ॐ शिवपुरी साकोसः एक चिनारी

ॐ शिवपुरी साकोसः एक चिनारी
संस्था परिचय | 2025-03-14 Share

-रविन्द्र के.सी., अध्यक्ष

परिचय

‘सुखको बचत दुःखको खर्च, आजको बचतले भोलिको समस्या टर्छ’ भन्ने मूल नाराका साथ वि.सं. २०६६ बैशाख २३ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता नं. २२३२/०६५/६६ मा दर्ता भई ९ जना संचालक सहित २८ जना कर्मठ व्यक्तित्वहरुबाट स्थापना भएको संस्था हो ॐ शिवपुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड । संस्थाले २०६६ जेठ २ गते आफ्नो व्यवसायको काउन्टर स्थापना गरेर औपचारिक रुपमा वित्तीय कारोबार शुरु गरेको हो । यस सहकारी संस्थासंग समाजसेवी, व्यापारी, उद्योगी, नेपाल सरकारबाट अवकाश प्राप्त तथा अनुभवी बहालवाला कर्मचारी, प्राध्यापक, राजनीतिकर्मी मित्रहरुको सापिप्यता रहेको छ । 

सदस्यहरुको आय आर्जन वृद्धि गर्न तथा उहाँहरुमा स–सानो आम्दानीलाई भविष्यका लागि सुरक्षितरुपमा बचत गर्ने बानीको विकास गर्ने ध्येयका साथ संस्था स्थापना भएको हो । साबिकको काभ्रेस्थली गाउँ विकास समितिमै पहिलो बचत तथा ऋण सहकारीको रुपमा स्थापित यस सहकारी संस्थाले हाल तारकेश्वर नगरपालिकाको उत्तरी भेगकै अब्बल तथा नमूना सहकारीको रुपमा आफूलाई स्थापित गराएको छ ।

संस्थाले ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सहकारी नारालाई अङ्गीकार गरेर सदस्यलाई सेवा प्रदान गरिरहेको छ । विगतमा देशको राजधानीबाट नजिकै भएपनि भौतिक पूर्वाधारको अपर्याप्तता तथा वित्तीय साक्षरताको कमी भएकाले यस भेगको समाज सहकारी शब्द सुन्ने वित्तिकै अत्तालिने अवस्था थियो । त्यसैले यस्तो समाजमा बस्ने सदस्यको सामाजिक, आर्थिक, साँस्कृतिक रुपान्तरण गर्नका लागि आधारभूत सहकारी ज्ञान, सीप तथा वित्तीय साक्षता प्रदान गर्ने उद्देश्यले संस्था स्थापना भएको हो । 

साहुको चर्को व्याजको अन्त्य, बैंकसँगको सहज पहुँचको अभावमा झेल्नुपरेका वेथितिको अन्त्य, आय आर्जनको सृजना, स्वर्णिम भविष्यका लागि बचत लगायत वित्तीय साक्षरताको शुरुवातका लागि स्थानीय युवाहरुको नवीनतम सोचले संस्था जन्मिएको हो । समुदायभित्र रहेका महिला, दलित र थोरै विउ पूँजीको अभावमा ब्यापार ब्यवसाय गर्न अड्किएका युवा तथा स्वरोजगार व्यवसायीहरु लगायत सरसापटी एैंचोपैंचोको अन्त्यका लागि नै ॐ शिवपुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आवश्यकता महसुस भएको हो । 

साविक काभ्रेस्थली, धर्मस्थली, जितपुर, मनमैंजु र फुटुङ्ग गरी पाँच ओटा गाँउ विकास समितिलाई आफ्नो कार्यक्षेत्र बनाई समुदाय नै मुख्य श्रोतको आधार मानी आफ्नो गतिविधि अगाडि बढाईरहेको यो सहकारी आजसम्म  शिवपुरी पहाड झैं अटलरुपमा समुदायमा स्थापित भएको सामुदायिक सेवामुखी वित्तीय संस्था हो ।

उद्देश्य

क) समुदायमा छरिएर रहेको तथा व्यवसायिक प्रयोजनमा नरहेको अनुत्पादक अवस्थाको स–सानो रकम एकत्रित गरेर लगानीयोग्य पुँजी निर्माण गर्ने र समाजमा आय आर्जनको कार्यमार्फत आर्थिक अवस्था सुदृढीकरण गराउने ।

ख) समाजमा भातृत्वको विकासका लागि समुदायमा आधारित कार्यक्रम जस्तै रक्तदान, स्वास्थ्य शिविर, धार्मिक, सामाजिक, साँस्कृतिक परम्परा संरक्षण तथा प्रवद्र्धन, गरिव तथा जेहेन्दार बालबालिकाको शिक्षामा सहयोग आदि ।

ग) सदस्य हितका लागि गाह्रो साँघुरो पर्दा सहुलियत कर्जा प्रवाह, जटिल रोगको उपचारमा आर्थिक सहयोग, सदस्य वा परिवारका सदस्यहरुको मृत्युमा श्रद्धाञ्जली अर्पण, भेटघाट, समवेदना प्रकट तथा मृत्यु संस्कारका लागि आर्थिक सहयोग ।

