सिम्रिक बचत तथा ऋण सहकारी संस्था: एक चिनारी

परिचय
सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ बमोजिम मिति २०६७ साल माघ २४ गतेका दिन विधिवत रुपमा डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ता नम्बर ३/१/७/५२४/०६७/०६८ मा दर्ता भएको हो ।
सहकारी मार्फत विपन्न समुदायका मानिसहरुको आर्थिक स्थिति सुदृढ गराउन सकिन्छ भन्ने उद्देश्यका साथ अनुभव प्राप्त ५५ जना व्यक्तिहरुको सामुहिक प्रयासबाट बीस लाख पचास हजार रुपैयाँ शेयर पुँजीको लगानीमा तत्कालिन पाँच ओटा गा.वि.स. कार्यक्षेत्र राखेर संस्थाको शुरुवात गरिएको हो । हाल संस्थाको कार्यक्षेत्र झापा र पाँचथर जिल्लाका सबै पालिका भित्र रहेको छ ।
यसैगरी संस्थाले ईलाम जिल्लाका ईलाम नगरपालिका, सूर्योदय नगरपालिका, माङसेबुङ गाउँपालिका, माई नगरपालिका, माईजोगमाई गाउँपालिका, रोङ गाउँपालिका र देउमाई नगरपालिका गरी ७ पालिका र मोरङ जिल्लाका उर्लाबारी नगरपालिका, रतुवामाई नगरपालिका, मिक्लाजुङ गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, कानेपोखरी गाउँपालिका, लेटाङ नगरपालिका र बेलबारी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका गरी ८ पालिकाका सदस्यहरुलाई पनि सेवा प्रदान गर्दै आएको छ ।
साथै कार्यक्षेत्र भित्र शेयर सदस्यहरुको सहजताका लागि ४६ वटा सेवाकेन्द्रमा २७९ जना कर्मचारी मार्फत सदस्य सेवा उपलब्ध गराउँदै आईएको छ ।
उद्देश्य
विपन्न समुदायमा केन्द्रित रहेर लघु उद्यम मार्फत विपन्न सदस्यहरुको आर्थिक सुदृढीकरण गर्ने मुल उद्देश्य लिएर संस्था अघि बढेको छ ।
वित्तीय अवस्था
आर्थिक वर्ष (आ.व.) २०८१/०८२ को अन्त्य सम्ममा संस्थामा २५ हजार ७ सय २९ जना पुरुष र ४३ हजार ७ सय ४१ जना महिला गरी जम्मा ६९ हजार ४ सय ७० जना शेयर सदस्यहरु आवद्ध रहेका छन् ।
गत असार मसान्त सम्ममा संस्थाको शेयर पुँजी ३५ करोड ९ लाख १५ हजार रुपैयाँ, निक्षेप रकम २ अर्ब १५ करोड २५ लाख ७९ हजार रुपैयाँ र लगानी रकम २ अर्ब ८० करोड ४७ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । साथै संस्थाको कुल बासलात ३ अर्ब ३९ करोड ४५ लाख २७ हजार रुपैयाँ पुगेको छ ।
लगानी
संस्थाले सदस्यहरुलाई आर्थिक सुदृढीकरणको उद्देश्यले ब्यवसायिक तथा कृषि पेशालाई प्राथमिकतामा राख्दै अधिक ऋण लगानी गरेको छ भने कार्यक्षेत्र अन्तर्गत झापा जिल्लाका विपन्न समुदायमा आधारित रहेर लघुवित्त कार्यक्रम अन्तर्गत लघु कर्जा समेत प्रवाह गर्दै आएको छ । संस्थाबाट ऋण लिई शेयर सदस्यहरुले साना तथा मझौला ब्यवसाय संचालन गरेका छन् । कृषि पेशालाई आत्मसात गर्दै कृषि उद्यम जस्तै बाख्रा पालन, गाई पालन, कुखुरा पालन, ब्यवसायिक तरकारी खेती संचालन गर्दै आएका छन् ।
सदस्य सेवा
