चन्द्रागिरि साकाेस प्राधिकरण र कर्जा सूचना केन्दमा आवद्ध
काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध भएको छ । संस्थाले प्राधिकरणबाट ‘संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको छ भने कर्जा सूचना केन्द्रमा दर्ता भएको छ ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड,२०८२ को दफा ४ बमोजिम उक्त साकोसले दर्ता अभिलेखीकरण प्राप्त गरेको हो । संस्थाको इजाजतपत्र नं. २०५८–००१७१ रहेको छ । बागमती प्रदेशको नियामकीय क्षेत्रमा रहेको उक्त संस्थाको कार्यक्षेत्र काठमाडौं र ललितपुर जिल्लाभर तथा धादिङ जिल्लाको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका रहेको छ।
संस्था कर्जा सूचना केन्द्रमा सदस्य भएको र सहकारी कर्जा कारोबारलाई व्यवस्थित गर्न र ऋणी सदस्यहरुलाई कर्जा अनुशासनमा रही कारोवार गर्न यो सदस्यताले मद्दत पुग्ने सिइओ कृष्ण कुमार श्रेष्ठले बताए । प्राधिकरणमा दर्ता अभिलेखीकरण पश्चात वित्तीय कारोबार गर्नका लागि संस्थाले इजाजतपत्र प्राप्त गरी वैधानिकता पाएको उनको भनाई छ । प्राधिकरणले दिएको समय सीमाभित्र नै संस्थाले बचत ऋणको कारोबार गर्न इजाजतपत्र लिएको उनले जानकारी दिए ।
२०८२ पौष मसान्तसम्म संस्थाको कुल सम्पत्ति ३ अर्ब ७१ करोड, ३४ लाख रहेको छ । त्यस अवधिमा संस्थाको शेयर पुँजी २२ करोड, ९३ लाख जगेडा कोष १० करोड ५४ लाख, कुल बचत ३ अर्ब १ करोड २५ लाख, ऋण लगानी २ अर्ब २० करोड ८२ लाख रहेको छ । पौष मसान्तमा संस्थामा २१.१५ प्रतिशत रकम तरलता रहेको छ । संस्थामा २३ हजार ३२५ सदस्य आवद्ध रहेका छन् भने २ हजार ३२३ सदस्यले ऋण लिएका छन् ।


