सहकारी अभियानले पनि कानुन पालना गरे नगरेको आत्मसमीक्षा गर्नुपर्छ: नेफ्स्कून अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी ऐन २०७४ पालनामा कहाँ चुकियो भनेर अभियानले समीक्षा गर्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सहकारी अभियानले ऐनको परिपालना कति गर्न सक्यौं भन्ने मुख्य प्रश्न अहिलेको रहेको बताए ।
सहकारी ऐन २०४८ लाई विस्थापित गरी नयाँ सहकारी ऐन ल्याइएको भए पनि त्यसको पालनामा अभियान कहाँ चुक्यो भनेर हेर्ने बेला आएको उनको भनाई छ ।
अध्यक्ष ढकालले भने, ‘हामीले आत्मसात गर्नुपर्छ, सहकारी ऐन, २०७४को पालनामा कहाँ चुक्यौं ? यसको प्रभाव आज हामीले के भोगिरहेका छौं ?’
ऐन पालनामा कोही कतै चुकेका कारण यो क्षेत्रले आजको समस्या भोग्नु परेको हो ।’ ऐनको पालना अभियानले गर्नुपर्ने भन्दै उनले त्यसले अप्ठ्यारो पार्यो भने न्याय खोज्न सम्बन्धित निकाय जाने बताए ।
सहकारी ऐन २०७४ राम्रो भए पनि त्यसलाई हाम्रो ऐन बनाएर जाने कुरामा हामी कहाँ कहाँ चुक्यौ, ती विषयलाई आत्मसात गरेर बढ्नुपर्नेमा उनको जोड छ । हामीलाई जिम्मेवारीमा पठाउनेहरुको आत्मसम्मानमा आँच आउने काम गरेर अपमान गर्ने छुट कानुनले नदिएको र कानुनको उल्लंघन गरियो भनेर आफूलाई बहादुर ठान्ने मात्र हुने उनको तर्क छ ।
आफु पद्धतिमा बसेर अरुलाई पनि पद्धतिमा हिँड्न सिकाएनौ भने व्यवहारमा परिणाम ल्याउन नसकिने उनको भनाई छ । नेतृत्वमा रहेकाहरुले अभियानलाई सुद्धढ बनाउन के गर्ने भन्ने प्रतिवद्धता अहिलेको आवश्यकता रहेको उनले जनाए ।
उनले थपे, ‘सधंै सबै नेतृत्वमा रहँदैन, नेतृत्वमा रहेको बेला अभियानको दिगोपनाको लागि काम गर्ने हो । हामीले नेतृत्वमा रहेर काम गर्दा अरुले हेरिराखेका हुन्छन् । हामीले गरेको नेतृत्व कस्तो छ , समाजले हाम्रो नेतृत्वलाई स्वीकार गरेको छ कि छैन भन्ने विषय महत्वपूर्ण हुन आउछ । पदमा रहँदा हामीले त्यसको न्याय हुने गरी काम गर्नुपर्छ ।’
सहकारी प्राधिकरण गठन भएपछि त्यसको राम्रो पक्षको बारेमा अभियानले प्रचार गर्न नसकेको भन्दै अध्यक्ष ढकालले प्राधिकरण सहकारी संस्थाको संरक्षणको लागि आएको बताए । प्राधिकरणको गठन, ऋण असुली न्यायाधिकरणको स्थापना र अन्य निकाय बन्ने क्रममा रहेको भन्दै उनले ऐन पालना गरेर जानुको विकल्प नभएको प्रष्ट पारे ।
सहकारी दिवस मनाइ रहँदा सहकारी अभियानको प्रवद्र्धन र विकासमा केही प्रतिवद्धताहरु पनि व्यक्त गरेर जानुपर्ने उनको भनाई छ ।