प्राधिकरणलाई असफल बनाउने छुट कसैलाई छैन: अध्यक्ष शर्मा
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले प्राधिकरणलाई असफल बनाउने हाे समग्र सहकारी अभियान असफल हुनसक्ने बताएका छन् ।
बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई व्यवस्थित बनाउनका लागि प्राधिकरण राज्यले खडा गरेकाे अन्तिम निकाय भएकाले यसलाई असफल बनाउने छुट कसैलाई पनि नभएकाे तर्क गरेका हुन् ।
ट्रयाक बाहिर हिँडेका सहकारीहरुलाई सही ट्रयाकमा ल्याउन केही समय लाग्ने बताउँदै उनले अहिले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरणमा प्राधिकरण केन्द्रीत भएको बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन) कार्य समितिसँगको भेटघाट कार्यक्रममा अध्यक्ष शर्माले ऐनले दिएको समयसीमाभित्र सहकारी संस्थाहरुलाई दर्ता अभिलेखीकरण गरिसक्नु पर्ने कानुनी बाध्यता रहेकाले आफुहरु त्यसमा नै केन्द्रीत रहेको बताए ।
अध्यादेशमार्फत् संशोधन भएको सहकारी ऐनमा एक बर्षभित्र बचत ऋणको मुख्य कारोबार गर्ने सबै सहकारी संस्था प्राधिरकणमा दर्ता गरिसक्नु पर्ने व्यवस्था रहेको र सोही अनुसार प्राधिकरण अगाडि बढेको उनको भनाई छ ।
हाल सम्म ३ सय ६५ सहकारी संस्थाले प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्नका लागि इजाजतपत्र लिइसकेका छन् भने २ हजार ४२८ सहकारीले सम्पूर्ण कागजात प्रविष्ट गरिसकेका छन् । त्यसैगरी ३ हजार ५ सय सहकारी संस्थाहरु प्राधिरकणको दर्ता अभिलेखीकरणका लागि सफ्टवेयर मार्फत् लगइन गरेका छन् ।
संशोधित ऐनले चैत्र मध्यसम्ममा बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था प्राधिरकणमा दर्ता हुनेपर्ने व्यवस्था गरेकाले सबै संस्थालाई समयमा नै आवद्ध हुन उनको आग्रह छ । प्राधिकरणले दोश्रो पटक फागुन ११ गतेसम्मका लागि दर्ता अभिलेखीकरणको समय थप गरेको छ । बचत ऋणको कारोबार गर्न प्राधिकरणबाट अनिवार्य इजाजत लिनुपर्ने भन्दै उनले समयभित्र दर्ता नगर्ने सहकारीहरुले बचत ऋणको कारोबार गर्न नपाउने जानकारी दिए ।
प्राधिकरणले समयमा इजाजत नलिने सहकारी संस्थाहरुको हकमा रोक्का तथा दृष्टिबन्धक गर्न , कर चुक्ता लिन, कर्जा सूचना केन्द्रको सदस्य बन्न र वार्षिक बाह्य लेखापरीक्षण गर्न नपाउने गरी ती निकायहरुसँग सम्झौता गर्न लागेको समेत बताए ।
उनले पहिलो चरणमा सहकारी संस्थाहरुलाई दर्ता अभिलेखीकरण गर्ने र त्यसपछि ती संंस्थाहरुको नियमनको कामलाई अगाडि बढाउने जनाए ।
प्राधिकरण सहकारी पत्रकार समाजसँग समेत सहकार्य गरेर अगाडि बढ्न तयार रहेको सो अवसरमा अध्यक्ष शर्माले जनाए । उनले सीजेएनसँगको सहकार्यमा समसामायिक विषयमा अन्तरक्रिया तथा छलफलमा साथै बचत ऋणको अभियानलाइ व्यवस्थित गर्ने विषयमा बहस तथा छलफल गरेर अगाडि बढने उल्लेख गरे ।
सो अवसरमा सहकारी पत्रकार समाजका अध्यक्ष अर्जुन खतिवडाले सीजेएनमा आवद्ध सदस्यहरुको क्षमता विकासका साथै सहकारी क्षेत्रका स्टेक होल्डरहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै आएको बताए । अध्यक्ष खतिवडाले सीजेएन प्राधिकरणसँग समेत सहकार्य गरेर जान तयार रहेको भन्दै त्यसका लागि तत्पर रहेको उल्लेख गरे ।
सो अवसरमा प्राधिकरणका विज्ञ सदस्य डा. रमेश चौलागाईंको समेत उपस्थित रहेको थियो । भेटघाट कार्यक्रममा सीजेएनका सचिव माधव खड्का, सहसचिव हिरा बस्नेत, कोषाध्यक्ष प्रवीण राउत र सदस्य इश्वर ढुङ्गेलको उपस्थिति रहेको थियो ।


