जयकाली साकोसको १६औं वार्षिक साधारण सभा सम्पन्न

जयकाली साकोसको १६औं वार्षिक साधारण सभा सम्पन्न
समाचार | 2025-11-16 Share

काठमाडौं । नरदेवीमा रहेको जयकाली बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष विष्णु कुमारी चौलागाईको अध्यक्षतामा कात्तिक २९ गते आयोजित सभा जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष सुमन के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि के.सी.ले महिलाहरुले संचालन गरेका सहकारी संस्थाहरु तुलनात्मकरुपमा पारदर्शी हुनेगरेको विचार व्यक्त गरे ।

उनले जयकाली साकोसलाई सहकारी मूल्य, सिद्धान्त तथा सहकारी ऐन अनुसार सुशासनयुक्त बनाएर संचालन गरेका पाएको सुनाए । साथै संस्थालाई उत्पादनमा जोडेर महिला शेयर सदस्यहरुलाई रोजगारी दिएको कुराको प्रशंसा गरे ।

डिजिटल प्रविधिमैत्री सेवालाई आत्मसात गरेको संस्थाले सदस्य शिक्षालाई पहिलो प्राथमिकतामा राख्नु राम्रो कार्य भएको धारणा राखे । उनले साधारण सभाको सफलताको कामना गर्दै संस्थालाई थप प्रगतिको शुभकामना प्रदान गरे ।

साधारण सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष चौलागाईले मुलुकको वित्तीय क्षेत्रमा रहेको तरलताको प्रतिकुल अवस्थालाई मध्यनजर गरी संस्थाको तरलता व्यवस्थापन गरिएको बताईन । 

उनले सदस्यहरुसंग हुने बचत संकलन, बचत फिर्ता, ऋण लगानी जस्ता नियमित कारोबारलाई सुरक्षित र संतुलित ढंगले संचालन गर्दै आईरहेको जानकारी गराईन ।

विगतका झैं यस आ.व.मा पनि शेयर सदस्यहरु, संस्थाका पदाधिकारी तथा संचालकहरु, लेखा सुपरिवेक्षण समिति, उप–समितिहरु र कर्मचारीहरुलाई क्रमिकरुपमा सहकारी सम्बन्धी प्रशिक्षण, तालिम, अध्ययन भ्रमण, गोष्ठीहरुमा सहभागी गराई नेतृत्व तथा व्यक्तित्व विकास गर्ने कार्यलाई निरन्तरता दिने बताईन ।

संस्थाको मेरुदण्डकोरुपमा रहेका शेयर सदस्यहरुको सद्भाव तथा सहयोगले नै संस्थाको वित्तीय श्रोत मजवुत हुने कुरा स्मरण गराउँदै अध्यक्ष चौलागाईले विगतमा जस्तै नियमित बचत, शेयर बृद्धि जस्ता कार्यलाई निरन्तरता दिई संस्थाले लिएको साझा लक्ष्यलाई परिपूर्ति गर्न सहयोग गर्न अनुरोध गरिन ।

संस्थाले सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखेर ग्रीन सिटी हस्पिटलसंग सम्झौता गरेर सदस्यहरुलाई उपचारको क्रममा विभिन्न छुट सुविधा उपलब्ध गराएको जानकारी दिईन ।

पुरुष २८५ र महिला ३५८ गरी ६४३ जना शेयर सदस्य आवद्ध भएको संस्थाले हरितालिका तिज लगायतका अन्य चाडपर्वहरुहरुको अवसरमा शेयर सदस्य, संचालक र कर्मचारीहरुबीच शुभकामना आदान प्रदान कार्यक्रम राखेर सामिप्यता कायम राख्दै आएको उल्लेख गरिन ।

यसैगरी सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले ‘रक्तदान जीवनदान’ भन्ने मुल नारालाई आत्मसात गर्दै हरेक वर्ष संस्थाको वार्षिक उत्सवको अवसरसमा शेयर सदस्यहरुको उपस्थितिमा रक्तदान कार्यक्रमा आयोजना गर्नुका साथै विभिन्न सामाजिक गतिविधि पनि गर्दै आएको बताईन ।

साधारण सभाको अवसर पारेर संस्थाले शेयर सदस्यहरु मध्ये नियमित बचतकर्ता फुलमाया तामाङ, आवधिक बचतकर्ता कमला श्रेष्ठ र असल ऋणीः शेयर मिठु घिमिरेलाई सम्मान गरेको थियो । साथै उत्कृष्ट कर्मचारी पुनम सोनामलाई पुरस्कृत गरेको थियो । 

संस्थाले चालु आ.व.को वार्षिक साधारण सभा देखि शेयर सदस्यहरु मध्येबाट ज्येष्ठ शेयर सदस्यहरुलाई समेत सम्मान गर्ने कार्य थालनी गर्ने जनाएको छ ।