संस्थाले एक घर एक सदस्य अभियान अन्तर्गत सदस्यहरुलाई घर–दैलो सेवा प्रदान गर्दै सदस्यहरुलाई न्यूनतम बचत गर्ने बानीको विकास गर्दै आएको छ भने कारोबारलाई सहजता प्रदान गर्ने उद्देश्यले विद्युतीय माध्यमबाट समेत सेवा प्रवाह गर्दै आएको छ ।
सिम्रिक मोबाईल एप मार्फत संस्थामा जम्मा गरेको रकमलाई जहाँसुकैबाट विभिन्न प्रकारका कारोबार गर्न सकिने गरी एपमा बैंक ट्रान्सफर, विभिन्न वालेट लोड, हवाई टिकट, मोबाईल रिचार्ज, ईन्टरनेट बील, बिजुली बील, खानेपानी बील, ईन्स्योरेन्स प्रिमियम, सरकारी करहरु, ब्रोकर पेमेन्ट, टेलिफोन बील, क्यु–आर पेमेन्ट, स्टेटमेन्ट चेकजाँच लगायत अन्य धेरै किसिमका सुविधाहरु उपलब्ध गराईएको छ । साथै सदस्यहरुको कारोबारलाई सहजता प्रदान गर्न ब्यवसायिक क्यु–आरको समेत वितरण गर्दै आएको छ ।
सामाजिक सुरक्षा
शेयर सदस्य संस्थाको मेरुदण्ड रहेकोले सदस्यको मृत्यु हुँदा समवेदना सहित अन्तिम संस्कार खर्च, सुत्केरी राहत खर्च (जस अन्तर्गत अप्रेशन खर्चको ५० प्रतिशत), उपचार खर्च अन्तर्गत संस्थाको नियमानुसारको एक लाख रुपैयाँ सम्मको औषधि उपचार खर्च र बाल बचतकर्ता शेयर सदस्यहरुलाई बचतका आधारमा वार्षिक रुपमा शैक्षिक सामग्री तथा स्कूल ब्याग वितरण गर्ने गरेको छ ।
शेयर सदस्यको माग बमोजिम क्षमता अभिबृद्धि तालिम (जस्तै : ब्यूटिसियन तालिम, अचार बनाउने तालिम, कपुर धुप निर्माण तालिम, सिलाई तथा बुनाई तालिम, मौरी पालन सम्बन्धिको तालिम आदि) संचालन गर्दै आएको छ । साथै सहकारी शिक्षा कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता तालिम र मासिक रुपमा प्रति सेवोकन्द्र न्यूनतम २ पटकसम्म सदस्य विस्तारित भेला समेत संचालन गर्दै आएको छ ।
सामाजिक उत्तरदायित्व
संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै कर्जा मिनाह, प्राकृतिक प्रकोप, तिर्थ भ्रमण, ज्येष्ठ नागरिक सम्मान, स्वास्थ्य शिविर, नेत्रहीन तथा अपाङ्गता सहयोग, सार्वजनिक मठ मन्दिरमा सहयोग, सरसफाई तथा बृक्षरोपणमा सहयोग, खेलकुदमा सहयोग जस्ता सामाजिक गतिविधिसँग सम्बन्धित शीर्षकहरुमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।
भावी योजना
संस्थाले माथि उल्लेख गरिएका सामाजिक उत्तर दायित्वहरु बहन गर्दै सदस्यहरुको आवश्यकता बमोजिमका ब्यवसायिक तालिमहरुलाई नियमित रुपमा संचालन गर्दै सदस्यमैत्री सहकारी बनाउने योजना लिएको छ ।
हासिल उपलब्धि
संस्थाले संचालन गरेको कपुर धुप तालिमलाई आत्मसात गर्दै धुपबात्ती निर्माण गरी विक्रीका लागि बजारमा समेत लगिएको छ । साथै मौरी पालन मार्फत समुह निर्माण गरी ब्यवसायिक महको उत्पादन गर्दैआएको छ ।
संस्थाले विपन्न समुदायका सदस्यहरुमा बचत गर्ने बानीको विकास गर्नुका साथै कर्जा लगानी गरे पश्चात सदस्यलाई साना ब्यवसाय गर्न प्रोत्साहन गर्दै आएको छ । यसरी संस्थाले विविध शिर्षकहरुमा पु¥याएको सेवाले सदस्यको आर्थिक तथा सामाजिक स्तरमा उल्लेखनीय उपलब्धि हासिल भएको संस्थाको ठहर छ ।