मिलिजुली कालिञ्चोक साकोसकाे भावी नेतृत्वलाई दुई दिने तालिम
काठमाडौं । दोलखाको सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि। ले भावी नेतृत्व विकासलाई लक्षित गर्दै दुईदिने नेतृत्व पूर्व तालिम ‘फिट एण्ड प्रपर टेस्ट’ सम्पन्न गरेको छ ।
संस्थाको बिनियम तथा निर्वाचन नियमावली बमोजिम आवश्यक योग्यता पुगेका इच्छुक शेयर सदस्यलाई लक्षित गरी दुई दिने तालिम आयोजना गरिएको हो ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले सन् २०१३ मा सार्वजनिक गरेको ‘ब्लुप्रिन्ट फर अ को–अपरेटिभ डिकेड’ मा भावी सहकारी नेतृत्वलाई पूर्व तयारी तालिम आवश्यक हुने उल्लेख गरिएअनुसार संस्थाले यो अवधारणालाई आत्मसात् गर्दै बिनियममै व्यवस्था गरी तालिम सञ्चालन गर्दै आएको जनाएको छ ।
संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतमका अनुसार नेपालमै पहिलो पटक यस्तो अभ्यास मिलिजुली कालिञ्चोक साकोसले सुरु गरेको हो । यस्ता अभ्यास अन्य सहकारी संस्थाका लागि पनि उपयोगी हुने भन्दै नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सहकारी विभागले यसलाई अनिवार्य गर्नुपर्ने धारणा राखे ।
तालिमको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष रामदास श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा समापन कार्यक्रम बागमती प्रोस्कूनका वरिष्ठ उपाध्यक्ष जिवसराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा सञ्चालन भएको तालिममा नेफ्स्कून तालिम केन्द्रका प्राचार्य बल्लभ तिमल्सि नाले सहजीकरण गगरेको तालिममा पुरुष ३४ र महिला १९ गरी कुल ५३ जनाको सहभागिता रहेको थियो ।
तालिममा सहकारी ऐनले तोकेका सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका काम, कर्तव्य र अधिकार, सहकारीका मूल्य–मान्यता र सिद्धान्त, सुशासन, वित्तीय तथा प्रशासकीय जिम्मेवारी, आन्तरिक लेखापरीक्षण, नियमनकारी निकायका मापदण्ड, सम्पत्ति शुद्धीकरण निवारण, प्रविधि प्रयोग, पर्ल्स अनुगमन प्रणाली, कर्जा सूचना केन्द्र, एनएफआरएस प्रणाली, असल अभ्यास लगायतका विषयमा जानकारी गराइएको थियो ।
संस्थाका व्यवस्थापक रमेश सापकोटाका अनुसार भावी नेतृत्वलाई जिम्मेवारीमा जानु अघि नै आवश्यक ज्ञान, सीप र बुझाइ दिनु नै तालिमको मुख्य उद्देश्य हो । यसले संस्थागत सुशासन, पारदर्शिता र दीगो विकासमा सहयोग पुग्ने उनले जनाए ।


