नगरपालिका र सहकारी एक अर्काको परिपुरक बन्नुपर्छः तारकेश्वर नगर प्रवक्ता खड्गी

काठमाडौं । तारकेश्वर नगरपालिकाका प्रवक्ता, सहकारी संयोजक एवं वडा नं. २ का वडा अध्यक्ष राधाकृष्ण खड्गीले स्थानीय सरकार र सहकारीले एक अर्काको परिपुरक भएर काम गर्नुपर्ने बताएका छन् ।
सहकारीलाई सुशासनमा राखेर संचालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सहकारी र स्थानीय सरकार एक अर्काको परिपुरक भएर काम गर्न सके तारकेश्वरलाई समृद्ध बनाउन सकिने विश्वास व्यक्त गरेका हुन् ।
उनले सहकारीलाई पैसा किन्ने र बेच्ने (बचत ऋण)को काममामात्र केन्द्रित नभएर सदस्य तथा सिंगो समाजको हित हुने रक्तदान, वृक्षारोपण, सरसफाई लगायतका सामाजिक क्रियाकलाप समेत संचालन गर्न आग्रहह गरेका छन् ।
सहकारी हकहित राष्ट्रिय समाजले तारकेश्वर नगरपालिकासंग सहकार्य गरेर शुक्रबार संचालन गरेको ‘सहकारीमा बचत परिचालन तथा ऋण व्यवस्थापन’ सम्बन्धी एक दिवसीय तालिम कार्यक्रममा बोल्दै नगर प्रवक्ता खड्गीले नगरपालिका भित्रका नगण्य सहकारीमामात्र समस्या देखिएको बताएका हुन् ।
सहकारी क्षेत्र नगरपालिकाको समग्र विकासका लागि मेरुदण्डकोरुपमा रहेको भनाई राख्दै उनले सहकारीका संचालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नका लागि नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा समेत यथेष्ट रकम विनियोजन गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।
‘हामीले सहकारीलाई सोचे जति तालिम, प्रशिक्षण दिएर व्यवस्थापन गर्न सकेका छैनौं,’ उनले भने, ‘यो पक्षमा हामी केही चुकेका छौं ।’
सहकारी संस्थाहरुलाई ऋण लगानी गर्दा संचालक तथा कर्मचारीका चिनजानको मान्छे वा नातागोता भएको आधारमा नभई ऋण माग गर्ने ऋणीको आवश्यकता र तिर्न सक्ने क्षमतालाई आधार मानेर कर्जा प्रवाह गर्न आग्रह गरे ।
उनले भने, ‘जनताबाट सय–सय रुपैयाँ संकलन गरेर जम्मा गरेको बचत ईष्ट मित्र हो भनेर जथाभावी जोखिम मोलेर लगानी नगर्नुस । जनताको बचत रकमको सुरक्षाका लागि ईन्स्पेक्टर बनेर लगानी गर्नुस ।’
कतिपय सहकारीले चिनजानका व्यक्तिलाई कार्यक्षेत्र बाहिर समेत गएर ऋण लगानी गरेको भेटिएको उल्लेख गर्दै कार्यक्षेत्र बाहिर कारोबार नगर्न सचेत गराए ।
सहकारीको ऋण लगानीलाई विविधकरण गर्न आग्रह गर्दै उनले भने, ‘सहकारीले ऋण लगानी गर्दा उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिनुपर्छ । ऋणीले ऋण उद्देश्य अनुरुप सदुपयोग गरेर प्रतिफल प्राप्त गरेको छ कि छैन भनेर मूल्याङ्कन पनि गर्नुपर्छ ।’
सहकारी संयोजक खड्गीले पछिल्लो समय नगरपालिका भित्रका सहकारीमा पनि जोखिम बढेको उल्लेख गर्दै सहकारीमा कर्मचारी नियुक्ति गर्दा आफन्त वा बेरोजगारलाई रोजगारी दिने उद्देश्यले नभई संस्थालाई प्रभावकारी व्यवस्थापन गर्न सक्ने क्षमतावान तथा व्यवसायिक व्यक्तिलाई नियुक्त गर्न आग्रह गरे ।