घ) संस्थाका सदस्यहरुका लागि शिक्षा, तालिम गोष्ठी, अध्ययन अवलोकन भ्रमण, प्रशिक्षण नियमित गर्ने तथा गुणात्मक जीवनको प्रत्याभूत गराउने ।

ङ) सदस्यहरुको भावी तथा वृद्ध अवस्थाको सुन्दर भविष्यको निमित्त प्रत्येक सदस्यको अनिवार्य मासिक नियमित बचतको शुरुवात गर्ने ।

च) सदस्य हित तथा संस्था विकासका निमित्त छाता संगठनहरुमा आवद्धता आय आर्जनका लागि समान प्रकृतिका संस्थासँग हातेमालो गर्दै अगाडि बढ्ने ।

छ) समुन्नत समाजका निमित्त आर्थिक आय आर्जन मुल मन्त्र हो । जसमा निम्न वर्गका व्यक्ति, समुदाय साथै कमजोर आर्थिक अवस्था भएका सदस्यहरुको हितका निमित्त तालिम परामर्श विउपूँजी लगानीको सुनिश्चितता गराउने ।

ज) नमुना सहकारी निर्माणको अवधारणा सहित सदस्यहरुका लागि वित्तीय समन्वयकारीको भूमिका निर्वाह गर्ने ।

सदस्य सेवा

संस्थाले सम्पादन गर्ने नियमित क्रियाकलाप अधिकांश सदस्य सेवा केन्द्रित कार्यक्रम रहेको छ । जसमा घरदैलो सेवा, सदस्य बैंकिङ तथा विप्रेषण सेवा, अनलाईन सेवामार्फत इन्टरनेट, पानी, बिजुली महशुल भुक्तानी, एयर टिकेटिङ्ग, इन्सुरेन्स प्रिमियम, ईसेवा, आईएमई पे, खल्ती जस्ता वालेट लोडिङ्ग, कारोबारको एसएमएस सेवा, निःशुल्क चेक तथा स्टेटमेन्ट प्रदान लगायत नियमित बचत तथा ऋण लगानी, हप्तामा दुई दिन ऋण लगानी, क्यू आर कोडबाट बचत गर्न सकिने सुविधा आदि रहेको छ । 

संस्थाको आफ्नै सुविधा सम्पन्न भवनबाट विविध सेवा प्रवाह गरिरहेको छ । जसमा सदस्य सेवा सुविधाका लागि विहान १०ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म सन्ध्याकालिन सेवा सहितको वित्तीय सेवा प्रदान गर्ने गरेको छ । नेपाल सरकारबाट घोषित सार्वजनिक विदाहरुमध्ये केही पर्व बाहेकका अन्य विदाहरुमा समेत कार्यालय नियमितरुपमा संचालन गरेर सदस्यलाई सेवा प्रवाह गर्दैआएको छ ।

वित्तीय अवस्था

साविकका पाँच ओटा गाँउ विकास समिति समेटेर गठन भएको हालको तारकेश्वर नगरपालिका भित्र आफ्नै अस्तित्व र पहुँच बनाउन सफल यस सहकारी संस्था आर्थिक वर्ष (आ.व.) २०६५÷६६ मा २८ जना सदस्यहरुबाट शुरु भएको हो । आ.व. २०८०÷८१ को अन्त्य सम्म संस्थामा ४ सय ४४ जना महिला र ४ सय ७५ जना पुरुष सदस्य आवद्ध बन्नु भएको छ ।

भाडाको घरमा कार्यालय स्थापना गरेर ७ लाख २५ हजार रुपैयाँ  पुँजीबाट कारोबार शुरु गरेको संस्थाले स्थायित्वका लागि परिकल्पना गरेको दीर्घकालीन योजना अनुसार अगाडि बढ्दै जाँदा हाल आफ्नै अत्याधुनिक सुविधा सम्पन्न भवनबाट कारोबार संचालन गर्न सफल भएको छ । गत आ.व.को अन्त्य सम्ममा संस्थाको शेयर पूँजी ५ करोड ३३ लाख १० हजार रुपैयाँ, निक्षेप संकलन ३९ करोड ७७ लाख ८३ हजार १ सय ४४ रुपैयाँ र कर्जा लगानी ४४ करोड ५४ लाख १० हजार ६ सय ६९ रुपैयाँ कायम भएको छ । सो अवधि सम्म जगेडा कोषमा४ करोड ७१ लाख ३१ हजार १६ रुपैयाँ संचिति रहेको संस्थाको तरलता ८ करोड ९७ लाख २१ हजार ५ सय ८९ रुपैयाँ रहेको छ । जगेडा कोष सहित अन्य विविध कोषहरुमा ६ करोड ५६ हजार १ सय २ रुपैयाँ जम्मा भएको छ । 

संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)को सह लगानीमा निर्मित अत्याधुनिक मीरा सफ्टवेयरबाट दैनिक आर्थिक कारोवारको अभिलेखन गर्ने गरेको छ । ‘सदस्यको खुशी नै हाम्रो जिम्मेवारी’ भन्ने सोचका साथ सदस्यप्रति समर्पित यस संस्थाले सदस्यको आर्थिक समृद्धिका साथै सदस्यको सहानुभूति विश्वास बटुल्दै आफ्नो उपलब्धिको आधार तय भएको विश्वास लिएको छ । सदस्य आर्थिक पहुँचमा बृद्धि, सहकारीको सहकार्यतामा सरिक, अन्तर्राष्ट्रिय सेमिनार गोष्ठी साथै छाता संगठनमा संस्थाको उपस्थिति सम्मानजनक रहेको छ ।

लगानी

समूहगतमा लगानीलाई प्राथमिकता दिएको संस्थाले लगानीको पाटोमा पनि फड्को मारेको छ । नियमित बचत सदस्यता प्राप्तीको ३ महिना पश्चातमात्र ऋण लगानी गर्ने व्यवस्था अन्तर्गत एक लाख रुपैयाँ सम्म एक तिहाइ बचतमा साक्षी जमानीको आधारमा लगानी गर्ने गरेको छ । शेयर पूँजीका आधारमा पाँच लाख रुपैयाँ सम्म विना धितो कर्जा प्रवाह गर्ने गरेको छ । अधिक कर्जा भने धितो जमानीमा प्रवाह भएको छ । र २० प्रतिशत कर्जा शेयर सुविधामा लगानी भएको छ । जसमा अधिक खुद्रा किराना पसल र कृषि कर्जा रहेको छ भने छिटफुट मात्रामा हायर पर्चेज कर्जा, होटल, पोल्ट्री व्यवसाय र विद्यार्थी सेवा सुविधामा समेत संस्थाले कर्जा लगानी गरेको छ । 

हाल देखिएको सहकारी समस्याको हल्ला, सहकारी प्राधिकरणको गठनमा सरकारको अलमल, अध्यादेशले सहकारीलाई पारेको अलमलले कहीकतै हामीलाई समेत लगानीको क्षेत्रमा होस वा बचत संकलनमा अल्झाईरहेको छ यद्यपि समग्र सहकारी क्षेत्रको विकास तथा राष्ट्रिय अर्थतन्त्रमा अझ टेवा पुग्ने विश्वास लिएका छौं । जसका लागि सहकारी प्राधिकरणले तदारुकताको साथ आफ्नो कार्य गरी अवैध क्रियाकलापको छानविन जरुरी छ । समस्याको समाधान वेथिति अपचलन विरुद्ध कडा भन्दा कडा कारवाहीको व्यवस्था हुन जरुरी छ र सहकारी संस्थाहरुको वर्गिकरण गरिनुपर्दछ ।

भावी योजना

सदस्य तथा सेवाग्राहीलाई संस्थाप्रतिको अपनत्व वोध गराउन मासिकरुपमा सदस्यहरुसँगको भेटघाट कार्यक्रम गर्ने क्रमलाई निरन्तरता दिने योजना छ । जतिसक्दो चाँडो सदस्यलाई अनलाईन पेमेन्ट प्रयोग तथा क्यासलेस प्रविधिलाई स्थापित गर्न अग्रसर गराउने । सदस्यहरुको क्षमता विकास गर्नुका साथै उनीहरुलाई देखाई, सिकाई र भोगाईका निमित्त उदाहरणीय सहकारीहरुको अवलोकन भ्रमणमा लाने । साथै कर्मचारीहरुको क्षमता वृद्धिका लागि आवश्यक तालिमहरुको व्यवस्था गर्ने । सदस्यहरुको गुणात्मक जीवनको निश्चितता र आवद्ध शेयर सदस्य तथा ऋणीहरुको ऋण तथा कर्मचारीहरुको सामुहिक विमा गर्दै संस्था सुरक्षित राख्ने परिकल्पना गरिएको छ ।

संस्था र सदस्यहरुलाई प्रविधिमैत्री बनाउने । सदस्य सुविधा बृद्धि गर्ने, सामाजिक सुरक्षा तथा स्वास्थ्य सेवालाई ध्यान दिने । संस्थाको शेयर र निक्षेप वृद्धि गरेर सहुलियत कर्जा प्रवाह गर्ने । संस्थाको समग्र कारोबार वृद्धि गरेर सदस्यहरुलाई अधिक शेयर लाभांश प्रदान गर्न सक्ने क्षमता विकास गर्ने । सदस्यको आम्दानी बढाउनका लागि नयाँ–नयाँ श्रोतको पहिचान गर्ने कार्यलाई अगाडि बढाई संस्थालाई सवल, सुदृढ र सक्षम बनाउने । संस्थाले आफ्नो मुल नारा ‘सुखको बचत दुःखको खर्च, आजको बचतले भोलिको समस्या टर्छ’ लाई सार्थक बनाउँदै सदस्यहरुको सेवामा सधैं समर्पित रहिरहने लक्ष्य लिएको छ ।