अन्तर्राष्ट्रिय सहकारी दिवसमा उत्कृष्ट सहकारी संस्था र व्यक्ति सम्मानित

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।
‘कोअपरेटिभ्स्ः ड्राईभिङ ईन्क्लुसिभ एण्ड सस्टेनेबल सोलुसन्स फर अ बेटर बल्र्ड’ अर्थात सहकारीले राम्रो विश्वका लागि समावेशी र दिगो समाधान अगाडि बढाउँछन भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा विभिन्न सहकारी संस्था र व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।
यस वर्षको राष्ट्रिय सहकारी पुरस्कार भुवनेश्वरी दुग्ध उत्पादन सहकारी संस्था लि., बरहथवा–१५, सर्लाहीका अध्यक्ष गोविन्द्र प्रसाद उप्रेतीलाई प्रदान गरिएको छ। उनलाई मन्त्री बलराम अधिकारी र महासंघकी अध्यक्ष ओमदेवी मल्लले नगद ५० हजार रुपैयाँसहित सम्मान गरे ।
सहकारी पत्रकारिता पुरस्कार नेपालपत्र न्यूज डट कमका सम्पादक माधव खड्कालाई प्रदान गरियो भने उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार जिल्ला सहकारी संघ, रुपन्देहीका व्यवस्थापक लक्ष्मी ज्ञवालीलाई प्रदान गरियो । दुवै पुरस्कारको राशी २५ हजार रुपैयाँ थियो ।
केन्द्रीय सहकारी संघतर्फबाट नेपाल कृषि सहकारी केन्द्रीय संघ पुरस्कृत भयो। जिल्ला तहमा भने दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघले उत्कृष्ट सहकारी पुरस्कार २०८१ प्राप्त ग¥यो ।
प्रारम्भिक सहकारी संस्थाहरु मध्ये कोशी प्रदेशबाट मेची कृषक बहुमुखी सहकारी संस्था, झापा मधेश प्रदेशबाट महिला साना किसान कृषि सहकारी संस्था लि., धनुषा, बागमती प्रदेशबाट सामुदायिक बचत तथा ऋण सहकारी संस्था, पनौती, काभ्रे र गण्डकी प्रदेशबाट ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था, स्याङ्जा पुरस्कृत भए ।
यसैगरी लुम्बिनी प्रदेशको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था, रुपन्देही, कर्णाली प्रेदशको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था, जुम्ला र सुदूरपश्चिम प्रदेशको जीवनज्योति बचत तथा ऋण सहकारी संस्था, बैतडी पनि उत्कृष्ट सहकारीकोरुपमा पुरस्कृत भए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ र हेफर इन्टरनेशनलले तयार पारेको सहकारीसम्बन्धी अध्ययन रिपोर्ट सार्वजनिक गरियो ।
सहकारी क्षेत्रका महिला नेतृत्वकर्ताहरू निर्मला दंगाल, दिलमाया सारु र निलम विकले आफ्नो संघर्षका कथा प्रस्तुत गरे । सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले मुख्य कार्यपत्र प्रस्तुत गरे ।
मन्त्री अधिकारीले सहकारीमैत्री ऐन संशोधनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै, सहकार्य र एकताको आवश्यकता औंल्याए । महासंघकी अध्यक्ष ओमदेवी मल्लले अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विविध कार्यक्रमसहित मनाइएको जानकारी गराईन ।
कार्यक्रममा मन्त्रालयका सचिव केदारनाथ शर्मा, महासंघका सल्लाहकारहरू केशव बडाल, दिपकप्रकाश बाँस्कोटा, खगराज अधिकारी, डा. उषा झा, लिलामणि पोखरेल, नेफस्कूनका अध्यक्ष चन्द ढकाल, हेफर इन्टरनेशनलका कन्ट्री डाइरेक्टर डा. तिर्थराज रेग्मी लगायतको उपस्थिति रहेको थियो ।