंगा सागर श्रेष्ठ, श्री कृष्ण बहादुर दाहाल र श्री नारायण बहादुर श्रेष्ठसँग मेरो भेट भयो । उहाँहरुले मलाई सहकारीमा काम गर्नका लागि सुझाव दिनुभयो र यस क्षेत्रमा प्रवेश गरेँ । 

मलाई परिवारले नेपाल सरकारको सेवामा प्रयास गर्न उत्प्रेरित गर्नुभएको थियो तर म यता लागेँ । सहकारीमा लागेर घरपरिवार संचालन गर्न सक्नेगरी व्यवसायिक हुन सम्भव तर सम्मानको लागि थप व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । मलाई सहकारिता भनेको मानव सभ्यताको सबैभन्दा अमूल्य चिज हो भन्ने लाग्छ । सहकारीमा संलग्न भएपछि समय अपुग भएकाले अध्यापनको कर्म भने छोडेको छु ।

संलग्न सहकारी

हाल म आवद्ध सहकारी समुदायमा आधारित संस्था हो । नेफ्स्कूनको स्तरीकरण कार्यक्रम एक्सेस र सियुलेगमा आवद्ध छ । हाल संस्थाले सदस्यहरुलाई प्रभावकारी सेवा प्रवाह गरेर उहाँहरुको निरन्तर रुपमा विश्वास जित्न सफल भईरहेको छ । पल्र्स मोनिटरीङ प्रणाली र वासेलका केही सूचकहरुलाई आधार मानी संस्था सदस्य सेवामा निरन्तर अगाडि बढीरहेको छ ।

संस्थामा हाल १२ हजार ७ सय २३ जना महिला र ११ हजार ४ सय ४० जना पुरुष शेयर सदस्य तथा ८ हजार ३ सय ८० बालबचतकर्ता गरी जम्मा ३२ हजार ५ सय ४३ जना बचतकर्ताहरु आवद्ध हुनुहुन्छ । २०८१ माघ मसान्त सम्ममा संस्थाको शेयर पुँजी ७ करोड ३३ लाख ४८ हजार रुपैयाँ, निक्षेप संकलन १ अर्ब ७ करोड २५ लाख ७ हजार रुपैयाँ र ऋण लगानी ९७ करोड १८ लाख ६७ हजार रुपैयाँ कायम भएको छ । संस्थाको जगेडा कोषमा ९ करोड १० लाख ३ हजार रुपैयाँ, अन्य कोषहरुमा ८ करोड १० लाख ५६ हजार रुपैयाँ र कुल सम्पत्ति १ अर्ब ३५ करोड ४९ लाख ८९ हजार रुपैयाँ रहेको छ । 

यसरी संस्थाले शेयर पूँजी, निक्षेप, कर्जाको अवस्था पल्र्स अनुमगन प्रणालीको निर्देशन बमोजिम व्यवस्थापन गर्दै अगाडि बढीरहेको छ । पछिल्लो समय बचत संकलनमा बृद्धि भएको तर कर्जा लगानी पहिला पहिलाको तुलनामा त्यति उत्साहजनक देखिँदैन । यसो हुनुको कारण देशमा आर्थिक शिथिलता कायम रहनु हो । समग्रमा संस्थाको आर्थिक अवस्था राम्रो छ ।

संस्थाका भावी योजना

सदस्यको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने, शेयर सदस्यहरुलाई प्रविधि प्रयोग गराउनमा बिशेष जोड दिने, ग्रीन फाईनान्सिङमा जोड दिने, शेयर सदस्यहरुलाई उत्पादनमा लाग्न थप उत्प्रेरित गर्ने र उत्पादित बस्तुहरुको बजारीकरणमा सहयोग गर्ने योजना तथा कार्यक्रमलाई संस्थाले विशेष प्राथमिकतामा राखेको छ ।

सहकारी अनुभव

राज्यको संविधान, सहकारी ऐन, नियमावली, सहकारीसँग सम्बन्धित अन्य ऐन कानुन बमोजिम सबै संस्था सञ्चालन हुनुपर्ने हो । तर केही संस्था त्यसरी सञ्चालन भएका छैनन् । अन्य केहीलाई देखाएर उल्लेखित ऐन नियमावलीमा व्यवस्था भए भन्दा खुकुलो तरिकाबाट सेवा खोज्ने प्रवृत्तिले सहकारी क्षेत्रमा कार्य गर्न केही असहजता उत्पन्न भएको छ । हुनत त्यही खुकुलो गरी सञ्चालन गर्नेहरुलाई अहिले गाह्रो परेको देखिन्छ । आशा गरौं अव सबैको बुद्धि पलाउँनेछ । 

साधारण सभाले संस्थाको सञ्चालक समितिमा सहकारी, सहकारिता, सहकारीको सिद्धान्त, मूल्य र मान्यता बुझेका सदस्यलाई निर्वाचित गर्न गराउन नसक्नुले पनि सहकारी क्षेत्रमा असहजता ल्याएको छ । लेखाको नियमनै थाहा नभएको ब्यक्ति लेखा सुपरीवेक्षण समिति संयोजक÷सदस्य र कोषाध्यक्ष हुँदा संस्थामा कार्य गर्न थप कठिनाई हुने गरेको छ । 

सहकारी संस्थामा कार्यरत सबै कर्मचारीहरु ब्यवसायिक नभएकाले पनि सहकारी क्षेत्रमा समस्या देखिएको छ । सहकारीमा राम्रा हैन हाम्रालाई बढी प्राथमिकता दिने र दक्ष जनशक्तिको अभाव पनि सहकारी संस्थाको लागि समस्या देखिन्छ । सहकारी बुझेकै व्यक्तिहरु र हुनेखानेहरुलेनै सहकारी संस्थाबाट लगेको ऋणको किस्ता र व्याज बुझाउन आलटाल गर्नु पनि सहकारी क्षेत्रको समस्या हो ।

सहकारी क्षेत्रमा विद्यमान अस्वस्थ्य प्रतिस्पर्धा पनि भावी दिनमा यस क्षेत्रका लागि थप घातक हुनसक्ने देखिन्छ । प्रतिस्पर्धामा आपूm छिटो दौडेर दौड जित्नु पर्नेमा सँगै दौडनेनेलाई छिर्कनी हानेर लडाएर जित्ने सोच भएकाहरुले गर्दा पनि सहकारीमा बातावरण बिगारेको र बिगार्ने देखिन्छ ।

सुझाव

सहकारीको सिद्धान्त, मूल्य, मान्यता, सहकारी ऐन, नियमावली, नेपाल राष्ट्र बैंक वा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन, सहकारी विभागले जारी गरेको सदस्य केन्द्रीयता सूचकांक एवं निर्देशनहरु, आवद्ध संघ वा सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमका सूचकहरु, पल्र्स मोनिटरिङ् प्रणालीका सूचकहरु, वासेल र तिनमा व्यवस्था भएका केही सहकारीलाई उपयोगी सूचकहरुको अध्ययन र कार्यान्वयन गर्न सक्ने गरी मात्र सहकारी अभियानमा लाग्दा उचित हुन्छ भन्ने मेरो सविनय अनुरोध छ ।