नगरपालिकामा विभिन्न प्रकृतिका ८८ ओटा सहकारी संस्था संचालनमा रहेको जानकारी गराउँदै भएका सहकारीलाई व्यवस्थापन गर्ने मनसायले नयाँ सहकारी दर्ता बन्द गरेको बताए ।
‘हामीलाई अहिले संचालनमा रहेका सहकारी संस्थालाई बलियो बनाउनुपपर्ने आवश्यकता छ,’ उनले भने, ‘सहकारीलाई व्यवस्थापन गर्न एकीकरण पनि गर्न सकिन्छ ।’
उनले कतिपय सहकारीका संचालकहरुले बचतकर्ता सदस्यको निक्षेप दुरुपयोग गरेर सुट पाईन्ट लगाएर हिँड्ने गरेको पाईएको उल्लेख गर्दै नगरपालिकाले मातहतका सहकारीको प्रभावकारी अनुगमन गर्ने बताए ।
नगरपालिका भित्रका केही सहकारी संस्थाले ऋणीको कायक्षेत्र बाहिरको धितो लिएर ऋण लगानी गरेकाले धितो रोक्का र लिलामीको क्रममा कानुनी समस्या सिर्जना हुने गरेको अनुभव सुनाए ।
उनले भने, ‘केही संस्थाहरुले कार्यक्षेत्र बाहिरको धितो राखेर ऋण लगानी गर्नुभएको छ । ऋणीको कागजात पनि अपुरो छ । हस्ताक्षर गराएको छैन । अनि यस्तो ऋणीले ऋण नतिरेपछि धितो संस्थाको नाममा ल्याउन वडामा सिफारिस माग्न आउनुहुन्छ ।’
यसैगरी कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिका सहकारी शाखाकी अधिकृत सरिता चापागाईले सहकारीले मुलुकको आर्थिक तथा सामाजिक विकासमा ठूलो भूमिका खेलीरहेको चर्चा गरिन ।
उनले भनिन, ‘सहकारीले स्थानीय स्तरमा छरिए रहेको स–सानो पुँजीलाई एकीकृत गरेर उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दा रोजगारीको अवसर सिर्जना हुनुका साथै सदस्यहरुको नेतृत्व विकासमा समेत ठूलो योगदान पुगेको छ ।’
सहकारी संस्थाहरुले संघ, प्रदेश र तारकेश्वर नगरपालिकाले जारी गरेका ऐन, कानुन पालना गरेर काम गर्दा समस्या सिर्जना नहुने उनले विश्वास व्यक्त गरिन ।
‘हामीलाई केही सहकारीका सदस्यहरुले संस्थाले कानुनले तोकेको भन्दा बढी ब्याज लियो भनेर गुनासो गर्नुभएको छ,’ उनले भनिन्, ‘तपाईंहरुले सन्दर्भ ब्याजदरले तोकेको भन्दा बढी ब्याजदर निर्धारण गर्न मिल्दैन ।’
यसैगरी कार्यक्रममा शुभकमाना मन्तव्य राख्दै तारकेश्वर नगरपालिका वडा नं. २ का निवर्तमान वडा अध्यक्ष एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) गोंगबु शाखाका उप समिति सदस्य रविन्द्र के.सी.ले बजारमा एक अर्काका प्रतिस्पर्धीकोरुपमा रहेको भएपनि एउटा सहकारीले अर्को सहकारीमा समस्या सिर्जना हुँदा खुशी प्रकट गर्न नहुने कुरामा जोड दिए ।
सहकारी संस्थाहरुबीच मजवुत सहकार्यको आवश्यकता औंल्याउँदै उनले भने, ‘फलानो सहकारीमा समस्या आयो । मलाई फाईदा भयो भनेर कदापी नसोचौं । बरु अर्को संस्थामा देखिएको रोग मलाई पनि सर्न सक्छ कि भनेर सचेत बनौं ।’
सहकारी संस्थाका संचालकहरुले नियामक निकायलाई दोष दिनु भन्दा पहिले आफू कुन अवस्थामा छौं भनेर आत्म मूल्याङ्कन गर्नुपर्ने भनाई राखे ।
उनले भने, ‘हामीले कसरी बचत संकलन गरिरहेका छौं । ऋण कसरी लगानी गरिरहेका छौं । लेखा समितिले काम कर्तव्य अधिकार पालना गरेको छ कि छैन । ऋण समितिले कसरी काम गरिहेको छ । संस्था बलियो बनाउन यी कुराको विश्लेषण गर्नुपर्छ ।’
