समस्याग्रस्त सहकारीका बचतकर्तालाई ३ अर्ब ७१ करोड फिर्ता

समस्याग्रस्त सहकारीका बचतकर्तालाई ३ अर्ब ७१ करोड फिर्ता
समाचार | 2025-07-07 Share

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विभिन्न सहकारीका बचतकर्ता सदस्यलाई हालसम्म ३ अर्ब ७१ करोड ६६ लाख ५ हजार रकम फिर्ता तथा मिलान गरेको छ ।

कार्यालयले एक पत्रकार सम्मेलनको आयोजना गरेर यस आर्थिक वर्ष (आ.व.)को असार १५ गते सम्ममा कार्यालयमा ६१ हजार ९४ जना सदस्यले ३८ अर्ब ४२ करोड ८६ लाख ३२ हजार रुपैयाँ मागदावी गरेको जानकारी दिएको हो ।

समितिले यस आ.व.को असार १५ गतेसम्म बचत फिर्ता र मिलानको माध्यमबाट ३ हजार ६ सय ८२ सदस्यको २ अर्ब ५८ करोड १८ लाख ७६ हजार रुपैयाँ फिर्ता गरेको जनाएको छ । 

यसैगरी समितिले गत आ.व.को असार मसान्त सम्ममा १ हजार २ सय ९९ सदस्यको ८३ करोड ६५ लाख २० हजार रुपैयाँ बचत फिर्ता तथा मिलान गरेको जानकारी दिएको छ ।

समितिले समस्याग्रस्त घोषित २३ मध्ये ३ सहकारी संस्थाको हिसाब राफसाफ गरिसकेको छ भने २० सहकारी संस्थाका साना बचतकर्तालाई २९ करोड ८२ लाख बचत फिर्ता गर्ने निर्णय गरेको छ । 

समितिमा आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था बाहेकका २२ वटा संस्थाको ३४ अर्ब ७१ करोड ३० लाख २७ हजार रकम मागदावी फिर्ता गर्न बाँकी रहेको छ ।