अदालतको अन्तरिम आदेशः ‘बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको साधारण सभा नगर्नु’

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको भोलिका लागि मिति तय भएको नवौं वार्षिक साधारण सभा नहुने भएको छ ।
ललिलपुर जिल्ला अदालतले आज अन्तरिम आदेश जारी गरेर पुस २९ गते गर्ने भनिएको साधारण सभा तत्कालका लागि नगर्न भनेको हो ।
संघमा नयाँ सदस्यता वितरण गर्ने विषमा संघका अध्यक्ष सुरेन्द्र भण्डारी र सचिव माधव तिमल्सिना पक्षबीच विवाद उत्पन्न भएपछि साधारण सभा हुने वा नहुने भन्ने विषयमा अन्योल उत्पन्न भएको थियो ।
यसैबीच अध्यक्ष सुरेन्द्र भण्डारीले साधारण सभा स्थगित गर्न आदेश माग गर्दै दिएको निवेदनमाथि सुनुवाई गर्दै अदालतले सदस्यताको विवाद समाधान नभएको र कोरोना भाईरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न प्रशासनले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिस भेला हुन रोक लगाएकाले तत्कालका लागि साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको हो ।