सहकारीमा समस्या सिर्जना भएको अवस्थामा कानुनीरुपमा संचालक र व्यवस्थापक नै जवाफदेही बन्नुपर्ने भएकाले पनि जिम्मेवार भएर काम गर्न आग्रह गरे ।
सहकारीलाई व्यवस्थित गर्नका लागि नगरपालिकामा नीति, नियम र कर्मचारीको अभाव रहेको उल्लेख गर्दै सबै संस्थाहरुले यसका लागि नगरपालिकालाई घचघच्याउन आवश्यक रहेको धारणा राखे ।
तारकेश्वर नगरपालिका भित्रका सहकारीमा एकीकृत भएको पुँजीलाई प्रभावकारीरुपमा परिचालन गर्ने हो भने नगरपालिकाकोमात्र नभई सिंगो मुलुकको आर्थिक उन्नतिमा सहयोग पुग्ने उनको भनाई थियो ।
केही सहकारी संस्थाले गरेको गल्तीका कारण आम सहकारीकर्मीहरुले शीर झुकाएर हिँड्नुपर्ने परिस्थिति निर्माण भएको गुनासो गर्दै उनले यस्तो अवस्थामा परिवर्तन ल्याउनका लागि पनि सहकारीकर्मीहरु आफैंले भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए ।
उनले नगरपालिकाको सहकारी शाखालाई मातहतका सहकारीको प्रभावकारी अनुगमन गर्न, एकीकरणमा जोड दिन र सहकारीको अवस्था तथा छाता संघमा भएको आवद्धताको आधारमा वर्गीकरण गर्न सुझाव दिए ।
साथै उनले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालै बचत तथा ऋण सहकारी संस्थाहरुको नियमन गर्नका लागि जारी गरेको मापदण्डमा भएका प्रावधान हुबहु लागू भए आगामी दुई वर्षमा सबै सहकारी बन्द गर्नुपर्ने अवस्था उत्पन्न हुने दावी गरे ।
यस्तै जिल्ला सहकारी संघ, काठमाडौंका संचालक कविन्द्र रिमालले स्थानीय सहकारीको अभिभावककोरुपमा रहेको तारकेश्वर नगरपालिकाले सहकारीकर्मीहरुलाई विभिन्न विषयमा तालिम दिएर पुनर्ताजगी गर्न मद्दत गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।
हकहित समाज र नगरपालिकाले संचालन गरेको तालिममा सहभागी भएपछि आफूलाई सहकारीमा सदस्यले जम्मा गरेको बचतलाई सामान्यरुपमा हलुका ढंगले हेर्न नहुने रहेछ भन्ने कुरा पुनर्ताजगी भएको भनाई राखे । उनले भने, ‘हामी अभियन्ता भएर हिँडेपनि अझै धेरै कुरा सिक्न बाँकी रहेछ भन्ने महसुस भयो ।’
उनले सहकारी संस्थाहरुले संकलन गरेको बचत र लगानी गरेको ऋणलाई वर्गीकरण गरेर संस्थाको अवस्था अनुरुप परिचालन गर्दा सहकारीलाई दिगो बनाउन सकिने भनाई राखे ।
सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरीको सभापतित्वमा संचालित तालिममा नेफ्स्कूनका पूर्व सिईओ कुवेर निरौला र तारकेश्वर नगरपालिकाका अधिकृत हरिकृष्ण अर्यालले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्षा अर्जुन खतिवडा, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) गोंगबु शाखा उपसमिति सदस्य रुपमाया तामाङ लगायतका अतिथि रहेका थिए ।
समाजका सचिव ऋषिराम ढकालले संचालन गरेको कार्यक्रममा नगर भित्रका विभिन्न सहकारीमा आवद्ध एक सय भन्दा बढी संचालक, व्यवस्थापक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।